चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत

चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङका दशमध्ये चार स्थानीय तहमा भएको अधिवेशनले सबै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको छ । शनिबार सुरुभएको अधिवेशनमा आज बिहानसम्म निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जिल्ला कोषध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो ।

बरेङ र बडिगाड गाउँपालिका तथा बागलुङ, गलकोट र ढोरपाटन नगरपालिकामा आज बिहानदेखि निर्वाचनका कार्यक्रम सुरु भए पनि सर्वसम्मत नेतृत्वका लागि पहल भइरहेको निर्वाचन समितिले जनाएको छ । शनिबार भएको अधिवेशनमा निसीखोला गाउँपालिकाको पार्टी सभापतिमा–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत प्रेमबहादुर रोकाका अनुसार उपाध्यक्षमा लीलबहादुर कुँवर र धनबहादुर रोका, सचिवमा राजमान बुढा र धनबहादुर खत्री, सहसचिवमा मिलन कार्की र शेरबहादुर विक निर्वाचित हुनुभएको हो । मानखोलाको सभापतिमा लीलाकुमार छन्त्याल उपसभापतिमा खिमबहादुर छन्त्याल र गोर्खबहादुर घर्ती, सचिवमा तेजेन्द्रकुमार पुन र अनिस सिर्पाली तथा सहसचिवमा लीला छन्त्याल र प्रेमबहादुर पुनमगर चयन हुनुभएकोे निर्वाचन अधिकृत बसन्त घर्ती मगरले जानकारी दिनुभयो ।

यसैगरी ताराखोला गाउँपालिकाको पार्टी सभापतिमा कमलापति पाठक, उपसभापतिमा आशिकला घर्ती मगर र श्यामभक्त कँडेल, सचिवमा खेमराज गैरे र नवराज सुवेदी, सहसचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा निर्वाचित हुनुभएको छ । काठेखोला गाउँपालिकाको पार्टी सभापतिमा यामदत्त कँडेल, उपसभापतिमा गौरीशङ्कर शर्मा र खडकबहादुर कार्की, सचिवमा देवेन्द्र खड्का र चन्द्रकुमार पुन, सहसचिवमा महेन्द्र पुन र हरिकला थापालगायत सबै पदाधिकारी सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।

यो पनि – कांग्रेसको तुलसीपुर नगरसभापतिमा हमाल र घोराहीमा रावत निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपसभापतिमा विनिल केसीले ३५९ र गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी सचिवतर्फ विमल पौडेल ३२९ र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने सहसचिवमा शेषमणि भण्डारीले ३५१ र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका प्रवीण लम्सालले जानकारी दिनुभयो ।

तुलसीपुरमा कूल ५९३ मतदाता रहेकामा ५९१ मत खसेको थियो ।त्यस्तै नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा २८६ मत ल्याएर तिलक रावत निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नीरज गिरीले १६२ मत प्राप्त गर्नुभएको छ । उपसभापतिमा प्रदीप सुवेदीले २३५ र दुर्लभ केसीले २९४ मत ल्याई निर्वाचित हुनुभएको छ ।

सचिवमा भीमकान्त चौधरी, पुष्पराज आचार्य र सहसचिवमा चेतन बस्नेत, राजकुमार बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको मतगणनाको नतिजा गएराति नै सार्वजनिक भएको हो । जिल्लाका दशपालिकामध्ये तीन पालिकामा शुक्रबार नै सर्वसम्मतिमा नयाँ नेतृत्व चयन भएको छ भने सात वटा पालिकामा मतदानबाट नयाँ नेतृत्व चयन भइसकेको कांग्रेसले जनाएको छ ।

यो पनि – पोखरा महानगरपालिकामा बिजुक्छे विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित हुनुभएको छ । आज बिहान घोषित मतपरिणामअनुसार उहाँले ४१४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रत्यासी गङ्गाधर पराजुलीले ३४६ मत प्राप्त गर्नुभयो । महानगरको सभापतिमा कूल छ जनाको उम्मेदवारी परेकामा खसेका कूल एक हजार ३४४ मतमध्ये रामराज लामिछानेले २०९, मिलन तिवारीले १५३, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव समेत रहनुभएका बिजुक्छे यसअघि नेपाली कांग्रेस पोखरा महानगरको उपसभापति हुनुहुन्थ्यो । यसैगरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित हुनुभएको छ । उपसभापतिका छ प्रत्यासी रहेकामा निर्दोशविक्रम पौडेलले ४०७, राजेन्द्र बरालले ३७४, कृष्णप्रसाद अधिकारिले ३६५ र शिव केसीले १७३ मत प्राप्त गर्नुभयो ।

दुईजना निर्वाचित हुने महानगरको सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा विजयी हुनुभयो । बाँस्तोलाले ८४९ र थापाले ८०३ मत प्राप्त गर्नुभयो । सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६१७ मत प्राप्त गर्नुभयो । सहसचिवमा ५८० मत प्राप्त गर्दै सङ्घर्ष कोइराला र ४६५ मत प्राप्त गर्दै सञ्जय आले निर्वाचित हुनुभयो । सहसचिवका छ उम्मेदवारमध्ये नरेन्द्र बाँस्तोलाले ४५८, पुष्पराज सिग्देलले २४४, रवीन कायस्थले २७८ र लक्ष्मी बाँस्तोलाले ३८६ मत प्राप्त गर्नुभयो ।

यो पनि – कांग्रेस नगर अधिवेशन : पाल्पाका नौ स्थानीय तहको निर्वाचन सकियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहको निर्वाचन सकिएको छ । जिल्लाका सातवटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने दुई पालिकामा निर्वाचन निर्वाचन भएको छ । एक पालिकामा निर्वाचन स्थगित भएको छ । रामपुर नगर कार्यसमितिको सभापतिमा पुन: नेत्रप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । मतदान प्रक्रियाबाट भएको निर्वाचनमा कुल २१२ मतमध्ये खसेको २०८ मतमा भट्टराईले १२५ मत ल्याई विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गर्नुभएको छ ।

नगर उपसभापतिमा देवबहादुर थापा मश्राङ्ी र ज्ञानप्रसाद भण्डारी निर्वाचित हुनु भएको छ । मश्राङ्ीले १४५ मत, भण्डारीले १३० मत प्राप्त गर्नुभएको छ । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरिप्रसाद न्यौपानेले ५२ मत प्राप्त गर्नुभएको मतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।

सचिवमा चिरञ्जीवी सिग्देलले १४१ र ओमप्रकाश बस्यालले १२६ मत ल्याई निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी विष्णुप्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गर्नुभएको छ । सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन हुनुभएको छ । भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने प्रतिस्पर्धी देवबहादुर दर्जीले ७५, रहिम मुल्ला मियाँले ३७ र पार्वती परियारले ८४ मत प्राप्त गर्नुभएको छ । नगर कार्य समितिको अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ ।

रिब्दीकोट गाउँपालिकामा मतदान प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको छ । सभापति पदमा रामचन्द्र पाण्डेले ९७ मतसहित विजयी हुनुभएको छ भने प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गर्नुभएको छ । बगनासकाली गाउँपालिकामा ठानेश्वर तिमिल्सेना, निस्दी गाउँपालिकाको पूर्णबहादुर खाँण, पूर्वखोला गाउँपालिकाका विष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दीपक थापा, तिनाउँमा प्रेम पाण्डे, र रैनादेवी छहरा गाउँपालिकामा विष्णु पोखरेल निर्विरोध सभापति पदमा चुनिनुभएको छ । जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने नगर अधिवेशन स्थगित गरिएको छ ।

तानसेन नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । बुधबारसम्ममा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न सक्ने स्रोतको दाबी छ । दुईजना आकाङक्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिको उम्मेदवारको खोजी गरिन लागेको बुझिएको छ । शनिबार भएको अधिवेशन सौहार्दपूर्ण वातावरणमा सबै पालिकामा सम्पन्न भएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ निर्वाचित भएका पदाधिकारीमा युवा पुस्ताको वर्चस्व छ ।