कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आमाबाबु नभएका अनाथ बालबालिकालाई बालगृहमा राख्नुको साटो राज्यले स्थानीयस्तरमै आर्थिक र सामाजिक हिसाबले संरक्षण गर्नुपर्ने बताउनुभएको छ । संवाद डबलीद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै उहाँले बालगृहमा राख्दा त्यस्ता बालबालिकाको मनोविज्ञानमा असर पुग्ने बताउनुभयो ।
“पछिल्लो चरणमा बालगृह वा होस्टेलमा राख्ने क्रम बढेको छ”, मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “यसले बालबालिकाको बौद्धिक तथा शारीरिक विकासमा असर पुग्ने देखिन्छ, बालगृहमा राख्ने मनोविज्ञान हटाउन जरुरी छ ।” अनाथ बालबालिकाको संरक्षणका लागि स्थानीय तहको दायित्व बढी हुने बताउँदै उहाँले भन्नुभयो, “यदि यसका लागि आवश्यक नीति, कानून र बजेट चाहिएमा स्थानीय तहले प्रदेश र केन्द्र सरकारको सहयोग लिन सक्छन्, हामी सहयोग गर्न तयार छौँ तर अनाथ बालबालिकाको संरक्षण स्थानीय समाजमै हुनुपर्छ ।”
प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले राम्रो शिक्षा पाउने लोभमा कर्णालीका बालबालिकालाई अवैध ढङ्गबाट ठूला सहरहरूमा लैजाने गरिएको बताउनुभयो । यसले गर्दा बालगृहमा शारीरिक तथा मानसिक श्रमश्रोषण हुने गरेको उहाँको भनाइ छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बालबालिकाका मुद्दामा मन्त्रालय संवेदनशील रहेको भन्दै उपर्युक्त नीति तर्जुमा र कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले विगतमा सहारा नभएका बालबालिकालाई बालगृहमा पठाउने गरिएकामा अब भने बालगृह बन्द गर्नुपर्ने आवाज उठ्न थालेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार कर्णालीका १४ वटा बालगृहमा ५७९ जना बालबालिकाले आश्रय लिइरहेका छन् । “प्रदेश सरकार राष्ट्रिय बालअधिकार परिषद् मिलेर ती बालगृहको अनुगमन गरी त्यहाँको अवस्थाका विषयमा जानकारी लिन जरुरी देखिएको छ”, उहाँले भन्नुभयो ।
‘फरगेट मी नट’ का देशीय निर्देशक अञ्जु पुनले परिवारबाट बालबालिका टाढा राख्दा उनीको बौद्धिक विकासमा असर पुग्ने गरेको विचार व्यक्त गर्नुभयो । “विश्वमा बालबालिका ओसारपसारमा नेपालको भयावह अवस्था छ”, निर्देशक पुनले भन्नुभयो, “बालबालिका ओसारपसार अन्त्य गर्नका लागि तीनवटै तहका सरकार गम्भीर बन्नुपर्छ ।” हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले देशभर सञ्चालित ४८९ बालगृहमा ११ हजार ३५० बालबालिकाले आश्रय लिइरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । तीमध्ये ८० प्रतिशतका आमा वा बाबु अभिभावक रहेको पाइएको छ ।
प्रतिक्रिया