संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
“दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजिविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाउनुभयो ।” नियोगले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डा खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभएको विज्ञप्तिमा जनाएको छ ।
आजै मन्त्री डा खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिनुभयो । मन्त्री खड्का गैरआवासीय नेपाली सङ्गठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गर्नुभएको पनि उक्त नियोगले जनाएको छ । महासभालाई स्थानीय समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्कने छ ।
यो पनि – ‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै
पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्नुहुने भएको छ । गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहनुभएका कूटनीतिज्ञ विश्व पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्न लाग्नुभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमअनुसार कूटनीतिज्ञ बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी बन्नुहुनेछ । हाइकिङपश्चात् दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र डेभिज फल्सको अवलोकन गर्नुहुने जानकारी दिदै भट्टराईले तत्पश्चात फेवातालमा डुङ्गा शयर गर्ने र साँझ फेवातालको बाराही घाटमा गरिने आरती अवलोकन गर्ने कार्यक्रम रहेको जानकारीदिनुभया । विश्व पर्यटन दिवसकै अवसरमा साँझ रेष्टुराँ एण्ड बार एशोसिएशन पोखराद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवद्र्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानाका परिकारसहितको सडक महोत्सवमा उहाँहरू सहभागी बन्ने कार्यक्रम छ ।
विगतका वर्षमा विश्व पर्यटन दिवसका दिन पहिलो उडानमार्फत पोखरा आउने विदेशी पर्यटक तथा सवारी साधनमार्फत आउने पर्यटकलाई सम्मान गर्ने तथा अन्य विभिन्न कार्यक्रम गरिने गरिएकोमा विदेशी विशिष्ट कूटनीतिज्ञलाई सहभागी बनाइएको भने पहिलो पटक हो । कोरोनाले प्रभावित पोखराको पर्यटनलाई विश्व बजारमा सकारात्मक सन्देश दिनका लागि विदेशी कूटनीतिज्ञको पोखरा भ्रमण फलदायी हुने विश्वास लिइएको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताउनुभयो ।
यो पनि – सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताउनुभएको छ । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबद्र्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको बताउनुभएको छ ।
सो सन्देशमा प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रबद्र्धन र सहकार्यका प्रयास पनि हँुदै आएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।
पर्यटन क्षेत्र कोभिड–१९को सङ्कटबाट ग्रस्त रहेको, व्यवसायहरु जोखिममा रहेको र कर्मचारी तथा कामदारको आम्दानी गुमेको सन्दर्भमा सरकारले यस क्षेत्रलाई पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनेलगायतका नीतिगत व्यवस्था गरेको पनि प्रधानमन्त्री देउवाले सो सन्देशमा बताउनुभएको छ । आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइएको उहाँको भनाई छ ।
यो पनि – आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
दिवस भव्यरूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख््याका उपस्थितिमा दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ ।
पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’ मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिने ऐरले बताउनुभयो । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । गत वर्ष भर्चुअलरूपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख््यामाझ दिवस मनाइएको थियो ।
कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरूपमै कार्यक्रम गर्न लागिएको हो । दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रक्तादान कार्यक्रम गर्दैछ । नक्सालस्थित संस्थाको सचिवालय परिसरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तादान गरिनेछ ।
नेपाल पर्वतारोहण सङ्घले पनि दिवसको अवसर पारेर सोमबार नागपोखरीस्थित आफ्नो नवनिर्मित भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घको भवन उद्घाटन गर्नुहुने संस्थाले जनाएको छ ।
सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले सरकारी निर्णयको स्वागत गर्दै सबै सेवा पुनः सञ्चालन गर्ने जनाएका छन् । सीमा नाका खोल्ने र क्वारेन्टिनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ । यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ ।
कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन सङ्ख््या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।
विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले आज विज्ञप्ति निकालेर विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल व्यवसायी उत्साहित भएको जनाएको छ ।सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् ।
प्रतिक्रिया