वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्काउटको उद्देश्यलाई पूरा गर्न र प्रभावकारी बनाउन राजनीतिबाट टाढा राखेर उच्च मानवीय सेवामा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउटको आज हेटौँडामा शपथ लिनुहुँदै सङ्घीयतामा मुलुक गएकाले अब स्काउटलाई पनि वाग्मती प्रदेशमा व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
मुख्यमन्त्री शाक्यले स्काउटप्रति जनविश्वास बढाउन तथा यसको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन यसको संरक्षणमा आफूले भूिमका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वाग्मती प्रदेशमा स्काउटको संरक्षक पदमा मुख्यमन्त्री हुने र वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री प्रमुख स्काउट रहने व्यवस्था छ । सो अवसरमा मुख्यमन्त्रीका साथै सामाजिक विकासमन्त्री विजय सुवेदी र राज्यमन्त्री जुनेली श्रेष्ठले पनि शपथ गर्नुभएको थियो । सोही अवसरमा मुख्यमन्त्री शाक्यले हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामा तथा नगर शिक्षा प्रमुख गङ्गाधर रिमाललाई शपथग्रहण गराउनुभएको थियो । यसैगरी प्रमुख महतले हेटौँडा उपमहानगर कमिटीलाई पनि शपथ गराउनुभएको थियो ।
यो पनि – एमाले विधान महाधिवेशनको तयारी पूरा
नेकपा (एमाले)को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो । आज मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिनुभएको थियो ।
महाधिवेशनसभास्थलको तयारी पूरा गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । “सभामा दुई हजार ८४० कुर्ची भए पनि दायाँबायाँका खाली कोठामा थप एक हजारका दरले कुर्ची राखेर हामी व्यवस्थापन गर्छौँ”, उहाँले भन्नुभयो, “त्यहाँ पनि नअट्ने माथि बार्दलीमा स्क्रिन राखेर भए पनि प्रतिनिधिलाई अटाउने व्यवस्था गर्दछौँ ।”
यो पनि – चूडामणि शर्मालाई ५० लाख धरौटी माग गर्ने विशेष अदालतको आदेश
विशेष अदालतले कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग रु ५० लाख धरौटी माग गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो । कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचारको आरोप लागेका शर्मालाई आज अदालतमा हाजिर गराएर थुनछेक बहसपछि उक्त धरौटी माग गरिएको हो ।
आदेशमा भनिएको छ, “प्रतिवादीउपर लिइएको आरोपदावी एवं यस अदालतबाट मिति २०७४/८/५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादीउपर दायर भएको प्रस्तुत पुरक आरोपत्रबाट सृजना हुनसक्ने थप दायित्व समेतलाई विचार गरी पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) बमोजिम प्रतिवादी चूडामणि शर्मा ढकालबाट रु ५० लाख धरौट माग गरिएको छ ।”
आदेशमा प्रतिवादीले कर फछ्र्योट आयोगमा रही कार्य गर्दा विभिन्न करदाताको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणबाट अहिले नै निर्दोष हुन् भन्न सकिने स्थिति नदेखिएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध रु एक अर्ब ३३ लाख बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो । अख्तियारको अभियोग पत्रमा शर्मासहित कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो ।महत र ढकाल आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिई अदालतको आदेशबमोजिम जनही रु ५०/५० लाख धरौटी बुझाएर आइतबार नै रिहा भएका हुन् ।
यो पनि – विदेशी कूटनीतिज्ञ भन्छन् : पोखराको सौन्दर्य लोभलाग्दो
गण्डकी, ११ असोज (रासस) : विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो । लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न गण्डकी प्रदेश सरकारको निमन्त्रणामा आइतबार नै नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञ पोखरा आइसक्नुभएको थियो ।
आइतबार पोखरा विमानस्थलमा गरिएको स्वागतसँगै साँझ गण्डकी प्रदेश सरकारद्वारा आयोजित रात्रिभोजमा सरिक विशिष्ट पाहुनाका लागि विश्व पर्यटन दिवसका अवसरमा सोमबार प्रकृति र संस्कृतिका विभिन्न पक्षहरू दृश्यावलोकन गराउन अन्नपूर्ण गाउँपालिकाको नागडाँडादेखि कास्कीकोटसम्मका लागि करिब तीन घण्टा दूरीको हाइकिङ आयोजना गरिएको थियो ।
खुलेको मौसमका कारण बिहानै टलक्क टल्किएका माछापुच्छ«ेसहितका हिमाल भने कुटनीतिज्ञहरू ९ः०० बजे नागडाँडामा पुग्दा बादलसँग लुकामारी गर्न थालिसकेका थिए । कतै बादलले छेकेको त कतै देखिएका हिमाली दृश्यले त्यहाँ पुग्ने जो कोही मक्ख देखिन्थे ।
कुटनीतिज्ञको टोलीमा सहभागी नेपालस्थित युनेस्कोका प्रतिनिधि माइकल क्रफ्टका लागि यो पोखराको पहिलो भ्रमण थियो । पोखराको बारेमा सुने पनि उहाँलाई आउने अवसर भने मिलेको थिएन । विश्व पर्यटन दिवसका अवसरमा हाइकिङमा सहभागी बन्दै माइकल कास्कीकोटबाट बादलभित्रबाट लुकामारी गरिरहेका हिमशृङ्खलालाई कैद गर्न व्यस्त देखिनुहुन्थ्यो । पोखराको बारेमा सुने पनि आउने अवसर बल्ल मिलेको भन्दै खुसी देखिएका उहाँले भन्नुभयो, “म प्राकृतिक सम्पदासँगै संस्कृतिमा रमाउन मन पराउँछु, नेपालमा यो सबै छ, अझ पोखराको प्राकृतिक सौन्दर्य त निकै लोभलाग्दो रहेछ ।”
माइकलले यहाँबाट फर्किएपछि आफ्ना दुई सन्तान र श्रीमतीलाई लिएर छिट्टै पोखरा आउने वाचा गर्नुभयो । “मलाई निकै सुन्दर लाग्यो, परिवारसहित छिट्टैै आउँछु, कोभिड १९ ले धेरैलाई घुम्न डुल्नबाट वञ्चित गरायो, अब सावधानी अपनाएर घुमघाम गर्नुपर्छ”, उहाँले भन्नुभयो । सम्बन्धित क्षेत्रले दीगो पर्यटनको विकासका लागि जोड दिन आवश्यक रहेको औँल्याउँदै उहाँले कोभिडका कारणले चुनौतीका साथै अवसर पनि थपेको उल्लेख गर्नुभयो ।
नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टीनेनले बिहान उठ्ने बित्तिकै माछापुच्छ्र«ेको हिमशृङ्खलाले आफूलाई निकै लोभ्याएको बताउनुभयो । उहाँले नाम जस्तै पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिनुभयो । तीन वर्षअघि सेप्टेम्बरमा पोखरा आएको अनुभव सुनाउँदै उहाँले जति आए पनि पोखरा आइरहन मन लाग्ने शहर भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको अरु ठाउँभन्दा पोखरा विशेष लाग्छ, तिहारपछि फेरि पोखरा आउने योजना छ, म अन्नपूर्ण रेञ्जको पदमार्गमा जानेछु ।”
उहाँले पोखरा पर्यटकीय गन्तव्य भएको जनाउँदै बिहान उठ्नासाथ हिमाल माथिमाथि बादलहरू उडिरहेको दृश्य हेर्न, लेकसाइड घुम्न र बारहरू जान पनि आफूलाई मन पर्ने अनुभव सुनाउनुभयो । “नेपाल र यहाँको सन्दर्भमा पर्यटन महत्वपूर्ण छ, यसलाई अझै विकास गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “कोरोना हराइसकेको छैन तसर्थ अझै सावधानी अपनाउन जरुरी छ, कोरोनाको महामारीमा नेपाललाई मेरो देशले पनि सहयोग गरेको छ ।”
(सार्क) का महासचिव इसाला रुवान विराकुनले आफ्नो देश श्रीलङ्काका कूटनीतिक नियोगका पदाधिकारीसहितको यो भ्रमण निकै फलदायी लागेको बताउनुभयो । “पोखरा मलाई निकै मन पर्ने ठाउँ हो, परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले यो अवसर हामीलाई जुराइदिएकामा आभारी छौँ”, उहाँले भन्नुभयो ।
श्रीलङ्का र नेपालका धेरै सांस्कृतिक एवं धार्मिक कुरा मिल्ने जनाउँदै उहाँले कोभिड–१९ ले दक्षिण एशियाली देशहरुको अर्थतन्त्रमा निकै प्रभाव पार्नुका साथै पर्यटन क्षेत्र झनै प्रभावित भएको बताउनुभयो । श्रीलङ्काका नागरिकले पनि नेपाल मन पराउने र बुद्धको देश भनेर चिन्ने गरेको उल्लेख गर्दै उहाँले आफू पनि बुद्ध धर्मावलम्बी भएको बताउनुभयो । नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकलाई जोडेर पर्यटन विकास गर्न सकिने बताउँदै विराकुनले यही अक्टोबरबाट प्रत्येक मङ्गलबार र शनिबार काठमाडौँ–कोलम्बो उडान हुने जानकारी दिनुभयो ।
विदेशी राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखराको भ्रमण यहाँको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताउनुभयो । कोरोनाले प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउन यो भ्रमण फलदायी हुने विश्वास लिइएको उहाँको भनाइ छ ।
यस भ्रमणले पोखरा घुम्नका लागि खुल्ला तथा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउनुहुन्छ । विश्व पर्यटन दिवसका अवसरमा गरिएको यो कार्यक्रमले विश्व पर्यटन बजारमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उहाँले यसले सम्पूर्ण पोखरेली पर्यटन व्यवसायीलाई उत्साही बनाएको बताउनुभयो ।
कोरोना कहरले थलिएको पर्यटनलाई अघि बढाउनु अहिलेको आवश्यकता भएको भन्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले यो उच्चस्तरीय भ्रमण यहाँका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । विदेशी कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया