रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ का दुई महिना साउन र भदौमा मात्र ५६ महिला तथा बालबालिकालाई सीमाक्षेत्र बेलहियाबाट मानव तस्करले भारततर्फ लैजाँदै गर्दा उद्धार गरिएको छ । गत तीन आवको तथ्याङ्क हेर्दा मानव बेचबिखन नरोकिएको देखिएको छ ।
आव २०७५÷०७६ मा २५३ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्धार गरिएको हो । पचास जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल रुपन्देही शाखाले जानकारी दिएको छ । आव २०७६÷०७७ मा २४२ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्धार गरिएको छ । चौध जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याइएको हो । आव २०७७÷०७८ मा १५१ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । आठ जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल शाखा प्रमुख माया क्षेत्रीले जानकारी दिनुभयो ।
नेपालबाट यसरी तस्करी गरी महिलालाई भारतीय कोठी र खाडी मुलुकमा पठाउने काम मानव तस्करले गर्ने गरेका छन् भने बालबालिकालाई विभिन्न सर्कसमा प्रयोग गर्ने गरेको पाइन्छ । विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेको प्रहरीले जनाएको छ ।
महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालले देशका विभिन्न सीमानाकामा आफ्नो कार्यालय राखी मानव बेचबिखनलाई न्यूनीकरण गर्ने काम गरे पनि यो बेचिनेक्रम भने नरोकिएको देखिएको छ । देशका विभिन्न जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाबाट मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई प्रलोभनमा पारेर भारतीय क्षेत्रमा पु¥याएको पाइन्छ ।
यो पनि – अशक्त नागरिकको घरमै नागरिकता वितरण
साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई गाउँपालिकाले उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।
गाउँपालिकाले वडा नं २ रतन्छाका ९६ वर्षीय नन्दलाल फुयाँल, वडा नं ४ मात्तिमका २० वर्षीय खगिन दर्जी, वडा नं ३ खिदिमा बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र २५ वर्षीया रामकुमारी राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको जनाइएको छ । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा अनुसूची तयार गरेर पठाएपछि प्रशासनका प्रतिनिधि दिनेश आचार्यको रोहबरमा गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो
गाउँपालिकाभित्र रहेका अन्य ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको पहिचान गरेर उनीहरुलाई पनि क्रमशः घरैमा लगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले पाउने नेपाली नागरिकताको प्रमाणपत्र बनाउन आवश्यक कागजात गाउँपालिकामै तयार पारेर आफ्ना प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय दिक्तेल पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र तयार भएपछि प्रशासनकै प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।
नेपाली नागरिताको प्रमाणपत्र पाएसँगै उनीहरुले बंैकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि नागरिकताको प्रमाणपत्र विहीन अशक्त र अपाङ्गता भएका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएसँगै ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको सामाजिक सुरक्षाभत्ता लिने बाटो खुलेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक राईले बताउनुभयो । जिल्लाको सबैभन्दा सानो पाँच वडामात्र रहेको उक्त गाउँपालिकामा गत वर्षदेखि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो ।
प्रतिक्रिया