तनहुँमा सामाजिक विकास कार्यालय स्थापना

तनहुँमा सामाजिक विकास कार्यालय स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेश सरकारले तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाईको दुई कोठामा सो कार्यालय सञ्चालन गरिएको छ ।

कार्यालयको बुधबार उद्घाटन गर्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अन्य कार्यालयको सेवाग्राहीभन्दा सामाजिक विकास कार्यालयको सेवाग्राही फरक भएकाले संवेदनशील भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।उहाँले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न कार्यालय स्थापना गरिएको बताउँदै ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताउनुभयो । प्रदेश सरकार जनताप्रति उत्तरदायी हुन र जनतासँग नजिक रहेर काम गर्ने उद्देश्यसहित सामाजिक विकास कार्यालय स्थापना गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “सहकार्य र सहअस्तित्वका आधारमा तीन तहको सरकारबीच समन्वय गरेर काम गर्नुपर्छ ।”

मन्त्री श्रेष्ठले सबै नागरिक स्वस्थ्य र शिक्षित भएमात्रै देश विकास सम्भव रहेकाले हरेक नागरिकलाई शिक्षित र स्वस्थ्य बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।प्रदेशसभा सदस्य आशा कोइरालाले जिल्लास्तरमा कार्यालय नहुँदा सेवाग्राहीले सेवा पाउन गाह्रो भएको महसुुस गरी कार्यालय स्थापना गरेकामा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । प्रदेशसभा सदस्य डोवाटे विक र सरिता गुरुङले जिल्लामा कार्यालय नहुँदा मन्त्रालयको सेवा लिन पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधानको मर्म अनुसार धेरै कार्यालयको काम स्थानीय तहले गर्ने भनिएता पनि त्यसको सफल कार्यान्वयन हुन नसकेको बताउनुभयो । सामाजिक क्षेत्र, संस्कृति संरक्षण र सम्बद्र्धनका लागि कार्यालयले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।मन्त्रालयका महाशाखा प्रमुख तोयनाथ लम्सालले हालसम्म गण्डकी प्रदेशका पाँच जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले आजै गोरखामा र भोलि नवलपुरमा कार्यालय स्थापना गरिने बताउनुभयो ।

हिंसापीडित महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा सेवा दिन कार्यालय स्थापना गरिएको कार्यालयका प्रमुख बुद्धिसागर घिमिरेले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालय मातहतको महिला विकास कार्यालयको अलपत्र भवनलाई चाँडै सम्पन्न गरी सामाजिक विकास कार्यालय सोही भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।