पक्की कुलो निर्माण भएपछि जमिन सिँचाइको पहुँचमा

पक्की कुलो निर्माण भएपछि जमिन सिँचाइको पहुँचमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पक्की सिँचाइ कुलो निर्माण भएपछि जुम्लाको कनकसुन्दरी गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ । वडा नं ७ बैदारबाडामा निर्माण भएको पक्की कुलाले यहाँको ५० रोपनी जमिन सिँचाइको पहँुचमा पुगेको छ । पक्की कुलो पुगेपछि यहाँका किसान सहजै रुपमा सिँचाइ गरेर खेती गर्न थालेका छन् । कच्ची कुलो हुँदा पटक–पटक पहिराले पुरिने र भत्किने भएकाले खेती गर्ने समयमा किसानलाई निकै सास्ती हुँदै आएको थियो । वडा नं ७ स्थित सुधारसिल कृषक समूहले एक सय २० मिटर पक्की सिँचाइ कुलो निर्माण गरेको छ ।

यो कुलाले बैदारवाडाको ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । गाउँको सिरानमा कुलो भएकाले वर्षातको समयमा असाध्यै असुरक्षित हुने र पहिराको उच्च जोखिम थियो । कुलामा जाने पानीले जमिन भासिने सम्भावना तीव्र थियो । पक्की कुलो बनेपछि पहिराको जोखिम हटेको छ । कुलाले गाउँमा रहेको निर्भरता कम हुने र गाउँमा पहिरो जान घट्ने तथा आफ्नै जमिनमा तरकारी र अन्नबाली उत्पादन गरी समुदायमा रोजगारी सिर्जना गरेर आम्दानी बढाउन प्रोत्साहित गरिरहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताउनुभयो ।

समुदायमा बाढी पहिराको जोखिम कम हुने र उत्पादनमा वृद्धि भई आफ्नै व्यवसायमा व्यस्त हुने अवस्था निर्माण गरिएको छ । कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनकरण जलवायु परिवर्तन अनुकूलन कार्यक्रमअन्तर्गत सोे सिँचाइ कुलो निर्माण गरिएको हो । सिँचाइ कुलो निर्माणका लागि पेस नेपालले रु दुई लाख ५० हजार र वडा कार्यालयले रु ४० हजार लगानी गरेको छ ।

यो पनि – निर्माणाधीन निजामती स्मारक क्षेत्रमा वृक्षरोपण

निजामती सेवा दिवस साताव्यापी रुपमा मनाउने कार्यक्रमअन्तर्गत निर्माणाधीन निजामती स्मारक जगडोलमा वृक्षरोपण गरिएको छ । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा शहीद, निजामती र घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ ।

राजधानीका अधिकांश भाग देखिने यस स्थलमा निजामती स्मारक निर्माण भएपछि राष्ट्रसेवकले पदबहाली गर्नुअघि यहाँ पुष्पगुच्छा अर्पण गर्नाका साथै सपथसमेत लिने निर्णय मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले यसअघि नै गरिसकेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी वृत्त बौद्धले राष्ट्रिय शहीद स्मारकसँगै निर्माण भइरहेको निजामती स्मारक क्षेत्रमा वृक्षरोपण गरेको हो । कपुर, कल्की, तेजपातलगायत जातका पाँच फिटभन्दा अग्ला ६० बिरुवा स्मारक निर्माण क्षेत्रमा रोपिएको हो ।

कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले निजामती सेवा ऐन जारी गर्ने पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

यही भदौ २२ गते निजामती दिवसका अवसरमा मुख्यसचिव शङ्करदास वैरागीले स्मारक स्थलमा शालिकको शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले रोपिएका बिरुवाको संरक्षण गर्न समुदायसँग मिलेर सहकार्य गरिने प्रतिबद्धता जनाउनुभयो ।

गोकर्णेश्वरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले वार्षिक रुपमा लाखौँ वृक्षरोपण गर्ने गरिए पनि त्यसको संरक्षण नहुने गरेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । बूढानीलकण्ठ–११ का अध्यक्ष राजु अधिकारीले साना बिरुवा रोपेर हुर्काउन नसकिने भएकाले पाँच फिटभन्दा अग्ला बिरुवा रोप्नेतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।

विसं २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको थियो । ऐन जारी गर्न तत्कालीन प्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाले खेल्नुभएको भूमिकाको सम्मान गर्दै शालिक निर्माण गर्न लागिएको समितिले जनाएको छ ।