यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् । पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।
हेलम्बु राजमार्ग लगातार अवरुद्ध
सिन्धुपाल्चोक– गए रातिदेखिको लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गर्नुभयो । साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।
यो पनि -फोक्सिङटारमा पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता
दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न जिल्ला आवतजावत गर्न प्रयोग गरिने मोटरसाइकल उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुलीखोलामा शुल्क तिरेर तार्नुपर्ने बाध्य बनेको हो ।
राँकुलीखोलामा हिउँदको समयमा पानी सुके पनि वर्षात्को समयमा भने भलबाढी उर्लिने गरेका कारण मोटरसाइकल तार्ने क्रममा स्थानीय युवालाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राईले बताउनुभयो । खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिकालगायत जिल्ला अधिकांश स्थानीय तहका स्थानीय बासिन्दालाई वर्षात्को समयमा उदयपुर हुँदै पूर्वी तराईका विभिन्न सहर आवतजावत गर्दा राँकुलीखोला तर्नुपर्ने हुन्छ ।
राँकुलीखोलामा वर्षात्को समयमा मोटरसाइकल तार्दा प्रतिगोटा न्यूनतम रु ५०० देखि रु तीन हजार ५०० सम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका बासिन्दा मिलनचन्द्र राईले बताउनुभयो । फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा निर्माण सम्पन्न नहुँदा रसुवाघाटको झोलुङ्गे पुल तरेर राँकुलीखोला हुँदै उदयपुरको गाईघाट पुग्नुपर्ने जिल्लावासीको बाध्यता छ ।
निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीको ढिलासुस्तीका कारण दोस्रोपटक थप भएको समय सकिँदासमेत फोक्सिङटारस्थित सुनकोशी नदीस्थित निर्माणाधीन पक्की पुलको भौतिक प्रगति करिब ४८ प्रतिशतमात्र पूरा भएको जनाइएको छ । सो निर्माणाधीन पक्की पुल बनिनसकेसम्म जिल्लावासी राकुँलीखोलामा मोटरसाइकल तार्नका लागि शुल्क तिर्न बाध्य हुने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुँयालले बताउनुभयो ।
प्रतिक्रिया