‘मिलेर अघि बढ्न आग्रह’

‘मिलेर अघि बढ्न आग्रह’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले पद प्राप्तिका लागि एमाले चोइटाउने खेल भइरहेकाले मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ । एमाले जिल्ला कमिटी ललितपुरले आज यहाँ आयोजना गरेको ‘जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला’ मा उहाँले एमाले देश र जनताको हितमा सधैँ लागीरहने बताउनुभयो । ज्ञवालीले अब पनि आर्थिकका साथै सामाजिक रुपान्तरणका लागि मिलेर अघि बढ्दा समृद्धि हासिल हुने बताउनुभयो ।

वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एमालेले सधै देश र जनताको हितमा काम गर्ने धारणा राख्नुभयो । एमाले केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपालले गएको स्थानीय सरकारको चुनावमा आफूहरुले ७५ प्रतिशत विजय हासिल गरेकोले अरुले देख्न नसकेको बताउनुभयो । “पार्टीलाई पुनः चुस्त र मजबुत बनाउन आवश्यक छ ”, उहाँले भन्नुभयो । कार्यक्रममा ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र जिल्ला सचिवालय सदस्य ब्रम्हानन्द श्रेष्ठ लगायतले पार्टी संगठन र समसामयिक राजनीतिका विषयमा धारणा राख्नुभएको थियो ।

यो पनि – लुम्बिनी प्रदेश सरकारमा जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्मा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषद्मा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोक्नुभएको हो । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गत साउन २८ गते गठित मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन गरिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सागर गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर र कार्यविभाजनमा यसअघि आर्थिक मामिलामन्त्रीको जिम्मेवारीमा रहनुभएका कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत जिम्मेवारी थप गरिएको छ । सरकारले यही भदौ १३ गतेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १३ पु¥याएको थियो । सोहीअनुसार आर्थिक मामिला मन्त्रालयमा सहकारीसमेत गाभ्ने निर्णय गरिएको हो ।

यस्तै यसअघि बिनाविभागीय मन्त्री रहेका अजयबहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । यो मन्त्रालय पनि नयाँ स्थापना गरिएको हो । मन्त्री शाही पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित सदस्य हुनुहुन्छ ।

यस्तै यसअघि सहरी विकास मन्त्रालयको मात्र जिम्मेवारीमा रहनुभएका मन्त्री डिल्लीबहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको समेत जिम्मेवारी थप गरि पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी थपिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री केसीले मुख्यमन्त्रीसहित नौवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको जनाएको छ । गत साउन २८ गते बिनाविभागीय मन्त्रीमा नियुक्त जनता समाजवादी पार्टीका दुई मन्त्री पुर्मती ढेंगा र सुमन शर्मा रायमाझीलाई भने अझै पनि जिम्मेवारी तोकिएको छैन ।

यो पनि – देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल

काठमाडौँ, १८ भदौ (रासस) ः नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अधिकांश जिल्लामा आज वडा अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेताकार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन् । कतिपय वडाहरुमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरुमा निर्वाचन प्रक्रिया भइरहेको समितिले जनाएको छ तर कति वडाहरुमा आज निर्वाचन सम्पन्न भयो भन्ने तथ्याङ्क साँझसम्म मात्र उपलब्ध हुनेछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

मुलुकभरका सबै छ हजार सात सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार दुई सय एक पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन आज भदौ १८, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो ।

वडा अधिवेशनमा नेताहरुका शुभकामना

वडा अधिवेशनका अवसरमा आज कांग्रेस नेताहरुले विभिन्न सन्देश जारी गर्दै शुभकामना दिनुभएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले भिडियो सन्देश जारी गरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताउँदै स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गर्नुभएको छ ।

लोकतन्त्रको पर्यायका रूपमा रहेको पार्टी कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी साबित गर्दै आएको उल्लेख गर्दै उहाँले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताउनुभएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच सुरु गर्नु परेको महाधिवेशनमा सामाजिक दूरी कायम गरी सहभागी हुन अनुरोधसमेत गर्नुभएको छ ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सबल नेतृत्व आवश्यक रहेको भन्दै उहाँले आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गर्नुभएको छ ।

महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत् बनाउँदै आपसी एकता र विश्वासमा आधारित कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताउनुभएको छ । उहाँले वडा तहदेखि अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक साङ्गठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको श्रीगणेश भएको उल्लेख गर्नुभएको छ ।अर्का महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि पालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला, प्रादेशिक र केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रियामार्फत पार्टीका सबै तहको संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेस पहिलो पार्टी बन्न लागेको बताउनुभएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएको भन्दै वडामा सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । नेता डा शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउनका महाधिवेशनले सहयोग पुग्ने र आन्तरिक लोकतन्त्रलाई सबल बनाउँदै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुने बताउनुभएको छ । उहाँले पार्टीको १४औँ महाधिवेशन उत्सवका रूपमा आएको भन्दै निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले महाधिवेशनले आपसी सद्भाव र सहकार्यबाट नेपाली राजनीतिलाई अगाडि बढाउने विश्वास आफूले लिएको बताउँदै वडा तहको नेतृत्वमा आउने नेताहरू मुलुकको राष्ट्रियता र स्वाधीनता, सङ्घीयता र गणतन्त्रलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

मुलुकको वर्तमान अवस्थालाई समेत हृदयङ्गम गरी कांग्रेसको आवश्यकता, मुलुकको राष्ट्रियता, सङ्घीयता, गणतन्त्रजस्ता अतिआवश्यक विषयलाई दृष्टिगत गर्दै अगाडि बढ्नुहुनेछ भन्ने विश्वासका साथ उहाँले पार्टीको वडा तहको नेतृत्वमा आउन प्रयासरत सबैलाई शुभकामना दिनुभएको छ ।