‘महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्छ’

‘महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महिलामाथि धर्म संस्कार र परम्पराका नाममा हुँदै आएका विभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले भर्चुअल माध्यमबाट आयोजना गरेको ‘तीज र महिला सशक्तीकरण विषयक’ अन्तक्र्रिया र प्रतिभा प्रस्फुटन कार्यक्रममा सहभागी वक्ताले सामाजिक न्याय र समानताका लागि गलत परम्पराको अन्त्य आवश्यक रहेको औँल्याइएका हुन् ।

नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य नायब महाप्रबन्धक एवं लैङ्गिक विश्लेषक आरती चटौटले ‘तीज र महिला सशक्तीकरण’ विषयमा प्रस्तुतीकरण राख्दै बद्लिँदो परिवेशमा तीजको महत्वलाई आत्मसात् गर्दै धर्म संस्कारप्रथा र परम्पराका रूपमा महिलामाथि हुँदै आएका विभेदविरुद्ध सशक्त आवाजको खाँचो रहेको बताउनुभयो ।

सामाजिक रुपान्तरण र न्यायका लागि परापूर्वकालदेखि हुँदै आएका गलत अभ्यासलाई बदलेर सुसभ्य र समानतामूलक समाजका लागि महिलाले विशेष जोड दिनुपर्ने उहाँको भनाइ थियो । महिलाको आत्मसम्मानमाथि चोट पुग्ने कुनै पनि पर्वलाई महिलाले उत्साहका रूपमा ग्रहण गर्न नसक्ने जनाउँदै तीज पर्वलाई महिलाले उत्साहको पर्वका रूपमा मनाउन यसभित्र रहेका केही गलत अभ्यास हटाउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले महिलाको विशेष पर्वका रूपमा रहेको तीजले सामाजिक आर्थिक राजनीतिक स्वतन्त्रतासहित अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले समुन्नत न्यायिक समाजमा महिला पुरुषको समान सहभागिता र सामाजिक दायित्व रहेको प्रष्ट पार्नुभएको थियो । संस्थाका अध्यक्ष पार्वती पाण्डेले हरेक वर्ष भौतिक उपस्थितमा विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको पर्व तीज कोरोना महामारीका कारणले जमघट र भीडभाड नगरी प्रविधिको प्रयोगबाट मनाएको बताउनुभयो ।

कार्यक्रममा पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचन, संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुली, सल्लाहकार देवका पहारी, नर्मला कँडेललगायतले वर्तमान अवस्थामा तीज महत्व र पर्यटनले भोग्नुपरेका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रमा सदस्यका विभिन्न प्रतिभा प्रस्फुटन कार्यक्रम रहेको र उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको संस्थाका उपाध्यक्ष उमा भण्डारीले जानकारी दिनुभयो ।