पहिराले सताउने सडकको वैकल्पिक मार्ग खोजी

पहिराले सताउने सडकको वैकल्पिक मार्ग खोजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

करोडौँ खर्चिंदासमेत पहिराले क्षति पु¥याएको सडक मर्मत हुने सम्भावना नरहेको भन्दै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ । बागलुङ–कुश्मीशेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१० एक्लेसालमा पहिरो तर्काउने गरी वैकल्पिक मार्गको खोजी थालिएको हो । काठेखोलामा रहेको पक्की पुलदेखि दक्षिणतर्फबाट पहिरो तर्काउने गरी वैकल्पिक मार्ग निर्माणका लागि बिहीबार सरोकारवालाले अध्ययन गरेका छन् । अक्षतेबाट गलुवा निकाल्ने गरी वैकल्पिक सडक बनाउनुपर्नेमा सरोकारवालाको जोड थियो । प्रतिनिधिसभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, प्रशासन कार्यालय र सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको समूहले पहिरो निरीक्षण गर्दै वैकल्पिक मार्गका बारेमा स्थलगत अध्ययन गरेका हुन् ।

यहाँ एउटै पहिराले तीन वटा सडकको चार ठाउँमा क्षति पु¥याएको छ । असार १ गतेदेखि निरन्तर बगिरहेको पहिराले ठूलो गल्छी बनाएकाले सडक मर्मत गर्न कठिन रहेको पूर्वाधार कार्यालय बागलुङका प्रमुख इञ्जिनीयर शोभियत खड्काले बताउनुयो । “यहाँको माटो र ढुङ्गाको प्रकृति बग्ने खालको छ पानीको व्यवस्थापन नभएकै कारण ठूलो क्षति व्यहोर्नुप¥यो”, खड्काले भन्नुभयो, “यहाँ करोडौँ खर्चे पनि हिउँदका लागि मात्रै हुन्छ सडक, अर्को वर्षामा उस्तै हो ।” पहिरो नियन्त्रणका लागि उपाय नरहेकाले पनि पहिलेकै अवस्थामा सडक सञ्चालन गर्ने अवस्था नरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुयो ।

“बेस घटाएर तत्कालका लागि खुलाउन सकिन्छ तर दिगो हुने देखिएन, माथिसम्म जमिन चर्किएको छ, अझै पहिरो गहिरो हुने सम्भावना छ”, पौडेलले भन्नुभयो । अवलोकनका लागि पुगेका प्राविधिकले पहिराको भौगर्भिक अध्ययन हुनुपर्ने सुझाव दिनुभयो । “हामीले मात्रै भनेर हुँदैन, यहाँको भूगोलको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै विकल्पको विषयमा खोज्नुपर्छ”, इञ्जिनीयर मनोज शर्माले भन्नुभयोे, “दिगो हुने गरी काम गर्न सडकको ट्रयाक परिवर्तन गर्नुपर्ने देखियो ।”

जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई पत्राचार गरेर अध्ययनका लागि अनुरोध गर्ने जनाएको छ । “हामी पत्र लेख्छौँ, यहाँको भूगोलको अवस्थाका विषयमा अध्ययन गर्न भन्छौँ”, प्रजिअ शिवकुमार कार्कीले भन्नुभयो, “सडक बनेको लामो समय भयो, अहिले पहिरो किन गहिरिएर गयो भन्ने विषयमा अध्ययन हुन जरुरी छ ।” पहिरो खसेका क्षेत्रमा आउने बाढी तर्काउने विषयमा समेत अध्ययन भइरहेको कार्कीले बताउनुभयो ।

पहिराले कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्ड र त्यसको वैकल्पिक मार्गमा क्षति पु¥याएको छ । एक्लेसाल हुँदै भकुण्डे जाने सडक कामै नलाग्ने गरी भत्किएको छ भने बागलुङ कुश्मीशेरा सडकमा दुई ठाउँमा गहिरो गल्छी बनाएको छ । पहिराका कारण असार १ गतेयता दक्षिण क्षेत्र बेलाबेलामा सडक टुट्ने गरेको छ ।