आठ वर्षपछि सप्तरीको कञ्चनरूप नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः आजदेखि सर्पदंशको उपचार सुरू भएको छ । नगरपालिकाले आफ्नो पहिलो नीति तथा कार्यक्रममा सर्पदंश उपचार सञ्चालन गर्ने उद्देश्यअनुसार विधिवत्रूपमा आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार थालिएको हो ।
सर्पदंश उपचारका लागि विज्ञ चिकित्सकबाट २१ स्वास्थ्यक्रर्मीले दुई दिने तालिमसमेत लिएका छन् । डा प्रकाश साहका अनुसार आफ्नो नेतृत्वमा सर्पदंश उपचारसम्बन्धी डा छविलाल थापा र रेस्क्यु टिमका कमल देवकोटालाई आग्रह गरेर कञ्चनरुपमा दुई दिने सर्पदंश उपचारका लागि तालिम दिलाएको बताउनुभयो ।
नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज उद्घाटन गरेर सेवाको सुरू गरिएको हो । कार्यक्रममा नगरप्रमुख वसन्तकुमार मिश्रले शिक्षा र स्वास्थ्य शान्ति क्षेत्र भएकाले यसक्षेत्रमा कसैले अशान्ति तथा अनावश्यक हस्तक्षेप गर्न नहुने बताउनुभयो । स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादवले गोमन सर्पले टोकेपछि २० मिनेटभित्र बिरामीलाई उपचारका लागि पु¥याउन सके बचाउन सकिने व्यवस्थासमेत मिलाइएको छ ।
यो पनि – डब्ल्यूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय कार्यकारी समितिको बैठक आयोजना गर्दै नेपाल
विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सदस्य राष्ट्र नेपालले ११ वर्षपछि दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय कार्यकारी समितिको ७४औँ बैठक यही भदौ २१ देखि २५ गतेसम्म अप्रत्यक्षरूपमा आयोजना गर्दैछ । कोभिड–१९ महामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ असल र सबल पुनर्निर्माण’का उपायदेखि लिएर विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागि खोप कार्ययोजना तथा त्यसनिम्ति क्षेत्रीय कार्यढाँचा सम्मका विषयमा गहन छलफल हुनेछ ।
बैठक समाप्तिसँगै आगामी एक वर्षका निम्ति उक्त क्षेत्रीय संस्थाको कार्यकारी समतिको अध्यक्षतासमेत गर्ने नेपालले दक्षिणपूर्वी एसियाली राष्ट्र बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टेसँग निकट सम्पर्क र समन्वयमा रहेर स्वास्थ्यसम्बन्धी क्षेत्रीय मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।
बैठकको पूर्वसन्ध्यामा आज अपराह्न पत्रकार सम्मेलन गरेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भावी नीति, रणनीतिको तर्जुमा, प्रगतिका प्रतिवेदनउपर छलफल, तथा यस क्षेत्रका लागि बजेट तथा कार्यक्रमको अनुमोदन पाँचदिने बैठकबाट हुने बताउनुभयो ।
एघारवटै दक्षिणपूर्वी एशियाली देशका स्वास्थ्यमन्त्री, डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, उच्च स्वास्थ्य अधिकारी, राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, विकासका साझेदार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा हुने बैठकले विगतका बैठकबाट अनुमोदन भएका विषयको प्रगतिको समीक्षा स्वास्थ्यको आपत्कालीन पूर्वतयारी कार्य, नसर्ने रोग नियन्त्रण, स्वास्थ्यमा कोभिड खोपको व्यवस्थापन, वितरण र प्राप्तिबारे छलफल, खोपद्वारा अन्य रोगको रोकथाम, आगामी वर्षमा गरिने साझा कार्ययोजनाबारे छलफल र निर्णय हुने जानकारी दिनुभयो ।
साठी वर्षदेखिको डब्ल्युएचओसँगको नेपालको साझेदारीलाई अझ सघन र परिणामुखी तुल्याउन बैठक उपयोगी हुने विश्वास व्यक्त गर्दै उहाँले दक्षिणपूर्वी एसियाली क्षेत्रमा स्वास्थ्य समस्या समाधानका निम्ति पनि फलदायी हुने बताउनुभयो । “हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा हुने महासभाको पूर्वतयारीका रूपमा लिइने यो बैठक नेपालले आयोजना गर्नु राष्ट्रका लागि गौरवको विषय हो”, राज्यमन्त्री श्रेष्ठले भन्नुभयो ।
प्रतिक्रिया