मुक्त हलियालाई आत्मनिर्भर बनाउन योजनाबद्धरूपमा अगाडि बढ्छौँ : मुख्यमन्त्री भट्ट

मुक्त हलियालाई आत्मनिर्भर बनाउन योजनाबद्धरूपमा अगाडि बढ्छौँ : मुख्यमन्त्री भट्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलियालाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाइने बताउनुभएको छ । सोमबार पुर्नवास नगरपालिका–९ सीताबस्तीमा १३औँ हलिया मुक्ति दिवसका अवसरमा उहाँले मुक्त हलिया परिवारलाई आयआर्जनसँग जोडेर स्वरोजगार बनाइने बताउनुभयो ।

प्रदेश सरकारले समाजमा पछाडि परेका वर्गहरुको उत्थानलाई लक्ष्य गरी ल्याउन लागेको कानून निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । पुनःस्थापन, छुट मुक्त हलियाको अभिलेखीकरण, वृत्तिविकास, सहुलियत ऋण प्रदान गर्नेलगायतका काम छिट्टै अगाडि बढाइने उहाँले बताउनुभयो ।

“मानव जाति रहँदासम्म सङ्घर्ष जारी रहन्छ”, उहाँले भन्नुभयो, “सामाजभित्रको गलत चिन्तन परिवर्तन नहुँदासम्म कानुनमात्रै बनाए पुग्दैन ।” यसका लागि साझा सङ्घर्षको उठान गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । स्वरोजगार कार्यक्रममा केही गर्नुपर्छ भन्ने भावना भएका युवालाई सहभागी गराउनुपर्नेमा जोड दिँदै उहाँले युवालाई स्वरोजगार बनाई नमूनाका काममा सङ्लग्न गराइने बताउनुभयो ।

राजनीतिक परिवर्तनसँगै जनताले विकासको अनुभूति गर्न पाएको धारणा अघि सार्दै उहाँले स–साना योजनाका लागि पनि पहिला देशकै राजधानीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । सुदूरपश्चिम सरकार गरिब जनताको सरकार भएकाले कमजोर वर्गका लागि काम गर्दै आएको उहाँको भनाइ थियो । राजनीतिक उपलब्धिलाई बचाइराख्नका लागि एकताबद्ध भएर सबैले अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । सीमा क्षेत्रमा बसोबास गर्ने जनताले जङ्गली जनावरबाट समस्या झेल्दै आएकाले त्यसको निदानका लागि ‘फेन्सिङ’ लगाउनका लागि बजेटको यथोचित व्यवस्था गरिने उहाँले बताउनुभयो ।

यो पनि –जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा

नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १० जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय खोटाङमा आएर एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधिमा जिल्ला समन्वय समितिकै सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईसमेत रहनुभएको छ । यस्तै बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, सोही नगरपालिका–८ दोर्पा बुवालुङका वडा सदस्य हरि चाम्लिङ, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका रामकुमार बस्नेतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालले दल दर्ता गरेसँगै निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएपछि जिल्लाका जनप्रतिनिधिले सो पार्टीका पक्षमा सनाखत गर्ने क्रम जारी रहेको समाजवादीका जिल्ला सचिव जलशेर राईले बताउनुभयो । “नेकपा (एस)मा ४१ जनप्रतिनिधि खुल्नुभएको छ”, उहाँले भन्नुभयो, “भौगोलिक हिसाबले टाढा रहनुभएका छ जना वडाध्यक्षसहित अन्य जनप्रतिनिधिले आज (मङ्गलबार) सनाखत गर्ने तयारी गरेका छन् ।”

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित ९८ प्रतिशत जनप्रतिनिधि एमालेमै रहेको एमाले खोटाङका सचिव कुमार आचार्यले बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसक्नुभएको छ । एमाले खोटाङका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई एमालेमै रहनुभएको छ । एमालेको विसं २०७२ वैशाख १०–१४ गते सम्पन्न अधिवेशनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष चाम्लिङसहित २३ सदस्य एकीकृत समाजवादीमा खुलेका छन् ।

यसैबीच नेकपा एमाले खोटाङले सूर्य चिह्नबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई पार्टी विभाजनको पक्षमा नलाग्न औपचारिकरूपमा आग्रह गरेको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टीमा सनाखत गराएर समावेश हुने मौका दिइरहेको भन्दै एमालेले सोमबार विज्ञप्ति जारी गरेर विभाजनको पक्षमा नलाग्न आग्रह गरेको हो ।