विषालु सर्पले डस्दा महोत्तरीमा दुई बालिकाको मृत्यु

विषालु सर्पले डस्दा महोत्तरीमा दुई बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिनुभयो ।

यो पनि – डमरु मृत अवस्थामा

चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो । कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डममरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ । मृत भेटिएको डमरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमूना भेटेनरी शाखा पठाइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मृत भेटिएको यो पहिलो बाघ हो । निकुञ्जमा सन् २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेका छन् ।

यो पनि – मनसुनी वायुको प्रभाव ः केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । विभागका अनुसार बिहीबारदेखि उक्त न्यून चापीय रेखा औसत स्थानभन्दा तल सर्ने सम्भावना रहेकाले भारी वर्षा हुने छैन । “मनसुनको समय अझै बाँकी नै रहेकाले बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायम रहनेछ”, मौसमविद् प्रतिभा मान्नधरले भन्नुभयो ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।

यो पनि – विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण

सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात गण्डकी सुनौलो झुला नामकरण गरिएको छ । पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गण्डकी गोल्डेन ब्रिज नामकरण गरेको हो । अङ्ग्रजी र नेपाली दुवै भाषाको नाम स्वीकृत भएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

 

पुलको नयाँ नामसँगै जिल्लामा पर्यटन भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । पुलको उद्घाटन गरेर पुलको नामकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु २५ हजार राशिको पुरस्कारसमेत घोषण गरेको बागलुङ नगरपालिकाले सो पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ र नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकामा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्वीकृत भएको हो । उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले गर्नुभएको हो । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटरको सो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।

यो पनि – बलिउड अभिनेता अक्षय कुमारको आमाको निधन,सामाजिक सञ्जालमा लेखे यस्तो भावुक स्टाटस

बलिउड चर्चित अभिनेता एक्सन स्टार अक्षय कुमारको आमाको निधन भएको छ। उनका आमा ७७ बर्षीय अरुणा भाटियाको निधनले आफु मर्माहत भएको कुरा विभिन्न सामाजिक सञ्जालमा लेखेका छन् । उनले अहिले आफूलाई सहनै नसक्ने पीडा महशुश भैरहेको कुरा व्यक्त गरेका छन् । अक्षयले सामाजिक सञ्जालमा लेखेका छन्:  ‘उहा नै मेरो सबै थोक थिइन् ! आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु ।

मेरी आमा अरुणा भाटिया आज बिहान यो संसारलाई छोडेर कुनै अर्को दुनियाँमा मेरो पितासँग मिल्न पुगेकी छिन् । म तपाईहरु सबैको प्रार्थनाको उच्च सम्मान गर्दछु । ओम शान्ती ।’  अक्षयकी आमाको निधन भएपछि विभिन्न मध्यमबाट कलाकारहरु तथा उनका दर्शकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । अरुणालाई ६ दिनसम्म आइसीयूमा भर्ना गरिएको थियो ।

यो पनि – आज अन्तर्राष्ट्रिय साक्षरता दिवस : तेइस जिल्ला साक्षर हुन बाँकी

नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ ।

हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् । कूल २३ जिल्ला र दुई सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ । हाल ३५ हजार ६७४ कुल विद्यालय रहेकामा २७ हजार ८१८ सामुदायिक विद्यालय, छ हजार ७३२ संस्थागत (निजी) र एक हजार एक सय ३० परम्परागत (धार्मिक) विद्यालय रहेको केन्द्रले जनाएको छ ।

यो पनि – शिक्षालाई सीपसँग जोड्न आवश्यक

विराटनगर, २३ भदौ (रासस) : शिक्षालाई सीपसँग जोड्न सकियो भने शिक्षित बेरोजगारको समस्यालाई समाधान गर्न सकिन्छ । सीपले नै मानिसलाई जीवन निर्वाह गर्न आधार खडा गरेको पाइन्छ । अहिले पनि सीपमा पोख्त सिकर्मी, डकर्मी र ग्यारेजमा काम गर्ने र सिलाइकटाइको काम गर्ने मानिस नेपाल सरकारको उच्च ओहदामा रहेका कर्मचारीभन्दा बढी आय आर्जन गर्दछन् ।

आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको सन्दर्भमा ‘मानव केन्द्रित पूर्णलाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ नाराले पनि यो पुष्टि गर्दछ की सीपले मानिसलाई स्वरोजगार प्रदान गर्दछ । हाम्रो देशमा नयाँ शिक्षा प्रणाली लागू हुनुपूर्व सरकारी विद्यालयमा कृषि, काठका सामान बनाउने तालिम दिइन्थ्यो तर अहिले ती विषयलाई पाठ्यक्रमबाट हटाइँदा घरका सामान्य काम गर्न पनि मानिसले बाहिरबाट नै मानिस बोलाउनुपर्ने अवस्था छ । अहिले पनि विद्यालयमा व्यावसायिक शिक्षाको महत्व बढिरहेको महसुस गर्न सकिन्छ ।

विगतका तुलनामा विद्यालय र विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । न्यून साक्षरता भएको हाम्रो देशमा अहिले साक्षरताको प्रतिशत उच्च रहेको पाइए पनि सीपमा साक्षरता हुन नसक्नु नै हाम्रो शिक्षा प्रणालीमा सुधार गर्नु आवश्यक देखिनु हो ।

प्रदेश नं १ मा शिक्षाको अवस्था

प्रदेश नं १ अन्तर्गत १४ जिल्लामा उच्च शिक्षामा छात्राको सङ्ख्या ज्यादा रहेको छ । प्रदेशका तराई, पहाड र हिमालका जिल्लामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने छात्रको तुलनामा छात्रा ज्यादा रहेको सामाजिक विकास मन्त्रालयबाट उपलब्ध तथ्याङ्मा उल्लेख छ । प्रदेशका कक्षा ९ मा अध्ययन गर्ने छात्राको सङ्ख्या ४७ हजार ८७५ रहेको छ भने छात्र ४७ हजार २९३ गरी जम्मा ९५ हजार १६८ रहेका छन् । यसैगरी कक्षा १० मा अध्ययन गर्ने छात्रा ४३ हजार ०२१ छन् भने छात्र ४० हजार ७८३ गरी जम्मा ८३ हजार ८०४ रहेका छन् ।

यस्तै कक्षा ११ मा अध्ययन गर्ने छात्राको सङ्ख्या तराईको सुगमसहित १४ जिल्लामा अत्यधिक रहेको छ । उक्त कक्षामा अध्ययन गर्ने छात्रा २९ हजार ५० छन् भने २४ हजार ९२५ छात्र गरी जम्मा ५३ हजार ९७५ जना रहेका छन् । यस्तै कक्षा १२ मा सम्पूर्ण १४ जिल्लामा कुल ४७ हजार ७९७ विद्यार्थीमध्ये छात्रा २६ हजार २८२ र छात्र २१ हजार ५१५ रहेका छन् । यस्तै प्रदेशमा कक्षा १ देखि ५ सम्म छात्रा दुई लाख पाँच हजार ४९१ रहेका छन् । कुल पाँच लाख ४७ हजार १८० विद्यार्थीमध्ये कक्षा १ देखि ५ सम्म छात्रको सङ्ख्या दुई लाख ८१ हजार ६८९ रहेको छ ।

यस्तै कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने छात्राको सङख्या एक लाख ४२ हजार २६३ रहेको छ । सो समूहका एक लाख ४७ हजार ८२० छात्रले अध्ययन गरिरहेका छन् । जसरी विद्यालय र विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ त्यसरी नै विद्यालय तहदेखि नै सीममूलक शिक्षाको अवस्था सुदृढ भएर जाने हो भने बेरोजगारी समस्या समाधान हुँदै जानेछ ।

प्रदेश सरकारले विदेश पलायन हुने युवालाई स्वदेशमा स्वरोजगार र रोजगार उपलब्ध गराउन प्राविधिक शिक्षामा जोड दिएको छ । प्रदेशअन्तर्गतका विभिन्न विद्यालयमा प्रि डिप्लोमा र तीन वर्षे डिप्लोमाको अध्ययनका लागि सामुदायिक तथा निजी विद्यालयलाई जोड दिइएको मन्त्रालयका उच्च शिक्षा प्राविधिक शाखाका प्रमुख गोपालप्रसाद दाहालले बताउनुभयो ।

प्रदेशमा बाली विज्ञान, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक, पशुलगायतमा अन्य प्राविधिक विषयमा सिटिइभिटीको सम्बन्धनमा विद्यालय सञ्चालन रहेका छन् । प्रदेशमा सिटिइभिटीको आङ्गिक शिक्षालय सात वटा सञ्चालनमा रहेका छन् भने साझेदारी १२ वटा सञ्चालित छन् । यस्तै सिटिइभिटीका सम्बन्धमा प्राप्त सामुदायिक ३८ वटा विद्यालय टिइसिए सञ्चालित छन् भने शिक्षा विभागबाट सञ्चाालित प्राविधिक तथा व्यवसायिक शिक्षा (प्राविधिक धार) ९३ वटा सामुदायिक विद्यालयमा विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

यस्तै सिटिइभिटीबाट सम्बन्धन लिई ५३ वटा शिक्षालयले विभिन्न प्राविधिक विषयमा अध्ययापन गराइरहेको प्रमुख दाहालले जानकारी दिनुभयो । प्रदेशअन्तर्गतका विभिन्न प्राविधिक धारमा एक हजार ७०० विद्यार्थी अध्ययन गरिरहेका छन् भने सिटिइभिटीको सम्बन्धनमा आठ हजार विद्यार्थीलाई विभिन्न विद्यालयले अध्यापन गराइरहेको छ ।सरकारले प्रदेशमा विद्यार्थीलाई दक्ष बनाउन प्राविधिक शिक्षामा जोड दिए पनि गुरुकुल तथा मदरसामा अध्ययनरत विद्यार्थीमा विशेष ध्यान दिइएको मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले बताउनुभयो । उहाँले मन्त्रालयले धार्मिक शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरे पनि अहिले बाँडफाँट हुन बाँकी रहेको जानकारी दिनुभयो ।

मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलले वर्तमान समयमा सम्पूर्ण नागरिकलाई सूचना प्रविधिको ज्ञान प्राप्त होस् भन्ने उद्देश्यले सरकारले सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावकहरुलाई सूचना प्रविधिसम्बन्धी ज्ञान (साक्षरता) प्रदान गर्न आवश्यक बजेटको व्यवस्था गरेको बताउनुभयो । उहाँले प्रदेशका विभिन्न विद्यालयमा शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिमका साथै आवश्यक कम्प्युटर व्यवस्था गरी बिहान बेलुका अभिभावकलाई सूचना प्रविधि साक्षरता अभियान सुरु गरेकामा कोरोना महामारीका कारण केही समस्या उत्पन्न भएको बताउनुभयो ।

उपसचिव पोखरेलले अभियानबाट स्थानीय अभिभावक लाभान्वित भएमा सो स्थान समृद्ध हुने भएकाले स्थानीय निकायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला शिक्षा समन्वय एकाइ मोरङका प्रमुख टङ्क गौतमका अनुसार मोरङमा आधारभूत तहदेखि माथिसम्मका ७९० वटा विद्यालय छन् । “हाम्रो शिक्षा परम्परागत एवं साक्षरता बनाउने नै हो । यस्तो शिक्षाले समग्र देशको बेरोजगारी समस्या समाधान गर्नुको सट्टा बढाउने भएकाले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो ।

उहाँले मोरङका धार्मिकता अध्ययन गराउने ५७ वटा मदरसा रहेको जानकारी दिनुभयो । मदरसामा अध्ययन गर्ने विद्यार्थीलाई अङ्ग्रेजी, नेपाली, उर्दू र अरबी भाषा सिक्न निकै कठिन हुन्छ । “यसलाई परिमार्जन गर्नु पर्छ । एउटा भाषा सिक्न त मानिसलाई हम्मेहम्मे पर्छन् भने कलिला बालबालिकाले चारचार वटा भाषा कसरी सिक्छन् ? मदरसा शिक्षामा विशेष अनुसन्धान हुनुपर्छ नभए ती बालबालिका त्यही विद्यालयमा सीमित भएर हराउने छन्”, उहाँले भन्नुभयो ।