बेगखोलामा सधै जोखिम र सास्ती

बेगखोलामा सधै जोखिम र सास्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भदौ १९ गते शनिबार बेनीबाट घरतर्फ जाँदा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जवीर पुन रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलाले बगाएर बेपत्ता हुनुभयो ।  पुन अझै बेपत्ता रहनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनीबाट पाउरोटी लगेर गाउँमा बिक्री गरी जिविकोपार्जन गर्दै आउनुभएका पुन बेपत्ता भएको घटना बेगखोलाको जोखिम र सास्तीको अवस्था झल्काउने उदाहरण हो ।

राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा पैदलयात्रु र सवारी साधन जोखिम मोलेर आवत जावत गर्न बाध्य छन् । विस २०७३ भदौ १७ गतेको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ वटा घर बगाएको थियो । एक जना बेपत्ता भएका थिए । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण गर्न ढिलाइ हुँदा बर्खा याममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले झञ्जट ब्यहोर्नुपरेको अन्नपूर्ण गाउँपालिका–६ घारका सुबोध बरुवालले बताउनुभयो ।

बेनी–जोमसोम म्याग्दीको रघुगंगा गाउँपालिकाको तीन र अन्नपूर्ण गाउँपालिकाको सबै वडालाई सदरमुकाम बेनीसँग जोड्ने एक मात्र सडक मार्ग हो । ‘‘बाढीले सवारी साधन खोला तर्न नसकेपछि बिरामीलाई समयमै अस्पताल पु¥याउन समस्या भएको छ,” बरुवालले भन्नुभयो “मोटरसाइकल बगाउने, गाडीका पाटपुर्जा बिग्रने समस्या त कति हो कति ?”

कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ । बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ । बाढी आएको अवस्थामा स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मा बसेर मानिसहरु खोला वारपार गर्छन् ।

यसैगरी बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण –३ दाना स्थित रुप्सेखोलामा २०७७ साउन ५ गतेको बाढीले निर्माणाधिन मोटरेबल पुल बगाएको थियो । बेग र रुप्सेखोला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको टाउको दुखाइको बिषय बनेको छ ।कूल ७६ किलोमिटर दूरीको यो सडक वर्षायाममा बेग र रुप्सेखोलामा दैनिकजसो अवरुद्ध हुने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका वडा सदस्य बुद्धी पुनले बताउनुभयो । “गाडी परिवर्तन गर्नुपर्ने झञ्जट र सास्तिका साथै जोखिम भएको छ,” उहाले भन्नुभयो “मुस्ताङमा उत्पादीत स्याउ, आलु लगायत कृषि उपज निकासी, दैनिक उपभोग्य सामान ढुवानी र बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिएको छैन् ।”

बेगखोलामा सडक पुल निर्माण गर्न सडक विभाग अन्तरगतको पुल महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार सडक पुल निर्माण नहुँदा सम्मका लागि पैदलयात्री र मोटरसाइकल आवत जावतलाई सहज बनाउन गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले झोलुङ्गे पुल बनाउन ठेक्का प्रस्ताव आव्हान गरेको छ ।

बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइको सडक पुल निर्माण गर्न रु. आठ करोड ४७ लाख ४२ हजार ३२० को लागत अनुमान गरिएको छ । पुलको वारिपारि ५०० मिटरको पहुँच मार्ग र तल माथि दुईतर्फ २६० मिटर लम्बाईमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत निर्माणाधिन रुप्से खोला पुलको संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको आयोजनाका इञ्जिनीयर आश्विनीकुमार यादवले बताउनुभयो । “४० मिटर लम्बाई भएको रुप्से खोलाको पुलको दुइतर्फ पिल्लर उठाएर ६६ प्रतिशत प्रगति भएको रुप्से खोला पुलको जगनै खलबलाउने गरी बाढीले बगाएपछि लम्बाई बढाउन लागिएको छ,” उहाँले भन्नुभयो “भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।”