तरकारी र फलफूलको भाउ महँगियो

तरकारी र फलफूलको भाउ महँगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा–बागलुङ सडक खण्डमा पहिराले बिहीबारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी र फलफूल ढुवानी गर्न सकिएको छैन ।  व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । व्यवसायी भने दोब्बर भाडा तिरेर ढुवानी गर्नुपरेकाले मूल्य बढाउनु परेको बताउँछन् । स्थानीय किसानबाट खरिद गरेको तरकारी यसै पनि महँगो पर्ने गरेको उहाँहरुको गुनासो छ । एक साताअघि रु ६० पर्ने गोलभेँडा अहिले रु एक सय २० मा खरिद गर्नुपरिरहेको व्यवसायी नारायण सुवेदीले बताउनुभयो ।

“स्थानीय उत्पादन न्यून भएकाले खरिद महँगो पर्छ, अब त्यही पनि पाइन छाडेको छ”, उहाँले भन्नुभयो । यहाँ पोखरा, चितवनलगायत ठाउँबाट तरकारी ल्याइने गरिन्थ्यो । स्थानीय उत्पादनले मात्र धान्न सक्ने स्थिति छैन । तरकारी आयात ठप्प भएपछि स्थानीय किसानले उचित मुल्य नपाएको व्यवसायी बताउँछन् ।वर्षा याम सकिनै लाग्दा बजारमा तरकारी अभाव भएको छ । त्यहीँमाथि ढुवानी नै गर्न नसकिएपछि थप समस्या निम्तिएको छ । तीजमा उपभोक्ताले चाहेअनुसारको किनमेल गर्न पाएका छैनन् । फलफूलको भाउ पनि छोइनसक्नु छ । व्यवसायी विजय आले बुटवलबाट गलकोटहुँदै फलफूल ढुवानी गर्नुपरिरहेकाले दोब्बर भाडा तिर्नुपरिरहेको बताउनुहुन्छ । एक किलो स्याउ रु तीन सयमा किन्नु परेको स्थानीयवासी उमाकुमारी पौडेलले बताउनुभयो । केही दिनअघिसम्म एक किलो स्याउको मूल्य रु एक सय ५० थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विक व्यवसायीले मनपरी ढङ्गले मूल्य लिन नपाउने बताउनुहुन्छ । आजैदेखि बजार अनुगमन थालिएको उहाँको भनाइ छ । “अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएमा व्यवसायीलाई कारबाही हुन्छ”, विकले भन्नुभयो । प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सरोकार भएका पक्ष मिलेर अनुगमन थालेका हुन् । चाडबाडमा बजारमा वस्तुको मूल्य मनपरी लिने व्यवसायीको पुरानै प्रवृत्ति हो । यसैमाथि ढुवानी रोकिएको नाममा कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने व्यवसायी पनि यसबेला सक्रिय छन् । सडक सम्पर्क टुट्दा तरकारी÷फलफूल मात्र होइन अन्य दैनिक उपभोग्य सामानको पनि अभाव भएको छ । इन्धनको ढुवानीसमेत रोकिएको छ ।

यो पनि – विगतमा तरकारी किनेर खानेले अहिले त्यसबाटै आम्दानी गर्दै

गण्डकी, २३ भदौ (रासस) ः विगतमा जग्गा बाँझै राख्ने र तरकारी किनेर खादै आएका किसान अहिले भने त्यसबाटै आम्दानी गर्न थालेको छ । विगतमा बजारमा तरकारी किनेर खाने गरेका पोखरा महानगरपालिका–१७ का बासिन्दा यतिखेर आफैले उत्पादन गरेको प्राङ्गारिक ताजा तरकारी उपयोग गर्दै आएका छन् । बढी भएका तरकारी बिक्री गर्दै उनीहरुले आम्दानी समेत लिन थालेका हुन् ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रम लागू भएको बिरुवा फाँटको फेवा सिँचाइ नहरदेखि दक्षिणतर्पm महतगांैडा, लुमन्ति, लामातरा, प्रगतिटोल र दोविल्लालाई कृषि पकेट क्षेत्र घोषणा गरी प्लाष्टिक टनेल निर्माण, मौरीसहितका घार वितरण, खोर र भकारो सुधार कार्यक्रम गर्दै आएको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ इकाइका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पकेट क्षेत्रअन्तर्गत निर्मित ७९ वटा टनेलमा यतिखेर लटरम्म गोलभेडा फलेका छन् । टनेलभित्र दैनिक पाँचदेखि १० किलोसम्म गोलभेडा उत्पादन हुन्छ । बिक्री गरेर किसानले मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्दै आएका छन् । “१२ मिटर लम्वाइ र ६ मिटर चौढाइको एउटा प्लाष्टिक टनेलले लगभग दुई आना जग्गा ओगटेको हुन्छ”, उहाँले भन्नुभयो, “धानखेती गर्दा मुस्किलले दुई हजार मूल्य बराबरको १५ पाथी धान उत्पादन हुने जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेतीबाट कृषकले वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।”

कार्यक्रमको पहिलो र दोस्रो वर्ष ३०। ३० र तेस्रो वर्ष १९ गरी कूल ७९ वटा टनेल निर्माण, ६५ वटा बाख्राका खोर र भकारो सुधार, नश्लसुधारका लागि रु ६५ हजार मूल्य बरावरको बोयर जातको एउटा बोका वितरण, १३० मौरीसहितका घार वितरण गरिएको उहाँको भनाइ छ ।

एक घर एक उत्पादनलाई जोड दिइएको वातावरणमैत्री नमूना कृषि कार्यक्रमबाट पहिलो वर्ष रु २५ लाख, दोस्रो र तेस्रो वर्ष रु १५। १५ लाख गरी कूल रु ५५ लाख अनुदान प्राप्त भएको र सोही बराबर किसानको समेत लगानी भएको छ । कार्यक्रमबाट पकेट क्षेत्र अन्तर्गतका २०९ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले एक परिवारलाई एउटा शीर्षकमा मात्र अनुदान उपलब्ध गराएको बताउनुभयो ।

नेटसहित फलामको फ्रेमबाट निर्मित टनेलमा पहिलो पटक रोपेका सिर्जना जातका गोलभेडाको बिरुवा फुल्न थालेका छन् । सोही टनेलभित्र लगाएको साग बिक्रीबाट रु १० हजार आम्दानी भएको महतगौँडाका कृषक नेत्रनाथ भण्डारीले राससलाई बताउनुभयो । असिना पानीले खासै असर नगर्ने र रोगले समेत सिधैँ आक्रमण गर्न नसक्ने हुँदा तापअनुकूलित उक्त टनेलबाट बाह्रै महिना उत्पादन लिन सकिने उहाँले बताउनुभयो ।

टनेल निर्माणका लागि नमूना कृषि कार्यक्रमबाट ७५ हजार अनुदान प्राप्त भएको थियो । कृषकले टनेलको बाहिर वरिपरिको जग्गा समेत उपयोग गर्न थालेका छन् । स्थानीय बासिन्दा रघुनाथ भण्डारीका अनुसार अनुदानबाट प्राप्त तीनवटा मौरीका घारमध्ये एउटामा उत्पादन दिन शुरु गरेको छ । उक्त घारबाट वार्षिक चार किलोग्राम मह उत्पादन भएपछि यतिखेर शुद्ध महको स्वाद लिन पाइएको छ । अन्य दुई घारले पनि उत्पादन दिने तयारीमा छन् ।

अखिल नेपाल किसान महासङ्घ कास्कीका अध्यक्षसमेत रहनु भएका उहाँले महिला तथा युवा वर्गलाई उत्पादनसँग जोड्न कार्यक्रम प्रभावकारी बनेको बताउँदै यस्ता उत्पादनमुखी कार्यक्रमको दीगोपनका लागि तीन तहका सरकार जिम्मेवार भएर लाग्नु विकल्प नभएको बताउनुभयो ।

तीनवटा प्लाष्टिक टनेल हुने हो भने गोलभेडा, साग, बन्दा, काउली, सिमी, धनीया, काक्रोलगायत विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्न सकिने उल्लेख गर्दै उहाँले यसले पर्यापर्यटनको वृद्धिसँगै कृषिको माध्यमबाट स्थानीय स्तरमा रोजगारी सिर्जनामा समेत टेवा पुग्ने बताउनुभयो । प्रदेशमा कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु तथा वातावरणमैत्री प्रविधि र अभ्यासहरूको प्रयोग एवम् स्थानीय स्रोतसाधनको उचित व्यवस्थानमार्पmत उत्पादन र गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ तीन वर्षदेखि सो कार्यक्रम सञ्चालन हुँदै आएको हो ।

एक स्थानीय तह एक नमूना कृषि गाउँअन्तर्गत गण्डकी प्रदेशका ८५ स्थानीय तहमा सञ्चालित सो कार्यक्रम समुदायस्तरमा कृषि क्षत्रको वातावरणीय जोखिम न्यूनीकरण र ग्रामीण कृषक समुदायको दिगो खाद्य सुरक्षा सुनिश्चितत गर्दै गुणस्तरीय कृषि र पशुजन्य उत्पादनको वृद्धि तथा बजारीकरणमार्पmत स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न कार्यक्रम प्रभावकारी बनेको बताइएको छ ।