अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदै हुनुहुन्छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको हो ।
सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो । यद्यपि उहाँहरू एमसिसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन नेपाल आउन लाग्नुभएको हो ।
अघिल्लो सरकारले एमसिसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति दिनाका साथै जग्गा अधिग्रहण र सीमापार प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर तदनुरुप काम अघि बढाएको थियो । नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएको छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
यो पनि – एमसिसीका विषयमा एमालेमा कुनै मतभेद छैन : उपमहासचिव पौडेल
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ । सरकारले एमसिसीको प्रस्ताव संसद्मा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले राष्ट्रको हितलाई केन्द्रमा राखेर र जनताको चाहनाअनुसार निर्णय गर्ने बताउनुभयो । एमसिसीका विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उहाँको भनाइ थियो । एमाले विभाजन नभई सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुआत भएको पौडेलले सुनाउनुभयो ।
पार्टी विभाजन विचार र दर्शनका आधारमा नभई लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाउनुभयो । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसद्बाट पारित हुन नसक्ने उहाँको भनाइ थियो । पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताउनुभयो । प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मकरुपमा लिएर रचनात्मकरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
दश बुँदेअनुसार प्रदेश र जिल्लामा नेतृत्व
बैठकले एमाले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेमबहादुर खड्का, सचिवमा भूमिश्वर ढकाल, उपसचिवमा दुर्गा थारु र प्रदेश कार्यालय सचिवमा बलराम अधिकारीलाई चयन गरेको छ ।
यस्तै १० बुँदे कार्यान्वयनअन्तर्गत प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरिएको छ । बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल र सहसचिवमा नुतन चौधरी चयन हुनुभएको छ । बाँके अध्यक्षमा निरक गुरुङ, उपाध्यक्षमा किस्मत कक्षपती, सचिवमा रत्न खत्री, सहसचिवमा प्रमोद धिताल, दाङको जिल्ला अध्यक्षमा टीकाराम खड्का, उपाध्यक्षमा हुकम बस्नेत, सचिवमा मनोहर बुढाथोकी र सहसचिवमा कृष्ण भुसाललाई चयन गरिएको छ ।
यसैगरी रोल्पा अध्यक्षमा बालाराम बुढा, उपाध्यक्षमा विजय घर्ती, सचिवमा निमप्रसाद रोका र उपसचिवमा राजेन्द्र बुढाथोकी, रुकुमपूर्वको अध्यक्षमा टोपबहादुर वली, उपाध्यक्षमा रुजिधन घर्तीमगर, सचिवमा लीलामणि गौतम, उपसचिवमा तेजेन्द्र बुढामगर, प्यूठान अध्यक्षमा तुलसी शर्मा, उपाध्यक्षमा हुकुम खडका, सचिवमा मोहन जिसी, अर्घाखाँची अध्यक्षमा चेतनारायण आचार्य, उपाध्यक्षमा जीवनारायण कोइराला, सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा प्रेम गैरे, गुल्मी अध्यक्षमा मधुकृष्ण पन्त, उपाध्यक्षमा बालसिंह काउछा, सचिवमा सोमप्रसाद सापकोटा र उपसचिवमा धर्म विक चयन हुनुभएको छ ।
यस्तै पाल्पा अध्यक्षमा नारायण आचार्य, उपाध्यक्षमा मोहन थापा, सचिवमा ओमबहादुर घर्ती, उपसचिवमा कमल पाण्डे, कपिलवस्तुको अध्यक्षमा झविलाल पोखरेल, उपाध्यक्षमा बाबुराम खनाल, सचिवमा वावुराम आचार्य, उपसचिवमा विश्राम चौधरी, पश्चिम नवलपरासीको अध्यक्षमा तुलसी पासी, उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा थानप्रसाद गैरे, उपसचिवमा राजन आचार्य र रुपन्देहीको अध्यक्षमा शिवराज सुवेदी, उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरी चौधरी र सहसचिवमा गोपाल रानालाई चयन गरिएको छ ।
प्रतिक्रिया