‘तीज परम्परागत नबनोस्, विकृति हटाओस्’

‘तीज परम्परागत नबनोस्, विकृति हटाओस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गर्नुभएको छ ।हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायूको शुभकामना व्यक्त गर्दै उहाँले यसलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गर्नुभएको हो ।

उहाँद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “तीज विगतमा भाग्यलाई सराप्ने अन्धविश्वासी सोचमा आधारित हुनुहुँदैन र आजभोलि भड्किलो संस्कृतिमा रुपान्तरित यसले समाजमा भित्र्याएका विकृति हटाउँदै जानुपर्छ, तीजको मौलिकतालाई स्थापित गर्दै सामाजिक सद्भाव, एकता, भातृत्व एवं भगिनित्व विकास गर्न नयाँ पुस्ताको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।”

उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजलाई पारस्परिक सम्मान, सद्भाव एवं एकतासहित अघि बढ्न तीज पर्वले प्रेरित गरेको जनाउनुभयो । कोरोना महामारीको संकट कायमै रहेकाले यसको संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै बसेर खुशीसाथ मनाउन सुझाउँदै मुख्यमन्त्री शाहीले सबैलाई एकताबद्ध, आफ्ना हक अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक हुन तीजबाट प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

यो पनि – ‘तीज पर्वले सामाजिक, सांस्कृतिक एकता सुमधुर बनाउन सकोस्’

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउँन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गर्नु भएको छ । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।

“नेपाली समाजमा रहेका सबै खाले विभेद एवं हिंसाको अन्त्य र समतामुलक समाज निर्माणका लागि परिवर्तनकारी आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको उच्च प्रशंसा छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “अधिकारको सही अभ्यासका साथ थप अधिकारका लागि एकजुट भई लाग्न यस पर्वले प्रेरणा प्रदान गरोस् ।” उहाँले कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर खुसीयालीका साथ पर्व मनाउन सम्पूर्ण दिदीबहीनीमा अपिल गर्नुभएको छ ।

यो पनि – पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराईले बताउनुभयो ।“अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, उहाँले भन्नुभयो । नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेको अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि उहाँहरुले सुनाउनुभयो ।

‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो । त्यसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो । पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् ।

दुई भाग रात हुँदैमा खानुपर्छ दर

यो व्रत सक्नेले निराहार बस्ने भएकाले बिहीबार व्रतालुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।बुधबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले तीज व्रतको भोलिपल्ट यही भदौ २५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन आउन पाउने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । पशुपति क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न भने कोषले आह्वान गरेको छ । पशुपतिनाथबाहेकका अन्य धेरै मन्दिर खुलेकाले भक्तजनलाई सजिलो भएको छ ।