नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला हुने

नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ । भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो । पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । यही भदौ २६ गते गोरखा जिल्लामा पनि सङ्गठन विस्तारका लागि बैठक राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएर हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ ।

यो पनि – सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ : सचिव भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । उहाँले संसद्को आगामी बैठक सञ्चालन हुने÷नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताउनुभयो । एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पूर्वाग्रहपूर्ण व्यवहार गरेकाले विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईको भनाइ छ । “सभामुखले दलको सदस्यभन्दा माथि उठेर निष्पक्ष व्यवहार गर्नुपर्छ । पार्टीले अनुशासन वा ह्वीप उल्लङ्घनमा आफ्ना सदस्यलाई कारबाही गर्न सक्छ, सभामुखले त्यसलाई सूचना प्रकाशन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “विगतमा अरु पार्टीले कारबाही सिफारिस गर्दा तत्काल सूचना आएको तर एमालेको पत्रलाई थन्क्याएर सभामुखले हाम्रो पार्टी विभाजनमा सहयोग गर्ने नियत राखेको देखियो । संसद्को ठूलो दललाई गरिएको व्यवहार महङ्गो र चुनौतीपूर्ण हुनसक्छ ।”

यो पनि – राष्ट्रियसभाको दोस्रो बैठक पनि स्थगित

राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ । प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गर्नुभएको हो । पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो ।

दोस्रो बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक यही भदौ २५ गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगन गर्नुभयो । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ सदनसमक्ष पेश गर्ने कार्यसूची थियो । सदन नभएका बेला जारी भएको अध्यादेश सदन खुलेपछि पहिलो बैठकमा पेश गर्ने परम्परा छ ।

 

यो पनि -प्रतिनिधिसभा : एमालेको विरोधका बीच अध्यादेश पेश

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिनुभएको थियो । प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । सभाको अर्काे बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

यो पनि – प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेको छ । सङ्घीय संसद्को नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेपछि १५ मिनेट स्थगन भई सुरु भएको दोस्रो बैठकमा पनि सांसदले नाराबाजीसहित वेल घेराउ गरेका थिए ।  उनीहरूले आफूले कारबाही सिफारिस गरेका सांसद्लाई बैठकमा नराख्न माग गरेका थिए । विरोधकै बीच सभामुखले आफ्ना अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो ।

पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर अधिवेशन प्रारम्भका अवसरमा सांसदलाई स्वागत गरेपछि एमालेका सांसदले आआफ्ना स्थानबाट उठेर अवरोध गरेका थिए । सभामुख सापकोटाले सांसदलाई उनीहरूको मागबारे आफ्नो ध्यानाकर्षण भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नाराबाजी जारी राखेका थिए । एमालेले कारबाहीका लागि सिफारिस गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही नगरेर एमाले विभाजनमा सहयोगी बनेको आरोप लगाउँदै सभामुखको भूमिकाप्रति आपत्ति जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश’ पेश गर्नेलगायत कार्यसूची छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वेसम्बन्धी अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि पेश गर्ने, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश र सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ स्वीकृतिका लागि पेश गरिने कार्यसूची थियो ।

यो पनि – प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध

सङ्घीय संसद्को नवौँ अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भ भएपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर अधिवेशन प्रारम्भका अवसरमा सांसदलाई स्वागत गरेपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसदहरूले आफ्नो स्थानबाट उठेर अवरोध गरेका हुन् ।

सभामुख सापकोटाले पहिलो बैठकमा स्वागत गर्न नपाउँदै अवरोध नगर्न आग्रह गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिनुभयो । प्रमुख सतेचक भट्टराईले एमालेले कारबाहीका लागि सिफारिश गरेका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै विरोध जनाउनुभयो । उहाँले विगतमा अन्य दलका कारबाहीको सिफारिशलाई तत्कालै सूचना प्रकाशन गरिएको तर एमालेको सिफारिशलाई विचाराधीनमा राखेर दल विभाजन भइसकेपछि कारबाही गर्न नपर्ने निर्णय गरेर भन्दै सदनको कारबाही चल्न नदिने घोषणा गर्नुभयो ।

प्रतिनिधिसभाको आजदेखि सुरु भएको अधिवेशन प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रोष्ट्रम अगाडि नाराबाजी गर्दै । तस्बिर रत्न श्रेष्ठ÷रासस

सांसदहरूले विधिको शासन कायम गर्न, संसदीय सर्वाेच्चता कायम गर्न माग गर्नुभयो । सभामुख सापकोटाले मुलुकको संविधान र कानून तथा संसद्को मर्यादा र परम्पराभन्दा बाहिर नजान आग्रह गर्दै आफूले प्रतिनिधिसभाको नियमावलीबमोजिम नै काम गरेको जिकिर गर्नुभयो । त्यसपछि सभामुख साकोटाले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभयो ।

आजको बैठकमा सभामुखको अनुस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश गर्नेलगायत सम्भावित कार्यसूची छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’, आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८, ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ ‘शपथसम्बन्धी अध्यादेश, २०७८’, ‘रेल्वे सम्बन्धी अध्यादेश, २०७८’, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८’ लाई स्वकृतिका लागि पेश गर्ने, ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ स्वीकृतिका लागि पेश गरिने कार्यसूची छ ।

यो पनि -सत्तापक्ष र विपक्ष मिलेर सदन चलाउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिनुभएको छ । बैठकमा उहाँले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले बैठकमा सदनमा अतिआवश्यक विधेयक विचारधिन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । बुधबारदेखि सुरु सङघीय संसद्को बैठकअघि सदन सञ्चालन गर्ने विषयमा सो बैठक बसेको नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले जानकारी दिनुभयो ।