एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले आज शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष ओली निवास बालकोटमा भएको सो भेटमा अमेरिकी अनुदान सम्झौता एमसीसीका बारेमा छलफल भएको थियो । सो भेटमा उपाध्यक्ष सुमारले एमसीसी अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा अमेरिकी सरकार रहेकाले यसका लागि सघाउन आग्रह गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी अहिले प्रतिपक्षमा रहेकाले एमसीसीबारे सरकारको स्पष्ट धारणा नआएसम्म पार्टीले धारणा नबनाउने बताउनुभएको भेटमा सहभागी एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । “अहिलेको सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने बारेमा सरकार पहिला स्पष्ट हुनुपर्छ, अनि एमालेले आफ्नो धारणा बनाउँछ, अहिले एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले जानकारी दिनुभयो ।

एमालेको नेतृत्वमा सरकार हुँदा एमसीसी अनुमोदन गर्न प्रयास गरे पनि तत्कालीन सभामुखले संसद्मा पेस नगरीदिँदा अघि बढ्न नसकेको स्मरण गराउँदै अहिले एमाले प्रतिपक्षमा रहेकाले यसमा एमालेको प्रत्यक्ष भूमिका नहुने ओलीले जानकारी गराउनुभएको भट्टराईले बताउनुभयो । बालकोट भेटमा उपाध्यक्ष सुमारसँगै एमसीसीका प्रतिनिधि सहभागी थिए । त्यसैगरी एमालेका तर्फबाट विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल, सूर्य थापालगायत सहभागी थिए ।

यो पनि – कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्री पदमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । कांगे्रसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा आज आयोजित विशेष कार्यक्रममा उहाँले बीपीको सपना पूरा गर्न महामन्त्री पदमा उम्मेद्वारी दिन लागेको बताउनुभयो ।

“१५ वर्षभित्र सबै नेपालीलाई आफूजस्तै मध्यमस्तरको जीवनशैली यापन गर्न सक्ने हैसियतको बनाउने बीपीको दृष्टिकोण अझै पूरा हुन सकेको छैन, यो सपना पूरा गर्न मैले उम्मेद्वारी दिने घोषणा गरेको हुँ”, उहाँले भन्नुभयो । विसं २०१६ जेठ १३ गते प्रधानमन्त्री नियुक्त भएपछि बीपीले १५ वर्षभित्रमा गर्छु भनेको काम राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म पनि गर्न नसकेको नेता शर्माले बताउनुभयो । आफू महामन्त्री भएर पार्टीलाई तीनवटा निर्वाचन जिताई बीपीको सपना पूरा गर्ने उहाँको प्रतिबद्धता छ ।

पार्टीमा युवा पुस्ता ऊर्जाका साथ नेतृत्वमा अघि बढेकाले बीपीको सपना पूरा गर्न सकिने प्रवक्ता शर्माले बताउनुभयो । बीपीले दुई तिहाइ सरकारको कमीकमजोरी लेख्न सञ्चारमाध्यमलाई निश्चित बजेट व्यवस्थापन गरेर पत्रकारिता क्षेत्रको सम्मान गरेको परम्परालाई कांग्रेसले निरन्तरता दिने उहाँको भनाइ छ । विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरी बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत नेतालाई लामो समय थुनेको तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बीपी सङ्ग्रहालय पुगेर नेता शर्माले उम्मेद्वारी घोषणा गर्नुभएको हो । उम्मेद्वारी घोषणा लगत्तै उहाँले बिपी, गणेशमान, किसुनजी, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राईलगायत योद्धाको शालिकमा माल्यार्पण गर्नुभयो ।

बन्दीगृहमा बीपीले रोप्नुभएको कपुरको रुखमा जल सिञ्चन गरी उहाँले सङ्ग्रहालय परिसरमा रुद्राक्षको बिरुवासमेत रोप्नुभएको छ । कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेललगायतले बीपीको सपना पूरा गर्ने नेतृत्वलाई १४औँ महाधिवेशनमा जिताउने प्रतिबद्धता जनाउनुभएको थियो ।

यो पनि – बिपीको मार्गबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ : सहमहामन्त्री डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपी कोइरालाले निर्धारण गर्नुभएको मार्ग अवलम्बन गर्दैै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको मार्गबाट समुन्नतिको शिखरमा पु¥याउन सबै लाग्नुपर्ने बताउनुभएको छ । कांग्रेसका संस्थापक, विसं २००७ का जनक्रान्तिका नायक तथा प्रथम निर्वाचित प्रधानमन्त्री कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले सो प्रतिबद्धताका साथ पार्टीको १४औँ महाधिवेशनमा सक्रिय पार्टीका नेता कार्यकर्ताहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रजातान्त्रिक समाजवादका प्रणेता बिपीले स्थापित गर्नुभएका मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै अगाडि बढेकाले नै कांग्रेस मुलुकलाई गति र दिशा दिने भरपर्दो र लोकप्रिय राजनीतिक दलका रूपमा स्थापित भएको उहाँको भनाइ छ ।लोकतन्त्रप्रतिको अविचलित आस्था र यसको स्थापना, पुनःस्थापना र संरक्षण तथा विकासमा कांग्रेसका नेता तथा कार्यकर्ताले गर्नुभएको त्याग र बलिदानका कारण कांग्रेस नेतृत्वमा विसं २०४६ को जनआन्दोलनमार्फत मुलुकमा बहुदलीय संसदीय व्यवस्थाको पुनःस्थापना सम्भव भएको डा महतले उल्लेख गर्नुभएको छ ।

साथै विसं २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनमार्फत निरंकुश राजतन्त्र पराजित हुन गई संविधानसभा बैठकले गणतन्त्र स्थापना गरेको र कांग्रेसको नेतृत्वमै सङ्घीयता, गणतन्त्र, समावेशितासहितको संविधान जारी गर्न सफल भएको गौरवपूर्ण स्वर्णिम इतिहास रच्न सकेको यथार्थलाई उहाँले स्मरण गर्नुभएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेको र वडा तहमा नेतृत्व र प्रतिनिधि निर्वाचित भइसक्नुभएको यस अवसरमा यसपटकको बिपी जन्मजयन्तीको विशेष महत्व रहेको उहाँले बताउनुभएको छ । यसले हामीलाई बिपीले स्थापित गर्न चाहनुभएको समाजका मूल्य, मान्यता, आदर्शप्रति प्रतिबद्ध रही समाजसेवा गर्न प्रेरित गर्ने विश्वास लिएको सहमहामन्त्री डा महतले सो सन्देशमा उल्लेख गर्नुभएको छ ।

यो पनि – सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ : सचिव भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । उहाँले संसद्को आगामी बैठक सञ्चालन हुने÷नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताउनुभयो । एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पूर्वाग्रहपूर्ण व्यवहार गरेकाले विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईको भनाइ छ । “सभामुखले दलको सदस्यभन्दा माथि उठेर निष्पक्ष व्यवहार गर्नुपर्छ । पार्टीले अनुशासन वा ह्वीप उल्लङ्घनमा आफ्ना सदस्यलाई कारबाही गर्न सक्छ, सभामुखले त्यसलाई सूचना प्रकाशन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “विगतमा अरु पार्टीले कारबाही सिफारिस गर्दा तत्काल सूचना आएको तर एमालेको पत्रलाई थन्क्याएर सभामुखले हाम्रो पार्टी विभाजनमा सहयोग गर्ने नियत राखेको देखियो । संसद्को ठूलो दललाई गरिएको व्यवहार महङ्गो र चुनौतीपूर्ण हुनसक्छ ।”

यो पनि – राष्ट्रियसभाको दोस्रो बैठक पनि स्थगित

राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ । प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गर्नुभएको हो । पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो ।

दोस्रो बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक यही भदौ २५ गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगन गर्नुभयो । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ सदनसमक्ष पेश गर्ने कार्यसूची थियो । सदन नभएका बेला जारी भएको अध्यादेश सदन खुलेपछि पहिलो बैठकमा पेश गर्ने परम्परा छ ।

 

यो पनि -प्रतिनिधिसभा : एमालेको विरोधका बीच अध्यादेश पेश

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिनुभएको थियो । प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । सभाको अर्काे बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

यो पनि – प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेको छ । सङ्घीय संसद्को नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेपछि १५ मिनेट स्थगन भई सुरु भएको दोस्रो बैठकमा पनि सांसदले नाराबाजीसहित वेल घेराउ गरेका थिए ।  उनीहरूले आफूले कारबाही सिफारिस गरेका सांसद्लाई बैठकमा नराख्न माग गरेका थिए । विरोधकै बीच सभामुखले आफ्ना अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो ।

पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर अधिवेशन प्रारम्भका अवसरमा सांसदलाई स्वागत गरेपछि एमालेका सांसदले आआफ्ना स्थानबाट उठेर अवरोध गरेका थिए । सभामुख सापकोटाले सांसदलाई उनीहरूको मागबारे आफ्नो ध्यानाकर्षण भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नाराबाजी जारी राखेका थिए । एमालेले कारबाहीका लागि सिफारिस गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही नगरेर एमाले विभाजनमा सहयोगी बनेको आरोप लगाउँदै सभामुखको भूमिकाप्रति आपत्ति जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश’ पेश गर्नेलगायत कार्यसूची छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वेसम्बन्धी अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि पेश गर्ने, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश र सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ स्वीकृतिका लागि पेश गरिने कार्यसूची थियो ।

यो पनि – प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध

सङ्घीय संसद्को नवौँ अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भ भएपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर अधिवेशन प्रारम्भका अवसरमा सांसदलाई स्वागत गरेपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसदहरूले आफ्नो स्थानबाट उठेर अवरोध गरेका हुन् ।

सभामुख सापकोटाले पहिलो बैठकमा स्वागत गर्न नपाउँदै अवरोध नगर्न आग्रह गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिनुभयो । प्रमुख सतेचक भट्टराईले एमालेले कारबाहीका लागि सिफारिश गरेका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै विरोध जनाउनुभयो । उहाँले विगतमा अन्य दलका कारबाहीको सिफारिशलाई तत्कालै सूचना प्रकाशन गरिएको तर एमालेको सिफारिशलाई विचाराधीनमा राखेर दल विभाजन भइसकेपछि कारबाही गर्न नपर्ने निर्णय गरेर भन्दै सदनको कारबाही चल्न नदिने घोषणा गर्नुभयो ।

प्रतिनिधिसभाको आजदेखि सुरु भएको अधिवेशन प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रोष्ट्रम अगाडि नाराबाजी गर्दै । तस्बिर रत्न श्रेष्ठ÷रासस

सांसदहरूले विधिको शासन कायम गर्न, संसदीय सर्वाेच्चता कायम गर्न माग गर्नुभयो । सभामुख सापकोटाले मुलुकको संविधान र कानून तथा संसद्को मर्यादा र परम्पराभन्दा बाहिर नजान आग्रह गर्दै आफूले प्रतिनिधिसभाको नियमावलीबमोजिम नै काम गरेको जिकिर गर्नुभयो । त्यसपछि सभामुख साकोटाले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभयो ।

आजको बैठकमा सभामुखको अनुस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश गर्नेलगायत सम्भावित कार्यसूची छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’, आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८, ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ ‘शपथसम्बन्धी अध्यादेश, २०७८’, ‘रेल्वे सम्बन्धी अध्यादेश, २०७८’, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८’ लाई स्वकृतिका लागि पेश गर्ने, ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ स्वीकृतिका लागि पेश गरिने कार्यसूची छ ।

यो पनि -सत्तापक्ष र विपक्ष मिलेर सदन चलाउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिनुभएको छ । बैठकमा उहाँले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले बैठकमा सदनमा अतिआवश्यक विधेयक विचारधिन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । बुधबारदेखि सुरु सङघीय संसद्को बैठकअघि सदन सञ्चालन गर्ने विषयमा सो बैठक बसेको नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले जानकारी दिनुभयो ।