जिल्लामा बिरामीका लागि रगतको अभाव

जिल्लामा बिरामीका लागि रगतको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लामा रगतको अभाव हुन थालेको छ । चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो ।  जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगत पु¥याउन निकै कठिन हुन थालेको छ । सम्बन्धित बिरामीका आफन्त र स्वयम्सेवीहरुको भरमा रगतको माग धानिएको हो । उहाँका अनुसार बिरामीको चाप बढेसँगै रगतको माग बढेको हो । कोरोनाको खोप लगाएकाले दुई साता रक्तदान गर्न मिल्दैन । मुख्य रक्तदाताहरु भएको समूहले अहिले खोप लगाइरहेको छ । यससँगै नेपाली कांग्रेसको निर्वाचन र कम्युनिष्ट पार्टीहरुको सङ्गठन विस्तार अभियानका कारण रक्तदान कार्यक्रम हुन सकेका छैनन् ।

यस्तै चाडपर्व पनि रक्तदान कार्यक्रम घट्नुको अर्को कारण हो । भाइरल फिवर र कोरोनाका बिरामीले गर्दा पनि रगत आपूर्तिमा कमी आएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा धेरै रगतको माग हुने गर्दछ । यससँगै भरतपुर अस्पताल, दुई मेडिकल कलेज र साना अस्पतालमा यहाँ सङ्कलित रगत जाने गर्दछ । पौडेलले रक्तदान कार्यक्रमको आयोजना गरी रगत सङ्कलनमा सहयोग पु¥याउन अनुरोध गरिएको बताउनुभयो ।

यो पनि -मौसमी ज्वरोका बिरामी बढे

यहाँका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ । पहिलेको तुलनामा यो सङ्ख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उहाँले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका उहाँले बताउनुभयो ।मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले बताउनुभयो । अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उहाँको भनाइ छ । गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो ।

अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई–तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन् । यस्तै भाइरल ज्वरोका बिरामी बालबालिकाको सङ्ख्या पनि अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् । बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ ।

पाँच वर्षमुनिका बच्चामा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बशौैलाले जानकारी दिनुभयो । कोभिडका कारण बालबालिकालाई पूर्णखोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उहाँको भनाइ छ । अहिलेको समयमा झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा बढी जोड दिन चिकित्सकले सुझाएका छन् ।