नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो ।
नेकपा (एमाले)बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ । पार्टीको यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा गर्न लागिएको बताइएको छ ।
यो पनि – एमाले स्थायी कमिटी बैठक स्थगित
नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो । एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान अधिवेशनका लागि सहभागी हुने प्रतिनिधिका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेकाले साढे ३ बजेसम्मका लागि बैठक स्थगन भएको हो । आजै बस्ने अर्को बैठकले अधिवेशनका लागि प्रतिनिधिका बारेमा टुङ्गो लगाउने भट्टराईले बताउनुभयो । “बैठकमा विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि को को छनोट गर्ने भन्ने तथा राजनीतिक, विधान प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र व्यवस्थापनलगायत विषयमाथि छलफल भयो”, उहाँले भन्नुभयो, “अब बस्ने बैठकले प्रतिनिधिको चयन गर्नाका साथै सबै प्रतिवेदनलाई पारित गर्नेछ ।”
अघिल्लो अधिवेशनमा राष्ट्रिय परिषद् सदस्य र महाधिवेशन प्रतिनिधि स्वतः प्रतिनिधि हुने गरेका थिए । पार्टीको नवाँै महाविधेशनपछि परिषद् निर्वाचित नगरेको स्थायी कमिटीले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्न थालेको भट्टराईले जानकारी दिनुभयो । विधान अधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनवर्गीय सङ्गठनबाट प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ ।
स्थायी कमिटीले आज प्रतिनिधि र प्रतिवेदन पास गरेपछि केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ । एमालेको विधान अधिवेशन यही असोज ४ देखि ६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा भएका कतिपय कुरा संशोधन गर्नुपर्ने भएकाले संशोधन गरेर मात्र अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
यो पनि – सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताउनुभयो ।
उहाँले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिनुभयो । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उहाँले जानकारी दिनुभयो ।
एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताउनुभयो । विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उहाँले भन्नुभयो, “उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरु चलिरहेका छन् ।”
यो पनि – प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ ः मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताउनुभयो ।“आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ । कोरोनाबाट सङ्कटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर बजेट आएको छ,” उहाँले भन्नुभयो । मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने गरी नै आउने विश्वास दिलाउनुभयो । उहाँले गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको बताउनुभयो ।
मन्त्री भुसालले स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यपार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको बताउनुभयो । “अहिले जसले बढी बिजुली बाल्यो, उसले बढी महसुल तिर्नु परेको अवस्था छ, विद्युत् नियमन आयोगले निर्णय गरेपछि लागू हुन्छ,” उहाँले भन्नुभयो ।
जातीय सामाजिक संस्था ‘किरात याक्थुङ चुम्लुङ’ को ३३ वर्षअघि स्थापना भएको हो । यस संस्थाको देशका नौ जिल्लामा र किरात जाति रहेका विश्वका १९ देशमा यस संस्था क्रियाशील छ । सो अवसरमा संस्थाका केन्द्रीय अध्यक्ष योगराज बानेमले नेपाल जातीय रङ्गीनता रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।संस्थाका ललितपुर जिल्ला अध्यक्ष रामबहादुर खख्खिम लिम्बूले संस्थाका गतिविधिबारे जानकारी गराउनुभयो । कार्यक्रममा बिजुली बत्ती भूमिगत गर्न तथा खानेपानीको समस्या रहेको भन्दै समाधान गरिदिन आग्रह गरिएको थियो ।सो अवसरमा मन्त्री भुसालले ललितपुर महानगरपालिका–१४ स्थित लिम्बू सङ्ग्रहालय परिसरमा निर्मित अतिथि गृहको उद्घाटन समेत गर्नुभएको थियो ।
प्रतिक्रिया