एघार लाखलाई निःशुल्क मास्क

एघार लाखलाई निःशुल्क मास्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ (रासस) : प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ । गएको वैशाखयता (दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण)को अवधिमा यसरी मास्क वितरण गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रहरीले उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालन गरेको थियो । काठमाडौँका विभन्नि सडकमा हेल्प डेस्क नै राखेर मास्क वितरणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लामा पनि कार्यक्रम नै आयोजना गरी मास्क वितरण गरिएको जनाइएको छ ।

मुख्यगरी कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका प्रहरीले मास्क वितरण अभियानकै रूपमा चलाइएको हो । “मानिसले मास्क नलगाई हिँड्ने गरेको देखियो, मास्क नलगाउनेलाई छिट्टै सङ्क्रमण हुने चिकित्सकको भनाइअनुसार मास्क वितरण थालिएको हो । यसले मानिसमा मास्क लगाउनुपर्छ भन्ने चेतनाको विकास पनि हुने हुँदा अभियान चलिएको हो”, प्रवक्ता कुँवरको भनाइ छ ।

प्रहरीले गएको वैशाख ६ पछि ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत मास्क वितरण थालेको थियो । आज मात्रै २ हजार ५८६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । हालसम्म जम्मा ११ लाख १८ हजार २१२ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियान चलाएको हो । यस्तै पछिल्ल्लो २४ घण्टामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको नियम उल्लङ्घन गर्ने २५ जनालाई रु दुई हजार ५०० जरिवाना गरिएको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार २९३ जनालाई सचेत गराइएको छ । देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत चार हजार ९७३ जना सहभागी रहेको जनाइएको छ ।

यो पनि – प्रदेश–२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत

धनुषा, २६ भदौ (रासस) : प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ ।

प्रत्येक आवको आठ महिनामा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने प्रावधान रहे पनि प्रदेश सरकार गठन भएदेखि प्रथम पटक सर्वेक्षण प्रकाशित गरिएको हो । प्रदेश सरकारको आर्थिक उन्नतिका लागि गरिबी निवारण, रोजगारी सृर्जना, वित्तीय क्षेत्रको सुधारलगायत आर्थिक सुशासन र वित्तीय सुशासन कायम गरी आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सोसँग सम्बन्धित विवरण संलग्न गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको अर्थ मन्त्रालयका सचिव काशिराज दाहालले बताउनुभयो ।

सर्वेक्षणमा वित्त, वित्तीय क्षेत्र, गरिबी निवारण, रोजगारी, सुशासन, सामान्य प्रशासन, कृषि, वन तथा भूमि सुधार, उद्योग पर्यटन तथा भौतिक पूर्वाधारका परिसूचक समावेश गरिएको छ ।

कोभिड–१९ का कारण प्रदेश–२ का मात्र नभई देश कै उद्योग पर्यटनलगायत क्षेत्रमा नकरात्मक असर देखिए पनि कृषि र सेवाको क्षेत्रमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ । प्रदेश नं २ मा आव २०७७/७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि, सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ३९, ५०.२ र १० प्रतिशत रहेको अनुमान गरिएको थियो । सर्वेक्षणअनुसार राष्ट्रिय तहमा १३.३ प्रतिशत हिस्सा ओगटेको प्रदेश नं २ ले कोरोना महामारीमा पनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा १३.२ प्रतिशत योगदान पु¥याउन सफल देखिएको छ ।