नवलपुर, २६ भदौ (रासस) : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ । आज नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गर्नुभएको हो ।
“गिरिजा बाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु”, महामन्त्री डा कोइरालाले भन्नुभयो, “सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो । तर, सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो ।” उहाँले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएकोमा समेत जोड दिनुभएको थियो ।
देवचुली नगरपालिकाको दलदले बजारमा रहेको बीपी स्मृति भवनमा नेपाली कांग्रेस देवचुली नगरपालिकाले पार्टी कार्यालय स्थापना गरेको हो । सो कार्यक्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उहाँले आगामी सङ्घीय निर्वाचनमा पनि नवलपुरबाटै निर्वाचन लड्ने समेत घोषणा गर्नुभयो । यसअघिका तीन पटकका निर्वाचनमा यहाँका जनताले आफूलाई जिताएको प्रसङ्ग उल्लेख गर्दै डा कोइरालाले आगामी निर्वाचनमा नवलपुरवासीले जिताउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
“नवलपुरको विकासका लागि मैले सारेका तीन वटा कुरामध्ये बीपी अन्तर्राष्ट्रिय खेल मैदान र ट्रमा सेन्टरको काम अघि बढिसकेको छ”, डा कोइरालाले भन्नुभयो, “नारायणी नदीमा वैकल्पिक मार्गका लागि काम अगाडि बढाउँदैछु, त्यसले चाँडै नै मूर्तरूप लिनेछ ।”
यो पनि – खगोल विज्ञानका विषयमा जानकारी दिन कार्यशाला एवं प्रशिक्षण
काठमाडौँ, २६ भदौ (रासस) : सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल विज्ञानका विषयमा जानकारी दिने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा कार्यशाला एवं प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आज आयोजना गरेको कार्यक्रममा सात वटा सामुदायिक विद्यालयमा अध्ययनरत माध्यमिक तहका १४ जना विद्यार्थीको सहभागिता थियो । विद्यार्थीलाई पाँच समूहमा विभाजन गरी खगोल विज्ञानका बारेमा प्रयोगात्मक प्रतिष्पर्धा गराइएको थियो । यस्तो प्रक्रियाबाट शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी भएको विद्यार्थीको अनुभव छ ।
समूहमा बसेर काम गरेका विद्यार्थीमध्ये तीन जना पुरस्कृत भएका छन् । सरस्वती निकेतन माध्यमिक विद्यालय टेकुकी सुष्मा श्रेष्ठ, परोपकार आदर्श माध्यमिक विद्यालय भीमसेनस्थानका सुशान्त थापा र प्रभात माध्यमिक विद्यालय न ः घलका रोशन दुलालको समूहले उत्कृष्ट भएर पुरस्कार पाएको छ । कार्यक्रममा सहभागी विद्यार्थीद्वय सुषमा श्रेष्ठ र विजय लामाले कार्यशाला एवं प्रयोगात्मक ज्ञानबाट धेरै कुरा सिक्न सजिलो भएको बताउनुभयो ।
राष्ट्रिय विज्ञान दिवस सप्ताहव्यापी रूपमा मनाइने
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्रालयका सचिव सुरेश आचार्यले सामान्य किसिमको कार्यक्रम देखिएपनि यसको सन्देश गहन भएको बताउनुभयो । राष्ट्रिय विज्ञान दिवसको अवसरमा भदौ २८ गतेदेखि सप्ताव्यापी रूपमा कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । महामारी र विपत्तिबाट लडेका बेला विज्ञानका अनुसन्धानबाट सहयोग लिएर अघि बढ्न सकिने मन्त्रालयले जनाएको छ ।
‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ आगामी असोज १ गते नवौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि भवनसमेत उद्घाटन गरिने कार्यक्रम रहेको सचिव आचार्यले सुनाउनुभयो । विज्ञानसम्बन्धी अनुसन्धानका उपलब्धिलाई उत्पादनमुखी बनाउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नीतिगत कामलाई प्राथमिकता राखेको छ ।
यस वर्ष मन्त्रालयले दिवसका अवसरमा विज्ञानका विषयमा अनुसन्धान गरिरहेका विज्ञ र उद्यमीकाबीच अन्तरक्रिया गर्न लागिएको छ । विज्ञान र प्रविधिको कूटनीतिका बारेमासमेत मन्त्रालयले छलफल अघि बढाउन लागिएको जनाइएको छ । ‘साइन्स डिप्लोमेसी फोरम’ बनाएर यो विषयलाई अघि बढाइने भएको छ ।
मन्त्रालयले विज्ञान प्रविधिमा काम गरेका सात विधालाई सम्मान गर्ने भएको छ । विज्ञान प्रविधि क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई पनि मन्त्रालयले सम्मान गर्न लागेको सचिव आचार्यले बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालय स्टीम शिक्षा विभाग प्रमुख विनोदप्रसाद पन्तले विद्यार्थीलाई खोजमूलक सीपमा अघि बढाउन सके जस्तोसुकै समस्या समाधान गर्न सकिने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । स्टीम शिक्षाका माध्यमबाट विज्ञानका विषयमा धेरै काम गर्न सकिने भएकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।
‘वल्र्ड स्पेस वीक’ का वाग्मती संयोजक श्रीति श्रेष्ठ, सोसाइटीका अध्यक्ष सुरेश भट्टराई, सोसाइटीका कार्यक्रम संयोजक मनीषा द्वा, विज्ञान शिक्षकद्वय रुपा मानन्धर र रविना महर्जनलगायतले खगोल विज्ञानका विषयमा प्रयोगात्मक कार्यक्रम अघि बढाइनुपर्ने बताउनुभयो । यस्ता कार्यक्रमलाई निरन्तरता दिइने सोसाइटीले जनाएको छ ।
प्रतिक्रिया