अर्थमन्त्रीसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट

अर्थमन्त्रीसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ (रासस) : अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो ।

भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताउनुभएको थियो । अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको थियो ।

उपाध्यक्ष फतिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार भेटवार्ता गरेको थियो । यस्तै, बिहिबार नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।

छलफलका क्रममा अधिकांश नेताले एमसिसीका सम्बन्धमा देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् । एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।

यो पनि – ९९४ मा सङ्क्रमण, १२ को मृत्यु

काठमाडौँ, २६ भदौ (रासस) : देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३५५ छ । पाँच सय बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला २१ छन् । आज एक हजार ३६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस अवधिमा सङ्क्रमणबाट १२ को ज्यान गएको छ । हालसम्म १० हजार ९३६ को सङ्क्रमणबाट मृत्यु भएको छ । चार सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेशन, एक हजार ६४७ संस्थागत आइसोलेशन र ३१७ कोरोना सङ्क्रमित क्वारेन्टिनमा छन् ।

मन्त्रालयलका अनुसार आज ६८ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।