बाढीपहिरो प्रभावित परिवारलाई नगद र स्वास्थ्य सामग्री सहयोग

बाढीपहिरो प्रभावित परिवारलाई नगद र स्वास्थ्य सामग्री सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापानमार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो । राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई र वडा नं ५ का पाँच परिवार छन् । एउटा परिवारलाई न्यूनतम रु पाँच हजारदेखि बढीमा रु एक लाख २० हजारसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ । स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्तरूपमा राहत रकम प्रदान गर्नुभएको थियो ।

सो समितिका सचिव गणेश कार्कीका अनुसार समाजले वडा नं ३ मा रहेको हिल स्वास्थ्यचौकीका लागि रु आठ लाख बराबरका भिडियो एक्स–रे, एनालाइजरलगायत स्वास्थ्य उपकरण÷सामग्रीसमेत प्रदान गरेको छ । समाजले यसअघि गाउँपालिकाको विपद् कोषमा रु १४ लाख जम्मा गरेको थियो । गाउँपालिका अध्यक्ष घर्तीले प्रवासी नेपालीले आफ्नो गाउँका लागि निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । समाजले गाउँपालिकामा हुने विपद्का घटनादेखि विकास निर्माणका अभियानमा सहकार्य गर्दै आएको उहाँले स्मरण गर्नुभयो । ताराखोलासँगै गलकोट, लेखानी समाज जापानलगायत प्रवासी नेपालीले खोलेका सङ्घसंस्था मानवीय सेवाका काममा सक्रिय छन् ।

यो पनि -अस्पतालको लागि जग्गा अभावले स्तरोन्नति रोकियो

तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन । पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ । अस्पताल व्यवस्थापन समितिले आसपास रहेका जग्गा अस्पताललाई हस्तान्तरण गर्न पटक–पटक प्रदेश सरकारसँग आग्रह गरे पनि प्राप्त भएको छैन ।

अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको जग्गा अस्पताललाई प्रदान गर्न जनप्रतिनिधि एवं सरोकारवालाले यस अगाडि कयौँपटक प्रदेश सरकारसँग अनुरोध गरेका थिए । जग्गाकै कारण अस्पतालको स्तरोन्नति रोकिएपछि व्यास नगरपालिकाले ज्ञान केन्द्रको जग्गा र भवन दमौली अस्पताललाई उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको छ ।

कार्यपालिकाको बैठकबाटै उक्त निर्णय गराएर सरकारलाई आग्रह गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “दमौली अस्पताल व्यवस्थापनका लागि सिमाना जोडिएको केन्द्रको जग्गा र भवन अस्पताललाई उपलब्ध गराएर कृषि ज्ञान केन्द्रलाई अन्यत्र व्यवस्थापन गर्न अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “दमौली अस्पताल र कृषि ज्ञान केन्द्र प्रदेश मातहतको कार्यालय भएकाले सरकारले चाहे यो सम्भव छ ।”यसअघि अस्पतालले कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको मध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन माग गरेको अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिदा पनि कुनै परिणाम प्राप्त नभएको उहाँको भनाइ छ । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्तिमा पटक–पटक छलफल चलाएर फाइल बोकी सम्बन्धित निकायमा धाउँदा पनि सफल नभएको उहाँले बताउनुभयो । “विभिन्न ठाउँका विभिन्न कित्ताका सार्वजनिक र विभिन्न सरकारी कार्यालयको अनुत्पादक जग्गा पहिचानसहित सम्बन्धित निकायमा लगियो तर परिणाम अहिलेसम्म प्राप्त भएको छैन”, उहाँले भन्नुभयो ।

विसं २०६२ मा आफ्नै स्रोत साधन प्रयोग गरी ५० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति पाए पनि अस्पताल समितिले सञ्चालन गर्न सहज नभएको अध्यक्ष अधिकारीले बताउनुभयो । “यसका लागि चाहिने विशेषज्ञ तथ अन्य जनशक्तिको व्यवस्थापन, उनीहरुको सेवासुविधा, काम गर्ने भवन, त्यहाँ चाहिने उपकरणको जोहो समितिले गर्न सक्थेन”, उहाँले भन्नुभयो ।

वर्तमान अवस्थामा पनि अस्पतालले केही उल्लेख्य प्रगति गरेको छ । अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत, यनेस्थेसिया, गाइनोलोजी सेवा सञ्चालन, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक प्रयोगशाला सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।

अस्पतालबाट हाल ४२ शय्यामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ चिकित्सकको दरबन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।