प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण १५ मिनेटका लागि स्थगन भएको छ । आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गर्नुभएको थियो । एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।
बैठक अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो । एमालेका सांसदको लगातारको बैठक अवरोधपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।
यो पनि – संसद् बैठक शुरु, सभामुखद्वारा बैठक अवरोध नगर्न आग्रह
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ । आजको बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको थियो । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो ।
उहाँले बैठक नियमित अवरोध गर्दा अन्य सांसदको अधिकार सङ्कुचन हुने भन्दै बैठक सहज रुपमा सञ्चालन गर्नका लागि सहयोग गर्न र संवादबाट नै सबै समस्याको निकासका लागि आग्रह गर्नुभयो । उहाँले सर्वोच्च अदालतमा विचाराधीन न्याय निरुपणको विषय संसद्मा छलफल गर्न प्रतिबन्ध रहेको कानूनका बारेमासमेत ध्यानाकर्षण गराउनुभएको थियो । एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।
यो पनि –आफ्नो पार्टीका सांसदलाई मर्यादित भएर संसद्मामा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उहाँले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिनुभएको हो ।
एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले संसद् अवरुद्ध गर्ने, नाराबाजी गर्ने, मर्यादित भएर प्रस्तुत हुने र निर्धारितरुपमा तोकिएको नारा मात्र लगाउन आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभयो ।
“माइकले हान्ने पार्टीको कुनै पनि योजना थिएन, काँध चढेर मर्यादापालकको घेरा तोड्न खोजेजस्तो देखियो, त्यस्तो होइन, हामी मर्यादापालकको घेरा तोडेर जान चाहदैनौँ”, उहाँले भन्नुभयो, “मर्यादा पालकले पनि हामीलाई स्थान दिनुपर्छ, ठाउँ नहुँदा तनावको स्थिति सिर्जना हुन्छ ।” ओलीले सीमाभित्र रहेर मर्यादापालक परिचालन गर्न सत्तापक्षलाई आग्रह गर्दै आफूहरु धेरै वादविवादमा जान नचाहेको उल्लेख गर्नुभयो ।
यो पनि – भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव हुनुहन्थ्यो । समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन हुनुभएको छ । नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचन पार्टीको उपस्थितिलाई बलियो बनाउने जानकारी दिनुभयो ।
ताप्लेजुङको अध्यक्षमा लामा
ताप्लेजुङ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा छिरिङ लामा चयन हुनुभएको छ । शनिबार सदरमुकाम फुङलिङमा भएको अगुवा कार्यकर्ता भेलाले ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ । कमिटीका उपाध्यक्षमा दुर्गाहाङ चोङ्वाङ (लिम्बू) र मञ्जु भट्टराई चयन भएका छन् भने सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे रहनुभएको छ । एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो । जिल्लामा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका थिए भने एक जनाले भने हस्ताक्षर फिर्ता लिएका थिए ।
हुम्लामा नेता शर्माका नेतृत्वमा १०१ सदस्यीय कमिटी
सिमकोट– नेकपा (एकीकृत समाजवादी)ले नेता शिवराज शर्माका अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उहाँ तत्कालीन एमालेका जिल्ला सचिव हुनुहुन्थ्यो । शनिबार सार्वजनिक गरिएको जिल्ला कमिटी उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया