राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन हुनुभएको छ ।राप्रपाका युवा नेता उहाँ आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील बनाइने जानकारी दिनुभयो । उहाँले राप्रपा पाका पुस्ताका मात्रै पार्टी भएको भ्रममा नपर्न आग्रह गर्दै अब युवा नेतृत्वको वर्चश्व रहेको बताउनुभयो ।

“जिल्लामा विकास निर्माणमा साथ र विकृतिविरुद्ध राप्रपा अग्रसर हुनेछ ।” उहाँले भन्नुभयो, “स्थानीय पालिकाले गरेका अनियमितता विरुद्ध हामी खरो रुपमा उत्रिने छौँ ।” अधिवेशनले सदस्यतर्फ महेश्वरी सिंह, दिलबहादुर नाथ, वीरेन्द्रबहादुर चन्द, रमेश भट्ट, राजेन्द्रप्रसाद भट्ट, लोकबहादुर कँुवर, कैलाश भट्ट, नन्दादेवी खत्री लगायत २९ जनालाई चयन गरेको छ । अधिवेशनमा राप्रपाका केन्द्रीय निर्देशन समिति सदस्य धर्मराज जोशी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तीर्थराज चटौत, हिक्मतसिंह भण्डारी र रणबहादुर बलायरलगायतको सहभागिता रहेको थियो ।

यो पनि – आज सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गर्नुभएको सर्वदलीय बैठक अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि बोलाइएको छ । सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगायतका समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले ) संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र ) का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाललाई आमन्त्रण गरिएको बताइएको छ ।यसैगरी जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ । आइतबार पनि संसद् बैठक दुई पटक बसे पनि कार्यसूचीमा प्रवेश नै नगरी मङ्गलबारसम्मका लागि स्थगित भएको छ । अवरोध हटाउन सभामुख सापकोटाले आइतबार प्रतिपक्षी दलका मुख्य सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो । एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन निषेधको माग गर्दै लगातार संसद्मा नाराबाजी गर्दै आएको छ ।

यो पनि – एमसिसी सम्झौता पास हुनेमा अमेरिका विश्वस्त

मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएका छन् । नेपालको आर्थिक–सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार स्वयंले आधा दशकभन्दा बढीको छलफल र वार्तापछि पाँच वर्षअघि अमेरिकासँग गरेको एमसिसी कम्प्याक्टलाई कार्यान्वयन गर्न नेपालका राजनीतिक दलबीच मतैक्य रहनेमा पनि आफू ढुक्क रहेको उनले बताए ।

“अमेरिका–नेपालबीचको सात दशकभन्दा पुरानो औपचारिक सम्बन्ध, त्यसयता भएका अनेकौँ द्विपक्षीय सहकार्यका परियोजनाले नेपाललाई समृद्धिको यात्रामा अग्रसर हुन टेवा पुगेको छ । एमसिसी अनुमोदन नभए पनि हाम्रो सुमधुर सम्बन्धमा कुनै असर पर्नेछैन,” नेपालको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि आज अपराह्न यहाँ पत्रकार सम्मेलन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले भन्नुभयो, “विगतका विकास परियोजनाले नेपालसँगको हाम्रो सम्बन्धलाई पुनः परिभाषित गर्न सघाएका छन् ।”

प्रतिनिधिसभाबाट एमसिसी अनुमोदनमा विलम्ब भए पनि अब राजनीतिक दलबीच शीघ्र सहमति हुनेमा आफू आशावादी रहेको बताउँदै उहाँले विभिन्न तहमा चार दिनसम्म गरेका भेटवार्ताबाट आफू त्यो निष्कर्षमा पुगेको नेपाल भ्रमणको निचोड सुनाउनुभयो । कोभिड–१९ को महामारीले शिथिल बनेको नेपालको अर्थतन्त्रको पुनरुत्थान तथा रोजगारीका अवसरको सृजनामा एमसिसी उपयोगी हुने बताउँदै जति चाँडो त्यो अनुमोदन हुन्छ त्यसैअनुसार परियोजना कार्यान्वयन भई सामाजिक–आर्थिक उन्नयनमा योगदान पुग्ने अभिमत उहाँले प्रकट गर्नुभयो ।

सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग समेत छलफल गर्न आउनुभएकी उहाँले प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायतलाई बेग्लाबेग्लै भेटेर कम्प्याक्टलाई संसद्बाट पारित गर्न आग्रह गर्नुभएको थियो ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत बुधबार उपाध्यक्ष सुमारले सरकारले सोधेका ११ प्रश्नको जवाफ दिँदै विद्युत् प्रसारण लाइन र सडकलगायत नेपालको विकासका अत्यावश्यक भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बकोे कम्प्याक्टका प्रावधान नेपालको संविधानभन्दा माथि नरहेका, हिन्द–प्रशान्त रणनीतिअन्तर्गत त्यसमा सैन्य अंशसमेत नरहेको स्पष्ट पार्नुभएको थियो ।