वाग्मती, २८ भदौ (रासस) : नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।
आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाउनुभएको थियो । उहाँले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गर्नुभएको थियो भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मतरूपमा चयन गरेको नेकपा(एकीकृत समाजवादी) वाग्मती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिनुभयो । संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।
यो पनि – गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो
कञ्चनपुर, २८ भदौ (रासस) : धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ ।
भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाउनुभएको थियो । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।
बुझाइएका सुनका गहनामा छडके तिलहरी एक थान, सुनका बाला दुई थान, चन्द्रमा एक थान र आँैठी दुई थान रहेका छन् । गहनासँगै रहेको नगद रकम रु एक हजार समेत विकलाई बुझाइएको छ ।
प्रतिक्रिया