कर्णाली, २८ भदौ (रासस) : प्रदेश लोकसेवा आयोगले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आज प्रदेश प्रमुख कलौनीसमक्ष आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधान, २०७२ को धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनको व्यवस्था भएबमोजिम कर्णाली प्रदेशसभाबाट प्रदेश लोकसेवा ऐन, २०७५ जारी भई सोहीअनुसार गठन भएको आयोगद्वारा सम्पादन गरेका काम कारवाही समेटेर प्रदेश प्रतिवेदन पेश गरिएको छ ।
आव २०७८/७९ आयोग गठन वर्ष भएकाले कार्यालय स्थापना, कानून तथा पाठ्यक्रम निर्माण, सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकनलगायतका कार्य गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगको गठन र कार्यक्षेत्र, कार्यसम्पादनका आधार, प्रशासनिक तथा वित्त व्यवस्थापन, कानून, शैक्षिक योग्यता र पाठ्यक्रम निर्माण, सङ्गठन सुधार र नवप्रवद्र्धन, आयोगका जिम्मेवारीमा देखिएका कठिनाइ र सुझाव गरी सातवटा परिच्छेद प्रतिवेदनमा समावेश छन् ।
प्रतिवेदन पेश कार्यक्रममा आयोगका सदस्य भक्तबहादुर खड्का, आयोग सचिव आनन्द सारु र प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देललगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यो पनि – राष्ट्रिय विज्ञान दिवस मनाइँदै
काठमाडौँ, २८ भदौ (रासस) :शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा अहिलेसम्म भए गरेका प्रगतिबारे जनचेतना फैलाउनका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानकाका साथै आविस्कारबारे जानकारी गराउन दिवस मनाउन लागिएको बताउनुभयो । सचिव आचार्यका अनुसार दिवसका अवसरमा वैज्ञानिक खोजमा संलग्न नवप्रतिभालाई प्रोत्साहनका साथै यस क्षेत्रमा योगदान गरेकालाई सम्मान तथा पुरस्कार वितरण गरिने छ । युवा जनशक्तिलाई स्वदेशमा रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्न दिवस उपयोगी हुनेछ ।
‘विज्ञान र प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ मनाइने दिवसमा विज्ञान पत्रकारिता, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि र जैविक प्रविधिविधामा पुरस्कार घोषणा गरिने छ । विसं २०७० असोज १ देखि राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ ।
प्रतिक्रिया