पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव

पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)ले उपमहासचिव, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा उक्त प्रस्ताव गरिएको हो । महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ । यसअघि पार्टीको नवौँ महाधिवेशनमा दुई उपमहासचिवको व्यवस्था गरिएको छ । विधान संशोधन प्रस्तावमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिवको व्यवस्था गरिएको छ । यसअघि केन्द्रीय कमिटी बैठकमा तीन वा सात उपाध्यक्ष हुनेबारेमा छलफल भएको थियो । तर उपाध्यक्ष भने पहिल्यैै पाँच जना राख्ने व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय कमिटी २२५ जनाको रहने आज पेश गरिएको संशोधन विधानमा उल्लेख छ ।

वैकल्पिक केन्द्रीय सदस्य पनि संशोधित विधानमा हटाइको छ । यसअघि वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको थियो । यस्तै प्रदेश कमिटीका अध्यक्ष केन्द्रीय कमिटीको पदेन सदस्य रहने प्रस्ताव गरिएको छ । निर्वाचितको १० प्रतिशत मात्र केन्द्रीय सदस्यमा मनोनित गर्ने पाउने व्यवस्था संशोधित विधानमा राखिएको छ । यस्तै अन्य पार्टीबाट एमालेमा समाहित हुनेलाई १० प्रतिशतसम्म केन्द्रीय कमिटीमा मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

पार्टीले ४१ सदस्यीय स्थायी कमिटीको व्यवस्था गर्दै पोलिटब्युरो कमिटी हटाउने प्रस्ताव गरेको छ । पार्टी अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय रहने प्रस्ताव विधानमा गरिएको छ । यसैगरी अनुशासन आयोग, निर्वाचन आयोग र लेखा परीक्षण आयोगमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र १२ सदस्य रहने व्यवस्था गरिएको छ । आयोगका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यको मर्यादा केन्द्रीय सदस्य सरह हुने उल्लेख विधानमा छ । यही असोज १७ गतेसम्म सञ्चालन हुने विधान महाधिवेशनले विधान संशाोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन पारित गर्नेछ । महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि सहभागी छन् ।

यो पनि – एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ ः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो “ अगामी एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ । ” नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले उहाँले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा (एमाले)सँग पार्टी एकता गरेको तर एकता नटिकेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले लामो सङ्घर्षपछि प्राप्तउपलब्धी गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको जनाउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यो पनि – कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा अघि बढेको बताउनुभएको छ । कांग्रेसको आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी हुनुहुँदै उहाँले पार्टीले वडास्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गरिरहेको उल्लेख गर्नुभयो ।

लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरु पार्टीले गर्न नसक्ने नेता पौडेलको भनाइ थियो । “लोकतान्त्रिक अभ्यास अवलम्बन गरकै कारण कांग्रेसप्रति आकर्षण बढेको छ”, उहाँले भन्नुभयो । कांग्रेस लोकतन्त्रको पहरेदार भएको चर्चा गर्नुहुँदै उहाँले लोकतन्त्रमाथि कसैले आघात पु¥याउन खोजे त्यसको प्रतिकार गर्ने बताउनुभयो ।

“कांग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका सदैव लडिरहन्छ,” पौडेलले भन्नुभयो, “कांग्रेसभित्र भित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ ।” पार्टीँसँगै समाजलाई लोकतान्त्रिकरण गर्ने अभियानमा आफू लागि परेको उहाँले स्पष्ट पार्नुभयो । क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने पौडलले बताउनुभयो । नेताभन्दा पार्टी बलियो हुनुपर्ने उहाँले सुनाउनुभयो ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, सचिव विश्व बास्तोला, नेता रामचन्द्र पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा आँबुखैरेनी गाउँ कार्यसमितिका नवनिर्वाचित सभापति विष्णु पन्तलगायत पदाधिकारी एवं सदस्यलाई पदस्थापन गराइएको थियो ।