नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको समूहगत छलफल सम्पन्न भएको छ । आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गर्नुहुनेछ ।
प्रदेश नं १ बाट देवराज घिमिरे, प्रदेश नं २ बाट ज्वालाकुमारी साह, वाग्मती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापाले आ–आफ्नो समूहबाट छलफलबाट आएका सुझावलाई प्रस्तुत गर्नेछन् । विशेष कमिटी, सम्पर्क कमिटी र प्रवासबाट सुजिता शाक्य, जनसङ्गठनबाट सुनिता बराल तथा केन्द्रीय निकाय र आयोगबाट भानुभक्त ढकालले समूह नेताका रुपमा तीनवटै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन् ।
टोली नेताले आज सुझाव प्रस्तुत गरेपछि आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने बताइएको छ । विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । विधान महाधिवेशन आइतबारसम्म चल्नेछ ।
यो पनि – जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कांग्रेसको भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रममा उहाँले जीत र हारलाई स्वभाविकरुपमा लिएर एकता र सद्भावको यात्रा बढाउनुपर्नेमा जोड दिनुभयो ।“जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जीत र हारलाई सहजरुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडि बढ्नुपर्छ”, पौडेलले भन्नुभयो, “तबमात्र कांग्रेस बलियो बन्छ ।” लोकतन्त्र बचाउने भनेको कांग्रेसले मात्र भएको उल्लेख गर्दै उहाँले कम्युनिष्टबाट लोकतन्त्र बच्न नसक्ने जिकिर गर्नुभयो । “देशमा लोकतन्त्र बचाउने काम कांग्रेसले जिम्मेवारीपूर्वक बहन गर्नुपर्छ, त्यसको अभिभारा कांग्रेसलाई आइपरेको छ”, उहाँले भन्नुभयो ।
सिंहदरबारका अधिकार गाउँगाउँमा आएको प्रसङ्ग उल्लेख गर्दै नेता पौडेलले कांग्रेसको नेतृत्वमा ल्याएको संविधानमाथि आक्रमण हुनसक्ने भएकाले परिवर्तन बचाउनका लागि अझै पनि सङ्घर्ष गर्न बाँकी रहेको बताउनुभयो । नेपालमा अझै पनि लोकतन्त्र सुनिश्चित नभइसकेको र लोकतन्त्रका लागि लडाई गर्न अझै बाँकी रहेको उहाँले टिप्पणी गर्नुभयो । “नेपाललाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ, त्यसकाविरुद्धमा कम्मर कसेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । एमाले जिम्मेवार प्रतिपक्ष बन्नुपर्ने नेता पौडेलको भनाइ थियो ।
कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा भानु नगरसमितिका नवनिर्वाचित सभापति रामकुमार श्रेष्ठ नेतृत्वको समितिलाई पदस्थापन गराइएको थियो ।
प्रतिक्रिया