नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालका सहयात्रीलाई पुनः एकताका लागि आह्वान गर्नुभएको छ ।पार्टीसम्वद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहयात्रीले खासरूपमा ज्ञान प्राप्त गरेकाले अब एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले जनयुद्धकालका नेताहरू नेत्रविक्रम चन्द, मोहन वैद्य र डा बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल सुरु भएकोसमेत जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले जनता र पार्टी कार्यकर्ता ठीक ठाउँमा भएको र आफूहरू बिग्रिएको बताउँदै अब देश र जनताको हितका लागि पनि एकता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “अहिले बाबुराम पनि ज्ञानी हुनुभएको छ, विप्लवजी पनि ज्ञानी हुनुभएको छ, म पनि ज्ञानी भएको छु । जनता र कार्यकर्ता बिग्रिएका होइनन्, उनीहरू ठीक ठाउँमा छन् । अब फर्केर आत्मसमीक्षा गर्दै जनतामाझ जानुपर्छ ।’’ उहाँले नयाँ आधारमा ज्ञानसहित सबै कम्युनिष्टहरु नयाँ एकतामा आउने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले आफूले देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपा एमालेसँग पार्टी एकता गरेको भए पनि केपी ओलीका कारण त्यो सम्भव नभएको उल्लेख गर्नुभयो । एमालेसँग पवित्र उद्देश्यका साथ एकता गरेको भए पनि केपी ओली छलछाम, धोकाधडीको खेल खेल्ने भएकाले ओलीले कम्युनिष्ट आन्दोलन र मुलुक सङ्कटमा पारेको अध्यक्ष दाहालको भनाइ थियो । अवस्था ठिक नदेखेपछि आफूहरुले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपरेको उल्लेख गर्दै उहाँले आफू कुनै पनि पदको लोभमा नपरेको बताउनुभयो । अध्यक्ष दाहालले एमालेले फैलाएको भ्रमको पर्दाफास गर्दै जनतालाई सही र तथ्यपूर्ण सूचना दिन तथा जनतालाई एकीकृत गर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
यो पनि – सरकार विस्तारबारे आइतबार छलफल हुन्छ : माओवादी
नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज त्यसबारेमा कुनै छलफल भएन । भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।”
यस्तै बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो । प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिनुभयो । माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । यस्तै विशेष समितिका रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो । माओवादीको स्थायी समिति बैठक आइतबार पुनः बस्नेछ ।
प्रतिक्रिया