ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिकको बागडोर नेकपा (माओवादी केन्द्र) र त्यसको नेतृत्वमा निहित रहेको बताउनुभएको छ ।पार्टी स्थायी समितिसमेत रहनुभएका मन्त्री भुसालले माओवादीहरू आफ्नो सङ्गठन, विचार र कार्यदिशामा स्पष्ट रहेको उल्लेख गर्दै देशको सिङ्गो राजनीति चलाउने क्षमता आफ्नो पार्टीमा रहेको दाबी गर्नुभयो ।माओवादी नेतृत्वमा एकताको पहल गर्ने, प्रतिक्रान्तिका विरुद्ध गोलबद्ध गर्ने, अग्रगामी शक्तिलाई मिलाउने क्षमता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशको राजनीति बागडोर माओवादी र माओवादी नेतृत्वले लिएको छ ।”
ललितपुर महानगरपालिका–२२ को वडा सम्मेलनको आज उद्घाटन गर्दै उहाँले जनयुद्धका समयमा जनतासँग नङ र मासुको सम्बन्ध बनाएजस्तै गरी सङ्गठन विस्तार गर्ने बताउनुभयो । “आम पार्टीे कार्यकर्ता र जनताको बलबाट सुदृढ सङ्गठन बनाएर पार्टीलाई अझै सबल बनाउनुपर्छ”, मन्त्री भुसालले भन्नुभयो, “टोल, वडा, पालिकास्तरमा सङ्गठन विस्तार गरेर जानुपर्छ । माओवादीलाई एकताबद्ध गरेर सुदृढ सङ्गठन बनाउँछौँ ।”उहाँले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको स्पष्ट पार्दै पार्टी गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दलाल पूँजीपति वर्गलाई पोस्ने र विदेशी मालिकलाई खुशी पार्ने अभियानमा लागेकाले पछिल्लो अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।
स्थायी समिति सदस्य भुसालले दशवर्षे जनयुद्धको जगमा उठेको जनआन्दोलन र मदेश अन्दोलनमा योगबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता समावेश भएको संविधानलाई समाप्त पार्न षड्यन्त्र गर्ने विरुद्ध एकताबद्ध हुन आग्रह गर्दै श्रमजीवी जनताको पक्षमा लाग्ने पार्टीको पक्षमा जनताको विश्वास रहेको दाबी गर्नुभयो । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं ललितपुर पार्टी जिल्ला इन्चार्ज हरि दाहाल र सहइन्चार्ज दीपेश महर्जनले श्रमजीवी जनताको जनलहर रहेको उल्लेख गर्दै आगामी दिनमा पहिलेजस्तै माओवादीले परिवर्तनको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो । आजै माओवादी केन्द्रले ललितपर महानगरको वडा नं २६ र २७ को वडा भेला गरेको छ ।
यो पनि – जनयुद्धकालका सहयात्रीलाई एकतामा आउन अध्यक्ष प्रचण्डको आग्रह
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालका सहयात्रीलाई पुनः एकताका लागि आह्वान गर्नुभएको छ ।पार्टीसम्वद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहयात्रीले खासरूपमा ज्ञान प्राप्त गरेकाले अब एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले जनयुद्धकालका नेताहरू नेत्रविक्रम चन्द, मोहन वैद्य र डा बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल सुरु भएकोसमेत जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले जनता र पार्टी कार्यकर्ता ठीक ठाउँमा भएको र आफूहरू बिग्रिएको बताउँदै अब देश र जनताको हितका लागि पनि एकता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “अहिले बाबुराम पनि ज्ञानी हुनुभएको छ, विप्लवजी पनि ज्ञानी हुनुभएको छ, म पनि ज्ञानी भएको छु । जनता र कार्यकर्ता बिग्रिएका होइनन्, उनीहरू ठीक ठाउँमा छन् । अब फर्केर आत्मसमीक्षा गर्दै जनतामाझ जानुपर्छ ।’’ उहाँले नयाँ आधारमा ज्ञानसहित सबै कम्युनिष्टहरु नयाँ एकतामा आउने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले आफूले देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपा एमालेसँग पार्टी एकता गरेको भए पनि केपी ओलीका कारण त्यो सम्भव नभएको उल्लेख गर्नुभयो । एमालेसँग पवित्र उद्देश्यका साथ एकता गरेको भए पनि केपी ओली छलछाम, धोकाधडीको खेल खेल्ने भएकाले ओलीले कम्युनिष्ट आन्दोलन र मुलुक सङ्कटमा पारेको अध्यक्ष दाहालको भनाइ थियो । अवस्था ठिक नदेखेपछि आफूहरुले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपरेको उल्लेख गर्दै उहाँले आफू कुनै पनि पदको लोभमा नपरेको बताउनुभयो । अध्यक्ष दाहालले एमालेले फैलाएको भ्रमको पर्दाफास गर्दै जनतालाई सही र तथ्यपूर्ण सूचना दिन तथा जनतालाई एकीकृत गर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
यो पनि – सरकार विस्तारबारे आइतबार छलफल हुन्छ : माओवादी
नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज त्यसबारेमा कुनै छलफल भएन । भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।”
यस्तै बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो । प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिनुभयो । माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । यस्तै विशेष समितिका रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो । माओवादीको स्थायी समिति बैठक आइतबार पुनः बस्नेछ ।
प्रतिक्रिया