नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर अधिवेशनको आज उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा लाग्नुपर्ने बताउनुभएको हो ।
सहमहामन्त्री डा महतले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बने पनि कांग्रेसले चाहेजस्तो काम गर्न नसकेको स्पष्ट पार्नुभयो । अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकाले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उहाँको भनाई थियो । उहाँले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको भयबाट मुक्ति दिनेलगायत विषयमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
क्रियाशील सदस्य नै कांग्रेसको जग भएकाले निरन्तर सक्रिय रहन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । पार्टीको विचार जनतासमक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको उहाँको भनाइ थियो । उहाँले सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान हुँदै संविधानसभाबाट संविधान जारी गर्ने कार्य कांग्रेसको नेतृत्वमा सम्पन्न भएको बताउनुभयो । पार्टी र संस्थालाई केन्द्रमा राखेर कांग्रेस अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
यो पनि – परिवर्तनका लागि गान्धीको अहिंसा र शान्तिको बाटोको विकल्प छैन ः नेता निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तनका लागि महात्मा गान्धीको अहिंसा र शान्तिको बाटोको अरु विकल्प नरहेको बताउनुभएको छ ।गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि शान्ति विषयक कार्यक्रममा उहाँले विसं २०६२÷६३ को आन्दोलन पनि अहिंसा र शान्तिकै बाटोबाट सफल भई देशमा अहिलेको परिवर्तन सम्भव भएको बताउनुभयो । विसं २०७४ को निर्वाचनमा अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध नभएका दलले बहुमत पाएकैले देश अहिलेको अवस्थामा पुगेको उल्लेख गर्नुहुँदै उपसभापति निधिले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी पार्टीको नीति र कार्यक्रम तय हुने जानकारी दिनुभयो ।
“सरकार गठन भएको ८१ दिनसम्म पनि मन्त्रिमण्डलले पूर्णता नपाउनु कांग्रेस, गठबन्धन दल र देशकै लागि चिन्ताको विषय हो, ढिला भयो, अब मन्त्रिमण्डलले छिटो गरी पूर्णता पाउनुपर्छ”, उहाँले भन्नुभयो । अहिंसा एवं शान्तिका माध्यमबाट भारतमा स्वतन्त्रता, भारतीय सुरक्षा प्रणाली बलियो बनाउन र आर्थिक विकास गर्नसमेत नेपालको सहयोग रहेको उल्लेख गर्नुहुँदै नेता निधिले भारतबाट पनि त्यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले विगत तीन वर्षमा संस्थागतरूपमा ठूला भ्रष्टाचार एवं अनियमितताका घटना भएको उल्लेख गर्नुहुँदै ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल ट्रष्टको जग्गा लिज प्रकरण, वाइडबडी, रेल खरिदजस्ता विषयमा छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा समिति गठन गर्न सरकारसँग माग गर्नुभयो ।
सरकार, पार्टीलगायत संस्थालाई विधिविहीन तरिकाले चलाउनु पनि हिंसा भएको उल्लेख गर्नुहुँदै उहाँले कानुनको शासनअनुसार देश चलाए मात्र लोकतान्त्रिक व्यवस्था बलियो हुने बताउनुभयो । पार्टीको आगामी १४औँ महाधिवेशनले नीति प्रधान दलका रूपमा कांग्रेसलाई स्थापित गर्ने उहाँको विश्वास थियो ।
पूर्वमन्त्री होमनाथ दाहालले लोकतन्त्र बचाउन सक्ने नेतृत्व पार्टीको १४औँ महाधिवेशनले निर्वाचित गर्ने बताउनुहुँदै ऐन नबनी रेल किनेर वर्ष दिनसम्ममा त्यसका सबै सामान चोरी हुने अवस्थामा पु¥याएको घटनाका विषयमा छानबिन गर्न माग गर्नुभयो । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका अध्यक्ष विनोद भट्टराईले नेपालको वर्तमान प्रणालीले भ्रष्टाचार बढाउनेमात्र काम गरेकाले सांसद विकास कोष, उपभोक्ता समितिका माध्यमबाट हुने कामका विषयमा पुनःविचार गरिनुपर्ने विचार राख्नुभयो । रु १० मा हुने काम उपभोक्ता समितिले रु ५० मा गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले यसले संस्थागतरूपमा अनियमितता बढ्दै गएर नागरिक असन्तुष्ट हुन थालेको बताउनुभयो ।
डेमोक्र्याटिक लयर्स एशोसिएशनका महासचिव लक्ष्मी दाहालले गान्धीले अहिंसा, सरलता र स्वतन्त्रता तीन सूत्रमा गर्नुभएको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घले उहाँको जन्मजयन्तीका अवसरमा २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा घोषणा गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले स्वतन्त्रता स्थापनाका लागि शान्ति एवं अहिंसाको बाटो नै उपयुक्त भन्ने गान्धीवादी विचारको सान्दर्भिकता आणविक होडबाजीको युगमा पनि उत्तिकै बढेको बताउनुभयो ।
प्रतिक्रिया