खलङ्गा, १७ असोज (रासस) : पछिल्लो समय जुम्लाका किसानले रैथाने खेतीलाई प्रवद्र्धन गर्न थालेका छन् । स्थानीय गैरसरकारी संस्था लिवडद्वारा सञ्चालित उत्पारिवर्तशील बाली प्रजनन (इपिबी) परियोजनाले यहाँका किसानलाई रैथाने खेतीदेखि अन्य अग्र्यानिक बाली उत्पादन र संरक्षणमा सहयोग गर्न थालेको छ ।
लोपोन्मुख कालीमार्सी धान, चिनो कागुनो, कोदो र सिमीलगायतका रैथाने बाली संरक्षण र प्रवद्र्धन गर्न थालिएको हो । बढ्दो बजार माग र महत्व बुझेपछि यहाँका किसान पछिल्लो समय रैथाने बालीको प्रवद्र्धनमा जुटेका हुन् । सो सस्थाले यहाँको रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउँदै आएको छ । किसान राजकन्या उपाध्यायलले रैथाने बालीका खेतीमा आकर्षित भएको बताउनुभयो । अनुभव साटासाट गर्नका लागि सो संस्थाले लमजुङका किसानलाई भ्रमण गराउन जुम्ला ल्याएको छ ।
खेती प्रणाली, उत्पादन वृद्धि सङ्कलन भण्डार, बाली दर्ता तथा बजारीकरणलगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने लिवर्ड संस्थाले जिल्लाका किसान र लमजुङका किसानबीच अन्तक्र्रियासमेत गरेको छ । माग बढ्दै गएपछि कालीमार्सी धान, सिमी, चिनो कागुनोलगायतका रैथाने बालीको खेतीमा अग्रसर भएको तातोपानी–४ का किसान उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण बहुरुपी जातको खेतीमा जोड दिन आवश्यक छ । रैथाने बालीको माग बढेको छ । हामी रैथाने बाली उत्पादन, प्रवद्र्धन तथा खेती विस्तारमा जुटेका छौँ ।” मार्सी धान, सिमी मात्र नभई हाम्रा हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादन वृद्धि तथा खेती विस्तारका लागि अनुसन्धानलाई जोड दिनुपर्छ । उत्पादन, सङ्कलन, लेबलिङ, प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने उहाँले जानकारीदिनुभयो ।
लिवर्डले तातोपानी गाउँपालिकास्थित एैरेनीको एक मार्सी फाँटमा विगतका वर्षदेखि अनुसन्धान गर्दै आएको छ । जिल्लामा सञ्चालित धान तथा सिमीका बहुरुपीय जातहरुको अनुगमन गर्न जुम्ला पुगेका लिवर्डका बाली प्रजनक श्रीप्रसाद न्यौपानले मार्सी धानको उत्पादन वृद्धिका लागि बहुरुपीय जातको खेतीमा जोड दिनुपर्ने बताउनुभयो । यहाँमै उत्पादन हुने विभिन्न जात मिसाई बहुरुपी जातको खेती गर्ने, बाली समूह उपसमूह बनाउने, बजारीकरण सहजका लागि बाली दर्ता प्रक्रिया सुरु गर्नेजस्ता काममा लिवर्ड प्राविधिक सहयोग गर्ने छ । समान प्रकृति भएका एकै बालीभित्रका जात एकापसमा मिसाएर खेती गर्दा बढी जलवायु अनुकुलनशील तथा दिगो उत्पादन दिनसक्ने खालका हुन्छन् । यहाँको हावापानीमा बहुरुपीय जातको खेती उपयुक्त हुने, लमजुङ जिल्लामा पनि लिवर्डले धान र कागुनो बालीमा काम गर्दै आएको जनाइएको छ ।
किसान भक्तबहादुर गिरीले लिवर्डकै सहयोगले लमजुङमा लोप हुन थालेको कागुनो खेती विस्तार भएको छ । बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको अनुभव रहेको छ । गत वर्ष मात्रै २० मुरी कागुनो उत्पादन भएको किसान गिरीले बताउनुभयो । लमजुङकी किसान सानुमाया गुरुङले पनि लोप भएको कागुनोलाई पकेट क्षेत्रकै रूपमा खेती गरेर उत्पादन गरेको जानकारी दिनुभयो । लमजुङको कागुनोको खिर दुई वर्ष पहिले काठमाडौँमा भएको खाद्य मेलामा प्रथम भएपछि अझै कागुनो खेतीप्रति आकर्षित भएको बताउनुभयो ।
मार्सीको उत्पादन, भण्डारण तथा खेती प्रक्रियाबारे पनि जुम्ली किसानले आफ्ना अनुभव लमजुङका किसानलाई सुनाएका थिए । स्थानीय तहमा ठोस कृषि नीति नहुनु, कृषिमा अपर्याप्त बजेट, युवाशक्ति पलायन हुनुलगायतका विभिन्न कारणले उत्पादन वृद्धि नभएको उल्लेख गरे । सो सस्थाले एैरेनीको मार्सी फाँटमा मार्सीको अनुसन्धान गर्न थालेपछि उत्पादन बढ्न थालेको हो । उत्पादन वृद्धिका लागि आगामी वर्ष बहुरुपी जातको मार्सी खेती गर्ने सोचमा रहेको यहाँका किसान बताउँछन् ।
प्रदेश सरकारले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरे पनि त्यति प्रभावकारी हुनसकेको छैन । किसान आफैँ रैथाने बाली संरक्षणमा जागरुक भएका छन् । जुम्ली मार्सी, सिमी, चिनो, कागुनो, कोदो, फापरलगायतका रैथाने बालीको खेती, उत्पादन वृद्धि, सङ्कलन बजारीकरण नीति निर्माणका लागि स्थानीय तहदेखि प्रदेश केन्द्र तहमा बहस गर्ने जनाइएको छ । सो संस्थाले लमजुङका किसानलाई जुम्लाको मार्सी धानको खेतीबारे कृषि भ्रमणका लागि ल्याएको छ ।
प्रतिक्रिया