सिमकोटमा खाद्यान्न छुटमा बिक्री सुरुवात

सिमकोटमा खाद्यान्न छुटमा बिक्री सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ । कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । जिल्लामा पहिलोपटक सो पालिकामा दशैँ–तिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो

केन्द्रबाट दुई हजार ३०० क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल रु ५०० छुटमा बिक्री वितरण गरिएको उहाँले बताउनुभयो । जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ । यसले गर्दा सेवाग्राहीले २५ केजीमा रु १२५ र ३० केजीमा रु १५० छुट पाएका भएका छन् भने एक क्विन्टल खाद्यान्न खरिद गर्दा रु ५०० छुट पाएका हुन् ।

कम्पनीले ३० केजीको खाद्यान्न बिक्री वितरण गरिरहेको छ । यसमा प्रतिबोरामा रु १५० छुट दिइएको छ । जिल्लामा रहेका अन्य डिपो तथा बिक्री केन्द्रमा भने स्थायी कर्मचारी नभएका कारण छुटको खाद्यान्न बिक्री नगरिएको छैन । ती डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न हाल नभएको शाखाले जनाएको छ ।हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरी आठवटा डिपो र बिक्री केन्द्र छन् । सदरमुकाम सिमकोटमै रहेको कम्पनीको कार्यालयबाट मात्रै छुटमा बिक्री सुरु गरिएको छ । यस वर्ष छुटमा खाद्यान्न बिक्री हुँदा यहाँका नागरिक खुसी छन् । छुटले धेरै राहत मिलेको स्थानीय कमल भण्डारीले जानकारी दिनुभयो । हरेक वर्ष दशैँ–तिहारजस्ता चाडबाडमा कम्पनीबाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्न निर्देशन आउने गरे पनि यसअघि कहिल्यै उक्त खाद्यान्न बाँड्ने गरिएको थिएन ।

यो पनि – कायमै छ धर्मभकारीमा अन्न भर्ने प्रचलन

गलेश्वर, १७ असोज (रासस) ः म्याग्दीको ताकम गाउँमा वर्षौँदेखि चल्दै आएका धर्मभकारीमा अन्न भर्ने चलन कायमै छ । प्रविधिको पहुँच र यातायातको सुविधाका कारण कतिपय स्थानीय चलन, सीप र प्रविधि लोप भइरहेका अवस्थामा पनि सो चलन अहिले पनि जीवन्त छ । धवलागिरि गाउँपालिका–७ ताकममा प्राचीन चलनलाई निरन्तरता दिने उद्देश्यले सहकारी संस्था नै गठन गरेर अन्न भकारीमा अन्न भर्ने र सङ्कट परेको व्यक्तिलाई वितरण गर्ने गरिएको छ ।

पहिला–पहिला अतिवृष्टि, अल्पवृष्टि, अनावृष्टि, प्राकृतिक प्रकोपलगायतका समस्या आइपर्दा अन्नको सङ्कट हुन नदिन धेरै ठाउँमा यस्ता धर्मभकारी स्थापना हुने गरेको बताइएको छ । सडकको पहुँच पुगेपछि आयातित खाद्यान्नको उपलब्धताले यी चलन अन्य ठाउँमा हराउँदै गएका छन् । सो गाउँमा प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्थाले साविकको ताकम गाविस–४ मा सञ्चालन गरेको धर्मभकारी अझैसम्म पनि सञ्चालनमा रहेको र यसलाई थप व्यवस्थित गर्दै लैजान थालिएको ताकमका युवा तथा धर्मभकारीका संयोजक गोपाल आचार्यले जानकारीदिनुभयो ।

“पहिला गाउँमा चाडबाडको समयमा चामल नपाइने भएकाले मङ्सिरमा धान उठाएपछि सदस्यसँग सङ्कलन गरेर धर्मभकारीमा राख्ने र चाडबाडको सिजन पारेर भदौ असोजमा आवश्यक पर्ने सदस्यलाई धान उपलब्ध गराउँदै आइन्थ्यो”, उहाँले भन्नुभयो । उहाँका अनुसार अन्न भकारीलाई व्यवस्थित गर्नका लागि झनबहादुर थापा र उहाँकी धर्मपत्नी लाटीदेवी थापाबाट रु पाँच लाख बराबरको जग्गा दानमार्फत प्राप्त भएपछि सोही जग्गामा भवन निर्माण गरेर धर्मभकारी स्थापना गरिएको छ ।

“धर्मभकारी धेरै पहिल्यैबाट सञ्चालित थियो, जग्गा प्राप्त भएपछि त्यसलाई थप व्यवस्थापनका लागि विसं २०६८ मा प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सञ्चालन गर्दै आएका छौँ”, प्रगतिशील महिला बचत तथा कृषि सहकारी संस्थाका अध्यक्ष रुक्मिणी पौडेलले भन्नुभयो । उहाँका अनुसार धर्मभकारीमा अहिले ४५ मुरी धान जम्मा भएको छ । आगामी दिनमा कोदो, मकैलगायतका अन्य अन्न पनि सङ्कलन गर्ने योजनामा सहकारी रहेको छ ।

नब्बे जना सेयर सदस्य रहेको संस्थाले सेयर सदस्यसँग सेयरका रुपमा धान सङ्कलन गर्ने र सङ्कटका समयमा सदस्यलाई नै उपलब्ध गराउँदै आएको छ । संस्थाबाट धान लैजाने सदस्यले मङ्सिरमा ५ पाथीको थप एक पाथीसहित संस्थामा धान बुझाउनु पर्दछ । धान लगेका सदस्यले मङ्सिरमा धान नै उपलब्ध गराउनुपर्छ, धानको सट्टा पैसा दिन पाइँदैन । “चाडबाडका समयमा चामल अभाव हुने भएकाले विगतमा यो निकै प्रभावकारी थियो”, संस्थाका सल्लाहकार आचार्यले भन्नुभयो, “पछिल्लो समय पैसा र खाद्यान्नको अभाव हुन छाडेपछि धर्मभकारीको महत्व पनि क्रमशः कम हँुदै गएको छ ।”

पहिले–पहिले सडक आइपुगेको थिएन, चाडबाडको समयमा चामल नपाइने समस्या थियो, त्यतिबेला धर्मभकारी आवश्यक ठानेर स्थानीय अगुवाहरूले यसको सञ्चालन गर्नुभयो, हराउँला कि भन्ने चिन्ता भएपछि सहकारीमार्फत व्यवस्थापन गर्दै आएको स्थानीयवासीको भनाइ छ । गाउँमा चाडबाडका समयमा चामलको समस्या हुन नदिन, महिलालाई सङ्गठित भएर काम गर्न र नेतृत्व विकासका लागि सहयोग पुगोस् भनेर धर्मभकारी सञ्चालन गरिएको र यसको संरक्षणको जिम्मा महिला सहकारीलाई दिएको संयोजक आचार्यले जानकारी दिनुभयो ।