राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माण गर्नेगरी आयोगले काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले आयोगलाई आगामी दिनमा अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक अधिकारको संरक्षण र संवद्र्धन तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिनुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष पराजुलीले आयोगबाट आव २०७७/७८ मा सम्पादित काम कारबाहीलाई समेटी तयार गरिएको चौधौँ वार्षिक प्रतिवेदनमा समेटिएका मुख्य–मुख्य विषयहरू बारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो । प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा, जया घिमिरे र सावित्रा कुमारी शर्मासहित आयोगका सचिव, उपसचिवलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

यो पनि- कांग्रेस लोकतन्त्रवादी हुनुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताउनुभयो ।

पौडेलले भन्नुभयो, “सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेस हो, तर के साँच्चै कांग्रेस आफैँमा लोकतन्त्रवादी छ त भन्ने प्रश्न चिह्न खडा भएको छ ।” कांग्रेसको नेतृत्व गर्ने मान्छेले लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उहाँले पार्टीभित्र लोकतन्त्रको आफूले सदैव वकालत गर्दै आएको दाबी गर्नुभयो ।

पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकता र सद्भावको यात्रा अगाडि बढाउन सुझाव दिनुभयो । “जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जित र हारलाई सहज रुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडी बढ्नुपर्छ,” वरिष्ठ नेता पौडेलले भन्नुभयो, “तबमात्र काङ्ग्रेस बलियो बन्छ ।” सत्तरी वर्ष लडेर ल्याएको संविधानले महिला, दलित, जनजातिलाई अधिकार दिलाएको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले सिंहदरबारका अधिकार गाउँ गाउँमा आएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, जिल्ला सभापति वैकुण्ठ न्यौपाने लगायतले सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिनुभयो ।

पौडेलको दौडधुप

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दावेदार पौडेल तीनदेखि गृह जिल्ला तनहुँमा हुनहुन्छ । महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा निर्वाचन सम्पन्न भएपछि वरिष्ठ नेता पौडेल शुक्रबारदेखि जिल्लाका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट गरिरहनुभएको छ ।

शुक्रबार गृह जिल्ला आउनुभएका पौडेल सोही दिन नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी हुनुभएको छ । शनिबार भानु नगर समितिको पदस्थापन कार्यक्रम र बन्दिपुरमा कार्यकर्ता भेटघाटमा सहभागी हुनुभएका पौडेल आज व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुनुभयो ।