क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल

क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कप्तान मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्नेमा जोड दिनुभयो । “यो भएन त्यो भएन भनेर गुनासो गर्ने होइन, जे छ त्यसैमा चित्त बुझाउँदै अगाडि बढ्नुपर्छ, समग्र खेल क्षेत्रमा लगानी कम छ”, उहाँले भन्नुभयो, “तर सरकारको लगानीप्रति सन्तुष्ट छु ।” खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताउँदै मल्लले क्रिकेट रङ्गशाला बनाउनेभन्दा पनि त्यसको मापदण्डमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

क्रिकेटकै कारण आज आफू यो स्थानमा रहेको बताउँदै मल्लले भन्नुभयो, “मलाई अहिलेसम्म जति पनि उपलब्धि हासिल भयो, सबै क्रिकेटबाटै भयो । धैर्यता, मिहिनेत र लगनशीलता भए सफलता हासिल गर्न सकिन्छ ।” मल्लले हरेक युवाले आआफ्नो रुची अनुसारको काम र पेशा अवलम्बन गर्नुपर्ने बताउँदै क्रिकेट रोजेकामा आफू सन्तुष्ट रहेको बताउनुभयो । सो क्रममा कप्तान मल्लले क्रिकेटका लागि आफूले गरेको सङ्घर्षका बारेमा युवामाझ अनुभव राख्नुभएको थियो ।

व्यास नगरपालिकाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेटेर गठन गरिएको परिषद्का सदस्यलाई शनिबार र आइतबार अभिमुखीकरण प्रदान गरिएको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले समाज विकासको अभियानमा युवालाई जोड्न चाहेको बताउनुभयो । युवासँग प्रतिभा रहेकाले युवाको प्रतिभा पहिचान गरी सामाजिकीकरणको अभियानमा नगरपालिका रहेको न्यौपानेले बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले युवा परिवर्तनका संवाहक भएकाले युवाले आफ्नो क्षमता पहिचान गर्न सक्नुपर्नेमा जोड दिनुभयो । युवा अभियान्ता अपार पौडेलले युवा सधैँ सकारात्मक हुनुपर्ने बताउँदै रचनात्मक काममा युवाको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । युवा नेतृ एलिजा ढकालले अबको नेतृत्व गर्ने भनेको युवाले नै भएकाले युवाले चाहे परिवर्तन सम्भव रहेको बताउनुभयो ।

यो पनि – ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : सविन, ढुकु र शङ्खमूलको जीत

अभिनाश तामाङको दोहोरो ह्याट्रिकसँगै घरेलु टोली सविन मेमोरियलले पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा महत्वपूर्ण जीत दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको प्रतिस्पर्धामा सविन मेमेरियलले प्रभातफेरी युथ क्लबमाथि ८–४ गोल अन्तरको जीत निकालेको हो ।जीतसँगै आठ खेलबाट १३ अङ्क जोडेको सविनको ‘प्ले अफ’मा पुग्ने सम्भावनासमेत कायमै राखेको छ । समान खेलबाट प्रभातफेरीको भने सात अङ्क मात्र छ । तामाङले पहिलो हाफको पाँचौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकामा १२औँ मिनेटमा दुई गोल गर्दै पहिलो ह्याटिक गर्नुभयो ।

यसैगरी दोस्रो हाफको २२औँ र २३औँ तथा ३०औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गर्नुभएको थियो । लिगको एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्नुभएका तामाङ लिगकै सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा रहनुभएको छ । उहाँले हालसम्म १८ गोल गर्नुभएको छ । सविनका मनोज गुरुङले दुई गोल गर्नुभएको थियो ।प्रभातफेरीका डोना थापाले दुई तथा एक्लेस कार्की र नवीन लामाले एक/एक गोल गर्नुभयो । यसैगरी ढुकु फुटसल केन्द्र र मछिन्द्र स्काइ गोल्सका बीचको खेलमा ढुकु फुटसल विजयी भएको छ । ढुकुले मछिन्द्रलाई ७–५ गोल अन्तरले पराजित गर्न सफल भयो ।

ढुकुको जीतमा विक्रान्त नरसिंह रानाले चार, उरकेन शेर्पा र प्रसिद्ध मगरले एक÷एक गोल गर्नुभयो । मछिन्द्रका लागि अमित तामाङले दुई तथा मनोज राई, आशिष सुनम र कप्तान संजोग चाम्लिङले समान एक÷एक गोल गर्नुभयो । अन्तिम खेलमा शङ्खमूल फुटसलले झरना फुटसललाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगायो । शङ्खमूलका जेनिस प्रजापतिले ह्याट्रिक गर्नुभयो । योगेश श्रेष्ठ, सविन खड्का, आरजु सिंह र क्रिजल खड्काले समान एक/एक गोल गर्नुभएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले देशमै पहिलोपटक फुटसल लिगको आयोजना गरेको हो । असोज २ गतेदेखि सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ । लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।