नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । कांग्रेस काठमाडौँ महानगरपालिकाको आज भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।
नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुनुहुन्छ । यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत केसीले बताउनुभयो ।
लामो समयपछि भएको काठमाडौँ महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौँको मतदान भएको थियो । काठमाडौँ महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा ३२ वडा रहेका छन् ।
यसअघि काठमाडौँको सात निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले राससलाई जानकारी दिनुभयो । दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन समिति अगाडि बढिरहेको छ ।
यो पनि – बझाङमा कांग्रेस अधिवेशन स्थगन
नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएपछि नेतृत्व चयन स्थगन भएको छ । जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि पार्टीको सम्पर्कमा नरहेको नेताले बताएका छन् ।
जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा चलिरहेका बेला नेतृत्व चयन स्थगन भएको हो । पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजङ्गबहादुर सिंह, पूर्वजिल्ला सभापति सत्यराज भण्डारी र संविधानसभा सदस्य चन्द्रा जोशीको पक्षबाट खडक बोहरा सभापतिका उमेदवार छन् । अर्को समूहबाट रमेश भण्डारी सभापतिका दाबेदार छन् । भण्डारीलाई पूर्वराज्य मन्त्री नरेशबहादुर सिंह तथा जिल्ला सभापति पृथ्वी सिंहको समर्थन छ ।
चुनावी प्रतिस्पर्धामा आफूले समर्थन गरेको उम्मेद्वारले हार्ने देखिएपछि नरेशबहादुर सिंह तथा पृथ्वीबहादुर सिंह समर्थनका नेता कार्यकर्ताले मतदान अधिकृतलाई जिल्ला छोड्न बाध्य पारिएको अर्को पक्षको आरोप छ तर त्यो आरोपमा कुनै सत्यता नभएको, उल्टै मतदान अधिकृत भट्टले भौतिक आक्रमणको धम्की आएको भन्दै गुनासो गरेको नेता नरेशबहादुर सिंहले बताउनुभयो । प्रमुख मतदान अधिकृत भट्टलाई पृथ्वीबहादुर तथा नरेशबहादुर पक्षबाट शुक्रबार तुरुन्त जिल्ला छोड्नुपर्ने अन्यथा हात खुट्टा भाँच्ने धम्की आएकाले मतदान अधिकृतले जिल्ला छोड्नुपरेको कांग्रेसको अर्को पक्षले आरोप लगाएको छ ।
आरोप निराधार भएको नेता नरेशबहादुरको दाबी छ । प्रमुख मतदान अधिकृत भट्टलाई भने सम्पर्क भएको छैन । उनको मोबाइल स्वीच अफ आइरहेको छ । जिल्ला अधिवेशनका लागि आएका प्रमुख मतदान अधिकृत नै सम्पर्कविहीन भएपछि बझाङको जिल्लास्तरको नेतृत्व चयन गर्न तथा मतदान गर्न सदरमुकाम आएका नेता कार्यकर्ता घर फर्केका छन् । अधिवेशन कहिले हुने भन्ने अनिश्चित भएको छ ।
प्रतिक्रिया