कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र विजयी

कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित हुनुभएको हो । यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित हुनुभएको छ । सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो । एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो । तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहुनुभएका छविलाल गुरुङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

यो पनि – दोहनमा दूरबिनडाँडा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा र गिट्टी दोहन भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिनै स्थानीय तहलाई राजस्व नतिरी स्काभेटर प्रयोग गरेर मनपरि ढुङ्गा उत्खनन् भएको हो । पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक आयोजनाको ठेकेदार कम्पनी मोतिदान–जयमाता जेभीले पहाडबाट आफूखुसी मनपरि शैलीमा ढुङ्गा उत्खनन गरेको स्थानीयवासी सन्तोष बरुवालले बताउनुभयो । पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको उहाँले बताउनुभयो । “सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमतिविपरीत पहाड खनेर रित्तायो”, बरुवालले भन्नुभयो ।

विसं २०७६ भदौमा वडाध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले दूरबिनडाँडामा सडकले ओगट्ने ८ मिटर र चार मिटर भित्रबाट ढुङ्गा निकाल्न दिने सहमति भएको थियो तर ठेकेदारले सहमतिविपरीत जङ्गल मासिने, पहिरो चल्ने गरी धेरैभित्रसम्म गएर पहाडबाट ढुङ्गा निकालेको वडा अध्यक्ष बरुवालले बताउनुभयो ।

“उत्खनन रोक्नका लागि टोल सुधार समितिले वडा र गाउँपालिका कार्यालयमा निवेदन दिएका थिए”, उहाँले भन्नुभयो, “ठेकेदार र स्थानीयवासीसँग थप छलफल गरेर निर्णय नहुँदासम्मका लागि बिहीबारदेखि पहाड उत्खनन् गर्न रोक लगाएका छौँ ।” ठेकेदार कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले डिजाइन, इस्टिमेटअनुसार स्थानीयसँग सहमति गरेर ढुङ्गा निकालेको बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावितअन्तर्गत पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै चित्रे जोड्ने १८.५ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७७ जेठ २२ गते ठेक्का सम्झौताको म्याद सकिएको छ । आयोजनाको हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । कोरोनाको जोखिम, लकडाउन र पहिरोको बाहनामा ढिलासुस्ती गरेका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक अलपत्र भएको स्थानीयको भनाइ छ । हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्रेसमेत गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो ।