नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याउनुभयो ।एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उहाँले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसको १४औँ महाधिवेशनले नयाँ सन्देश दिने पौडेलको भनाइ छ । कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “नेताहरुको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।”
कांग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्ने बताउँदै उहाँले आज जनताले त्यस्तो कांग्रेसको खोजी गरिरहेको बताउनुभयो । “चौधौँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो । धु्रवीकरणमा नलागी कांग्रेस एक बनाउन लागौँ ।” कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सङ्गठनलाई बलियो बनाउन नयाँ पुस्ता र नयाँ विचार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
यो पनि – सङ्खुवासभा कांग्रेस सभापतिमा खड्का
नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा दिपक खड्का निर्वाचित हुनुभएको छ । एक हजार १९८ मत ल्याएर खड्का विजयी हुनुभएको हो भने खड्काका निकटतम प्रतिद्वन्द्वी राईबहादुर राईले ११० मत प्राप्त गर्नुभएको छ । खड्काले राईलाई एक हजार ८८ मत अन्तरले पराजित गर्नुभएको हो । खड्का २०७० सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभामा निर्वाचित भई खानेपानी तथा सरसफाइ राज्यमन्त्री हुनुभएको थियो ।
उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ ल्याएर विजयी हुनुभएको छ । सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी हुनुभएको छ । जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिबार मतदान भएको थियो । जिल्ला कार्यसमितिमा ४२ र केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २६ पदका लागि मतदान भएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना आइतबार रातिबाट रोकिएको छ ।
यो पनि – कांग्रेस पालिका अधिवेशन ः चन्द्रागिरिमा घनश्याम गिरी निर्वाचित
नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी निर्वाचित हुनुभएको छ । चन्द्रागिरि नगरपालिकाको आइतबार राति सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँ चन्द्रागिरि नगरपालिकाका निर्वाचित नगरप्रमुखसमेत हुनुहुन्छ । यस्तै, दुई उपसभापतिमा राजेन्द्रविक्रम बानियाँ र इन्द्रावती श्रेष्ठ, दुई सचिवमा नविन महर्जन र राजेन्द्र महर्जन, दुई सहसचिवमा भुवन श्रेष्ठ र जीवनकुमारी गिरी, दुई कोषाध्यक्षमा विनु बस्नेत र मन्जयप्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । चन्द्रागिरि नगरपालिका काठमाडौँभित्रकै महानगरपालिका पछिको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा छन् । काठमाडौँभित्र सर्वसम्मत नेतृत्व छनोट हुने चन्द्रागिरि नगरपालिका पहिलो हो ।
यसअघि काठमाडौँ महानगरपालिकासहित आठ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । कीर्तिपुर नगरपालिकाको सर्वसम्मत नेतृत्व चयन गर्ने भएकाले नेतृत्व चयनमा ढिला भएको हो भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले राससलाई जानकारी दिनुभयो । दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समिति अगाडि बढिरहेको छ ।
यो पनि- कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र विजयी
नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित हुनुभएको हो । यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित हुनुभएको छ । सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो । एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो । तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहुनुभएका छविलाल गुरुङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
यो पनि – दोहनमा दूरबिनडाँडा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा र गिट्टी दोहन भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिनै स्थानीय तहलाई राजस्व नतिरी स्काभेटर प्रयोग गरेर मनपरि ढुङ्गा उत्खनन् भएको हो । पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक आयोजनाको ठेकेदार कम्पनी मोतिदान–जयमाता जेभीले पहाडबाट आफूखुसी मनपरि शैलीमा ढुङ्गा उत्खनन गरेको स्थानीयवासी सन्तोष बरुवालले बताउनुभयो । पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको उहाँले बताउनुभयो । “सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमतिविपरीत पहाड खनेर रित्तायो”, बरुवालले भन्नुभयो ।
विसं २०७६ भदौमा वडाध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले दूरबिनडाँडामा सडकले ओगट्ने ८ मिटर र चार मिटर भित्रबाट ढुङ्गा निकाल्न दिने सहमति भएको थियो तर ठेकेदारले सहमतिविपरीत जङ्गल मासिने, पहिरो चल्ने गरी धेरैभित्रसम्म गएर पहाडबाट ढुङ्गा निकालेको वडा अध्यक्ष बरुवालले बताउनुभयो ।
“उत्खनन रोक्नका लागि टोल सुधार समितिले वडा र गाउँपालिका कार्यालयमा निवेदन दिएका थिए”, उहाँले भन्नुभयो, “ठेकेदार र स्थानीयवासीसँग थप छलफल गरेर निर्णय नहुँदासम्मका लागि बिहीबारदेखि पहाड उत्खनन् गर्न रोक लगाएका छौँ ।” ठेकेदार कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले डिजाइन, इस्टिमेटअनुसार स्थानीयसँग सहमति गरेर ढुङ्गा निकालेको बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावितअन्तर्गत पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै चित्रे जोड्ने १८.५ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको थियो ।
विसं २०७७ जेठ २२ गते ठेक्का सम्झौताको म्याद सकिएको छ । आयोजनाको हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । कोरोनाको जोखिम, लकडाउन र पहिरोको बाहनामा ढिलासुस्ती गरेका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक अलपत्र भएको स्थानीयको भनाइ छ । हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्रेसमेत गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो ।
प्रतिक्रिया