चौरजहारीमा किसानलाई पेन्सन

चौरजहारीमा किसानलाई पेन्सन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ । सो निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रु एक हजारका दरले पेन्सन दिइने छ । आव २०७७÷७८ को निर्णयलाई चालू आवबाट कार्यान्वयनमा ल्याउन लागिएको हो । पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका प्रमुख विमल खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान पेन्सनका लागि चालू आवको पहिलो चरणमा रु पाँच लाख विनियोजन गरिएको छ, विभिन्न खेती, कृषिबाली र पशुपालनमा लागेका किसानलाई पेन्सन दिने योजना बनाएका छौँ ।”

त्यसका लागि व्यक्तिगत वा भाडाको जग्गामा कम्तीमा तीन रोपनी व्यावसायिक तरकारीखेती, पुष्पखेती वा नर्सरी स्थापना गरेको हुनुपर्नेछ । खाद्यान्न तथा तरकारीको बीउ उत्पादन गर्ने किसानले पाँच रोपनी जग्गामा खेती गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तै पाँच रोपनीमै आँप, लिची, केरालगायत फलफूलखेती गरिरहेका किसान पनि पेन्सनका लागि योग्य मानिने कार्यविधिमा उल्लेख छ । पच्चीस माउ भेडा वा बाख्रा पालेका, कम्तीमा तीन दूध दिने भैँसी वा उन्नत जातका गाई पालेका किसानले पनि पेन्सनका लागि निवेदन दिनसक्ने नगरपालिकाले जनाएको छ । पाँच सय लेयर्स वा ब्रोइलर, १०० लोकल कुखुरा, कालिज, टर्की वा २५० बट्टाई पालेका किसानलाई पनि पेन्सनका लागि योग्य मानिएको छ ।

निरन्तर पाँच वर्षदेखि व्यावसायिक कृषिमा संलग्न किसान पेन्सनमा छनोट हुने नगर प्रमुख विशाल शर्माले बताउनुभयो । यसका लागि चौरजहारीको स्थानीय बासिन्दा भने हुनुपर्नेछ । प्रमुख शर्माले भन्नुभयो, “व्यावसायिक कृषिमा लागेका किसानलाई सधैँभरि पेन्सनको परिकल्पना गरेर कार्यक्रम अघि बढाइएको हो, पेन्सनबापतको रकम हरेक चौमासिकमा किसानको खातामा जम्मा हुनेछ ।” पेन्सनबापत दिइने रकम जम्मा हुनुअघि व्यवसाय निरन्तर गरे÷नगरेको अनुगमन गरेर मात्र सो पैसा खातामा जानेछ । व्यवसाय छाडेको खण्डमा भने पेन्सन रोक्का गरिनेछ ।

यो पनि- डोटीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ । नेपालीको प्रमुख चाड दसैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका लागि नयाँ योजना लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वमा नागरिकले दुःख नपाउन् भनेर हामीले सुरक्षा योजना बनाएका छौँ, ढुक्कसँग बिना भीडभाड घरैमा पर्व मनाउँदा हुन्छ ।”

उहाँका अनुसार उक्त सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने तथा हैरानी खेप्ने अवस्था आउन नदिन यहाँका विभिन्न ठाउँमा प्रहरी परिचालन गरी चेक गरिने भएको छ । यसैगरी यहाँका बसपार्क तथा सार्वजनिक ठाउँमा पनि चौबिसै घण्टा प्रहरी खटिने व्यवस्था मिलाइएको छ भने प्रमुख व्यापारी केन्द्र पिपल्ला तथा राजपुरमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय दिपायलमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन अनुमन गरी कारबाही गरिने उक्त सुरक्षा योजनामा समावेस गरिएको छ ।

कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मेला, महोत्सव, साङ्गीतिक कार्यक्रम तथा बढी भीडभाड नगर्नसमेत प्रशासनले सबैमा आग्रह गरेको छ । जिल्लामा जुवा, तास खेल्ने र मदिरा सेवन गर्ने कार्य रोक्नका लागि प्रहरीले निरन्तर अनुगमन गर्ने गरी प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो । सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।

यो पनि – ट्राफिक प्रहरीको नयाँ कार्यालय भवन

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाइ तले पक्की भवन रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा निर्माण भएको हो । विर्तामोड नगरपालिका–५ मा ट्राफिक प्रहरी कार्यालयको नाममै रहेको छ कट्ठा जग्गामा सो भवन बनेको हो । सो जग्गा सडक विभागको यान्त्रिक कार्यालयको थियो । यान्त्रिक कार्यालय हटेसँगै ट्राफिक प्रहरीको नाममा लालपुर्जा आएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईले बताउनुभयो । विसं २०७६ जेठ ९ गते शृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माण अघि बढाइएको थियो । हाल बिर्तामोडस्थित मुक्ति चोक उत्तर सानो र साँघुरो घरबाट ट्राफिक प्रहरीले सेवा दिँदै आएको छ । सो भवनको तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गर्नुभएको थियो ।

आधुनिक र सुविधा सम्पन्न ट्राफिक प्रहरीको भवन निर्माण गर्ने उद्देश्यअनुसार अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माण प्रदेश १ सरकारको आर्थिक सहयोगमा सम्पन्न भए पनि कम्पाण्ड वाल भने स्थानीयवासी, व्यापारी, व्यवसायीको आर्थिक सहयोगमा निर्माण भइरहेको प्र नि चापागाईले बताउनुभयो । निर्माण सेवा कम्पनीले दसैँअघि नै ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।

जन्मोत्सवमा ई–लाइब्रेरी र प्रेस क्लबमा सहयोग

मेचीनगर नगरपालिका–६ काँकडभिट्टाका कृष्णप्रसाद उप्रेतीले आफ्नो ८३ औँ जन्मोत्सवमा दुई वटा संस्थालाई रु एक लाख ११ हजार प्रदान गर्नुभएको छ । उहाँले भानु साहित्यिक प्रतिष्ठानको ई–लाइब्रेरी निर्माणका लागि नगद रु एक लाख एक हजार र मेचीनगर प्रेस क्लबलाई रु १० हजार प्रदान गर्नुभएको हो ।

प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका उहाँले पुस्तकालय जस्तो पुण्य क्षेत्र र आमनागरिकलाई सुसूचित गराउने पत्रकारको संस्था प्रेस क्लबलाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आइतबार रकम हस्तान्तरण कार्यक्रममा ८३ वर्ष प्रवेश गर्दाको अवस्थामा समेत युवा अवस्थामा झैँ सामाजिक कार्यमा सदैव सक्रिय रहने उप्रेतीको सामाजिक जीवनको चर्चा गर्नुभएको थियो । उप्रेतीले आफ्नो र दिवङ्गत श्रीमतीको नाममा यसअघि नै कृष्ण पवित्रा प्रतिष्ठान स्थापना गरेर विभिन्न विधाका व्यक्तित्वलाई पुरस्कृतसमेत गर्दैै आउनुभएको छ ।