बागलुङ, १९ असोज (रासस) ः ‘निर्मला दिदी हामी जान्छौँ, अब घरबाट नहराउनूस् ल, बाइबाइ’ मानवसेवा आश्रमकी अभियन्ता सुमिरा लामाले बिदा माग्नुभयो, निर्मला दासले हात हल्लाइरहनुभयो । यो यही असोज ६ गतेको कुरा हो । विराटनगर–१४ की दासले तीन वर्षअघि छोडेको घरआँगन टेक्दै हुनुहुन्थ्यो । ३२ वर्षीया दास शुक्रबारे हटियामा रहेको घरमा पुग्दा दाइ घरमै हुनुहुन्थ्यो, आमा काममा । हराएकी बैनी टुप्लुक्क घरमा आइपुग्दा विनोद रामका आँखा खुसीले टिल्पिलाए । गुमेको खुसी भेटिएझैँ भयो । छरछिमेकी पनि दङ्ग परे । धेरैतिर खोजी गर्दा पनि दास नभेटिएपछि परिवारजनले आश मार्न थालिसकेका थिए ।“आमा काममा जानुभएको रहेछ, निर्मला दिदीलाई उहाँको दाइलाई जिम्मा लगायौँ, घरमा माया र सुसारसहित राख्छौँ भन्नुभएको छ,” अभियन्ता लामाले भन्नुभयो ।
सडक हुँदै आश्रममा आउनुभएकी दासलाई पारिवारिक पुनर्मिलन गराउन अभियन्ता लामा आफँै विराटनगर पुग्नुभएको थियो । विसं २०७५ माघमा कास्की, लेखनाथबाट उद्धार गरिनुभएकी दास यहाँस्थित आश्रममा हुनुहुनुहुन्थ्यो ।मानसिक विक्षिप्तता लिएर सडकमा अलपत्र पर्नुभएकी दासको आश्रममै नियमित उपचारसमेत हुँदै आइरहेको थियो । बीचमा उहाँलाई पायल्सको पनि समस्या देखिएको आश्रमकी संयोजक लामाले बताउनुभयो । “आश्रममै छँदा उहाँले आफू घर जान चाहेको कुरा बताउनुभयो, घरको ठेगाना पनि भन्नुभयो, त्यसपछि सोधखोज ग¥यौँ,” संयोजक लामाले भन्नुभयो, “सबैभन्दा ठूलो कुरा दिदीलाई पारिवारिक पुनर्मिलन गराउन सक्यौँ, हामी यसमै खुसी छौँ ।”आश्रमको पहिलो उद्देश्य सडकमा अलपत्र र सहाराविहीनको पारिवारिक पुनर्मिलन गराउनु नै हुन्छ । बस्तीमा भएको बाढीको घटनापछि परिवार विस्थापनमा परेका बेला दास हराउन पुगेको आश्रमले जनाएको छ ।
बागलुङ नगरपालिका–३ मूलपानीका नगेन्द्र पन्त पनि हराएको १५ वर्षपछि गत वर्ष घर फर्कनुभयो । उहाँको पारिवारिक पुनर्मिलन पनि मानवसेवा आश्रमकै कारण सम्भव बनेको हो । विसं २०६२ मा रोजगारीका लागि मलेसिया जानुभएका पन्त त्यहाँ पुगेको एक वर्षपछि सम्पर्कविहीन हुनुभएको थियो ।दुई वर्षअघि मलेसियाबाट फर्केपछि काठमाडौँको सडकमा अलपत्र पर्नुभएका पन्तलाई आश्रमले नै उद्धार गरी यहाँ ल्याएको थियो । आश्रमको बागलुङ शाखामा पाँच महिना बसेपछि बल्ल उहाँले आफ्नो घर मूलपानी भएको बताउनुभएको थियो ।
अफ्ठेरोमा सहारा मात्र दिएन वर्षौंसम्म बेखबर पन्तको पारिवारिक पुनर्मिलनमा पनि आश्रम नै माध्यम बन्यो । त्यसरी बिर्सिइसकेका र माया मारेका स्वजन अचानक घर फर्कंदा मिल्ने खुसीको वर्णन त तिनै परिवार तथा आफन्तले मात्र गर्न सक्छन् ।“पारिवारिक पुनर्मिलनका लागि पुग्दा कतिपय घरमा त माहोल नै भावपूर्ण हुन्छ, सबैजना खुसीले विभोर हुनुहुन्छ, कसैले सामान्य रुपमा पनि लिनुहुन्छ,” संयोजक लामाले भन्नुभयो, “हामी अभियन्ताका लागि त त्यो नै सबभन्दा सुखद क्षण हो ।”
विसं २०७२ मा यहाँ खुलेको आश्रमले अहिलेसम्म १६ जना सडक आश्रितलाई पारिवारिक पुनर्मिलन गराएको छ । त्यसरी पुनर्मिलन हुनेमा भारतीय नागरिकसमेत छन् ।‘हाम्रो चाहना ः सबैका लागि खाना, नाना र छाना’ को आदर्श वाक्यसहित मानवता प्रवद्र्धन महाअभियानमा सक्रिय रहेको आश्रमले नेपाललाई सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ । आश्रमले बेसहारा, अशक्त, असहाय र अभिभावविहीनको उद्धार तथा संरक्षण गर्दै आएको छ ।
आश्रमको शाखा यहाँ आएपछि हालसम्म एक सय १९ जनाको उद्धार गरिएको छ । दशजनाले आश्रममै ज्यान गुमाएका छन् । आश्रममा पाएको उपचार र स्याहारसुसारपछि पूर्ण रुपमा स्वस्थ भई नौजना आफँै घर फर्केका छन् । अहिले ४८ जना आश्रित छन् । केही दिनअघि बङ्गलादेशी महिलालाई उद्धार गरिएको थियो ।बागलुङलाई पनि ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला’ घोषणा गर्ने आश्रमको तयारी छ । सरकारी निकाय र दाताहरुको सहयोगमा आश्रमको आफ्नै भवन निर्माणाधीन छ ।
बागलुङ –४ निरयघाटमा रु दश करोडको लागतमा आश्रम बनाउन लागिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले बताउनुभयो । आश्रम निर्माणमा सङ्घ, प्रदेश र स्थानीय सरकारको समेत लगानी छ । बागलुङ नगरपालिकाले आश्रमको अभिभावकत्व लिएको छ । अहिले बागलुङ बजारस्थित अर्कैको घरबाट अस्थायी रुपमा आश्रम सञ्चालित छ । सुविधायुक्त भवन बनेपछि आश्रमको सेवा पनि व्यवस्थित बन्ने जनाइएको छ । ठाउँ अभावले गर्दा अहिले भएको संरचनाबाट धेरै जनालाई आश्रय दिन नसकिने स्थिति छ । नियमित आर्थिक स्रोत नहुँदा व्यवस्थापकीय काममा कठिनाइ उत्पन्न हुने गरेको छ । आश्रमको दैनिक खर्चपर्च स्वयंसेवी दाताको भरमा चलेको छ ।
प्रतिक्रिया