एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेल मैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।
यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ प्ले अफमा प्रवेश गरेको छ । काठमाडौँ चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । काठमाडौँले ५ खेलमा ३ अङ्क जोड्यो । ललितपुर प्याट्रियट्सले समान ३ अङ्क जोडे पनि काठमाडौँ नेट रन रेटका आधारमा प्ले अफमा पुगेको हो । लिगमा आठ अङ्क जोडेको चितवन टाइगर्स पहिलो स्थानमा छ भने सात अङ्क जोडेको पोखरा दोस्रो स्थानमा छ । त्यस्तै समान सात अङ्क नै जोडेको भैरहवा नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।
साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छन् । भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्स र पोखराबीच पहिलो क्वालिफायर खेल हुनेछ । त्यस्तै काठमाडौँले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ । उक्त खेल भोलि दिउँसो १ः३० बजे हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख पाउनेछ ।
यो पनि – साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित
माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्नुभयो । श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गर्नुभयो ।
खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गर्नुभयो । खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याउनुभयो । यसैगरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल नेपाललाई ३–१ को अग्रता दिलाउनुभयो ।
खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पु¥याए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सक्नुभएन । लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।
यो पनि- अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा
शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गर्नुभएको थियो ।

शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उहाँहरूले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुने बताइएको छ । नोबेल पुरस्कार कमिटीका सदस्यहरूले मानव जीवनका लागि ठूलो योगदान हुने भएकाले यस अध्ययनका लागि पुरस्कार दिने निर्णय भएको बताएका छन् ।
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले पिरो खुर्सानी खाँदा पोलेको महसुस गराउने रसायनका बारेमा अध्ययन गर्नुभएको थियो ।त्यस्तै पाटापौटियनले गरेको अध्ययनबाट फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लागेको थियो ।दुवै जनालाई पुरस्कारस्वरूप आठ लाख ४५ हजार पाउन्ड रकम प्रदान गरिने नोबेल कमिटीले जनाएको छ । कमिटीले कोरोनाभाइरुसको महामारीका कारण यसवर्षको नोबेल पुरस्कार विजेताहरूलाई सम्बन्धित देशहरूबाटै प्रदान गर्ने योजना बनाएको छ ।
यो पनि- जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी
जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थाल्नुभएको छ ।उहाँले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिनुभएको हो ।उहाँले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गर्नुभएको जनाइएको छ । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उहाँले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको तयारीमा लग्नुपरेको हो ।
निर्वाचन गराउनका लागि उहाँले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाउनुभएको जनाइएको छ ।प्रधानमन्त्री किशिदाका अनुसार नयाँ संसद्का लागि निर्वाचित हुन चाहने उम्मेदवारहरूले यही अक्टोबर १९ देखि मात्रै प्रचारप्रसार अभियान सुरु गर्न पाउने छन् ।



प्रतिक्रिया