प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ ।गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गर्नुभएको थियो । आजदेखि नै प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ । गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।
जसपाले जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर आज मुख्यमन्त्री राउतले विश्वासको मत लिन लाग्नुभएको हो । अहिले प्रदेश नं २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार छ भने नेकपा (एकीकृत समाजवादी)ले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाका १०४ सदस्यमध्ये दुईतिहाइभन्दा बढीको बहुमत छ ।
प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक गरी जम्मा ८० सदस्यको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले बताउनुभयो । लोसपा र नेकपा (एमाले) प्रदेश सरकारको विपक्ष रहेका छन् ।
यो पनि – जलवायुसम्बन्धी वैज्ञानिकहरूलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिइने
नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ ।नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् ।उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको हो ।विश्वभरी तापक्रमको मात्रा बढेको र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याहरू बढ्दै गएको भन्दै विश्वकै ध्यान खिच्नेगरी सम्मेलन गर्न लागिएको आयोजकहरूले जनाएका छन् ।जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न सघाउने गरी अनुसन्धान गरेकाहरूलाई नोबेल पुरस्कार प्रदान गर्नुलाई थप सकारात्मक रूपमा हेरिएको छ ।
पुरस्कार पाउनेमध्ये मानाबे ९० वर्षको र हस्सेलमान ८९ वर्षको हुनु भएको छ । उहाँहरूले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानसम्बन्धी अनुसन्धान संयुक्त रूपमा गर्नुभएको थियो ।त्यसैगरी ७३ वर्षका वैज्ञानिक पारिसीलाई भने परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको बारेमा अनुसन्धान गरेकाले पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।
नोबेल कमिटीले यसअघि शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको थियो ।
यो पनि – दक्षिण कोरियामा अनलाइनबाट किन्नेहरूको सङ्ख्या १६ प्रतिशतले वृद्धि
दक्षिण कोरियामा अनलाइन मार्फत सामान किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत अगस्ट महिनामा दुई अङ्कले वृद्धि भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।कोरोनाभाइरसको महामारीका कारण कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू अझै पनि लागू भएकाले पनि अनलाइन किन्नेहरूको सङ्ख्या बढेको अनुमान गरिएको छ ।
अनलाइनबाट किन्नेहरूमध्ये खाना माग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र खाना विक्री गरेर मात्रै लाखौँ रूपैयाँको कारोबार भएको पाइएको छ ।सरकारी अधिकारीहरूका अनुसार गत महिनामा १६.८ प्रतिशतले अनलाइनबाट किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको हो । यो सङ्ख्या सन् २००१ देखिकै सबैभन्दा धेरै भएको बताइएको छ । दक्षिण कोरियामा अहिले पनि दैनिक १५ सयभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् भने केही अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
प्रतिक्रिया