लुम्बिनी प्रदेशसभाको बैठक आज पनि प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सञ्चालन भएको छ । नाराबाजी भइरहे पनि सभामुख पूर्णबहादुर घर्तीले विभिन्न विधेयक प्रदेशसभामा पेश गर्न अनुमति दिनुभएको थियो । पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान लिँदै विपक्षी दलका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन गर्न नदिने जानकारी दिनुभयो ।
बैठकमा तीन विधेयक पेश भएका थिए । मुख्यमन्त्री कुलप्रसाद केसीको तर्फबाट पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले वन सम्बन्धमा बनेको विधेयक, प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक संसद्मा पेश गर्नुभएको थियो । तीमध्ये प्रदेश ५ को प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक बहुमतले पारित भएको छ । विपक्षी दलले प्रदेशसभामा नाराबाजी जारी राखेकाले पुनः ४ बजे अर्को बैठकमा प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने तयारी भएको छ ।
यो पनि – अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । छैसट्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा उहाँले प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनीकरण गर्न कठिनाइ हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने बताउनुभयो ।
विभिन्न कठिनाइका बाबजुद प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको उहाँको थियो । उहाँले देशका अन्य ठाउँमा घटेका घटनाको तुलनामा सुदूरपश्चिममा सानो घटना हुँदा बढी चर्चा पाउने गरेको टिप्पणी गर्नुभयो । मुख्यमन्त्री भट्टले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अपराध अनुसन्धानमा हुने ढिलाइले अपराधीको मनोबल बढ्दै गएर समाजमा शान्ति सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र डडेल्धुराकी अस्मिता धामीले न्याय पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा प्राण आहुति गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सहादत प्राप्त गर्ने प्रहरी परिवार र प्रहरी सङ्गठनलाई सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया