खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु

खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ महानगरपािलकाले आजदेखि खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु गरेको छ । कामपाले पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्यमा परीक्षण सुरु गरेको हो । परीक्षणका क्रममा मासु खान योग्य देखियो भने सिङमा हरियो रङ लगाइन्छ । बिरामी भएर खान अयोग्य भेटियो भने सिङमा रातो रङ लगाइन्छ । बिरामी भेटिएका चौपायाको नमूना सङ्कलन गरेर परीक्षण पनि हुनेछ ।

कामापा वरिष्ठ पशु चिकित्सक डा अवधेश झाका कामपाभित्रका दसैँ लक्षित चौपाया बजार कलङ्की, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपास क्षेत्र हुन् । यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुई वटा टोली अष्टमीसम्म नियमित परिचालन हुनेछन् ।

कामपाले रोगी पशुपक्षीको ओसारपसार नगर्न, तोकेको स्थानमा मात्र चौपायाको बिक्री वितरण गर्न, स्वस्थताको चिनो (हरियो रङ) भएका चौपाया मात्र खरिद बिक्री गर्न, मासुलाई चिसोमा राख्न, राम्ररी पकाएर मात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । कामपासँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मावि पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरि (थानकोट) दाउरा डिपोका चौपाया बजारमा पनि परीक्षण हुँदैछ ।

यो पनि – दसैँ तिहारमा ३० हजार खसीबोका माग

चितवन, १८ असोज (रासस) ः जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार दसैँ र तिहारको एक महिनाको समयमा ४६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमान छ ।

जिल्लामा ४०२ व्यावसायिक बाख्रा फर्म छन् । ती फर्ममा तीन लाख १० हजार ५१७ बाख्रा रहेको आचार्य बताउनुहुन्छ । तीमध्ये दुई लाख १७ हजार ३६१ खसीबोका रहेका छन् । ठूलो सङ्ख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “८० प्रतिशत यहीको उत्पादन र बाँकी बाहिरबाट खसीबोका आउने गर्दछ ।” त्यसो त यहाँ उत्पादन भएका खसीबोका विभिन्न जिल्ला पुग्ने गर्दछन् ।जिल्लामा वार्षिक दुई हजार ६८६ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने तथ्याङ्क छ । अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो । विगतका वर्षमा दसैँ तिहारको समयमा ३१ हजार ८०० खसीबोका काटिएको तथ्याङ्क छ । आचार्यका अनुसार यस वर्ष त्योभन्दा बढी खसीबोका खपत हुने अनुमान छ ।

दसैँ तिहारको समयमा पसलमाभन्दा बढी घरघरमा खसीबोका काट्ने गरिन्छ । यो समयमा पसलमा मात्रै १० हजारभन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन् । खसीबोका मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष उद्धव तिम्सिनाले घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार गत वर्ष पाँच हजार मात्रै खसीबोका खपत भएका थिए । यस वर्ष यो सङ्ख्या दोब्बर हुने उहाँको अनुमान छ । पसलमा आउने खसीबोका छिमेकी जिल्लाका पनि हुने गर्दछन् । उहाँका अनुसार नवलपरासी, गोरखा, लमजुङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट यहाँ खसीबोका आउने गर्दछन् । जिल्लामा ३०० हाराहारी मासु पसल रहेका छन् ।

पछिल्ला वर्षमा जिल्लाका ग्रामीण क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालन थालिएको छ । विज्ञकेन्द्रमा ४०२ फर्म दर्ता भए पनि दर्ता नभई धेरै फर्म सञ्चालनमा छन् । ग्रामीण क्षेत्रमा सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गरिँदै आएको छ । मुख्यरुपमा पहाडी क्षेत्रमा व्यावसायिक खसीबोका उत्पादन गरिँदै आएको छ । कालिका नगरपालिकाको देवीटार, गौरीबारी, चिसापानी, अजिङ्गरे, भर्लाबारीलगायत गाउँका किसानले सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गर्दै आएका छन् ।

पहिलेपहिले भारतबाट खसीबोका आउने गरेको भए पनि पछिल्लो समय स्वदेशी उत्पादनले नै माग धान्दै आएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार पछिल्लो एक वर्षयता भारतबाट खसीबोका आउन छाडेका छन् । उहाँले भन्नुभयो, “माग धेरै छ, हामीले धान्ने अवस्थामा छौँ ।” बाहिरबाट खसीबोका ल्याउँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पछिल्लो समय खसीबोका आयात भएको देखिँदैन । सरकारले पशुपालनमा अनुदानसमेत दिँदै आएको भन्दै उहाँले स्वदेशमै आत्मनिर्भर हुने गरेको उत्पादनमा जोड दिइँदै आएको बताउनुभयो ।