राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । सदरमुकामस्थित गोठलापानीमा आज सम्पन्न अधिवेशनबाट इन्द्रदेवशरण भट्टको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो । पैँसठ्ठी सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको राप्रपाले जनाएको छ । जिल्ला कार्यसमितिका अन्य पद भने पछि तोकिने.छन् । राप्रपा बैतडीको प्रदेश ‘क’ को अध्यक्षमा रणबहादुर विष्ट र ‘ख’ को अध्यक्षमा अशोकबहादुर साउद चयन हुनुभएको छ । यसैगरी बैतडीका १० स्थानीय तहमा पनि राप्रपाले सङ्गठन विस्तार गरेको जनाएको छ ।
यस्तै राप्रपा विद्यार्थी सङ्गठन पनि गठन गरिएको छ । रोहित चन्दको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठन पनि गठन गरिएको छ । प्रकाशचन्द्र भट्टको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । नवनिर्वाचित अध्यक्ष भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्गठनलाई बलियो बनाउन आफूले सङ्गठन विस्तारमा जोड दिने बताउनुभयो । अधिवेशनमा राप्रपाका केन्द्रीय कोषाध्यक्ष गणेशबहादुर चन्द, पूर्वमन्त्री एवं राप्रपाका नेता जयन्तबहादुर चन्द, उच्चस्तरीय केन्द्रीय सम्पादन समिति सदस्य गणेशबहादुर विष्ट, राप्रपा केन्द्रीय सदस्य हेमबाबु लेखकलगायतको सहभागिता रहेको थियो ।
यो पनि – प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक ः मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गर्नुभयो । “सरकारको एक्लो प्रयासले विकास र समृद्धि असम्भव छ”, उहाँले भन्नुभयो, “यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य छ ।”
मुख्यमन्त्री शाहीले सडक निर्माण गर्नु मात्रै विकास हो भन्ने बुझाई नागरिकमा व्याप्त रहेको जनाउनुभयो । रोजगारीसहितको व्यापारिक योजनाबाट आम नागरिकमा सन्तुष्टि दिनु र आर्थिक गतिविधि बढाउनु पनि विकास होे भन्ने बुझ्न सुझाउँदै उहाँले कर्णालीमा विभिन्न क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई अनुकूल वातावरण तयार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएको यो प्रदेशकै पहिलो ‘कर्णाली मल’ को प्रारम्भमा ५० जना युवालाई रोजगारी दिएको मलका प्रबन्ध निर्देशक सुशील शर्माले बताउनुभयो । कर्णालीको सापेक्षतालाई अध्ययन गरी यहाँका नागरिकलाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गर्ने र दशवटै जिल्लामा सुविधा सम्पन्न कम्प्लेक्स बनाएर स्थानीय उत्पादनलाई व्यवस्थापन गर्ने उद्देश्यले मल सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक शर्माले जनाउनुभयो । उहाँका अनुसार दसैँ तिहारलाई लक्षित गरेर खाद्य वस्तुमा दुई र लत्ताकपडालगायत अन्यमा १०–१५ प्रतिशत छुट दिइएको छ । मलले विद्युतीय सामग्री, भाँडाकुँडा, लत्ताकपडा, सबै प्रकारका खेलौना बिक्रीवितरणका साथै उपभोक्ताका लागि होटल पनि सञ्चालन गरेको छ ।
प्रतिक्रिया