प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)द्वारा संसद्मा अवरोध कायमै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)द्वारा संसद्मा अवरोध कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले नेपालको संविधानको धारा १०५ को व्यवस्था र प्रतिनिधिसभा नियमावलीअनुसार सांसदलाई संयमित हुँदै प्रस्तुत हुन आग्रह गर्नुभएको थियो । उहाँले विधि प्रक्रिया सम्मत तरिकाबाट सदनमा आफ्ना धारणा राख्न आग्रह गर्दै बैठक सञ्चालनका लागि सहयोग गर्न पनि अनुरोध गर्नुभएको थियो ।

संसद्मा नियमित अवरोधका कारण सभाले गर्नुपर्ने महत्वपूर्ण कार्य प्रभावित भएको भन्दै सभामुख सापकोटाले जनसरोकारका विषयलाई ध्यान दिन सदनलाई सुचारु गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेकपा (एमाले) ले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ ।प्रतिनिधि सभाको अर्को बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्नेछ ।

 

यो पनि – संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति होः मुख्यमन्त्री पौडेल

बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति र परम्परा सबै जातजातीको साझा सम्पत्ति भएको बताउनुभएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चियापान कार्यक्रममा देशको सांस्कृतिक धरोहरको रुपमा विकास हुँदै गएका चाडपर्व अमूल्य निधि भएको चर्चा गर्दै उहाँले दसँै, तिहार, नेपालको मौलिक सम्वत् (नेपाल सम्वत्को नयाँ वर्ष) तथा छठपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना व्यक्त गर्नुभयो ।

मुख्य मन्त्री शाक्यले देशका सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न प्रदेश सरकार लागिपर्ने बताउनुभयो । विजयादशमी, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रदेशका मन्त्री, मकवानपुरबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।

यो पनि -हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत

हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पु¥याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको उक्त प्रस्ताव कोषको ३० औँ बोर्ड बैठकबाट हालै स्वीकृत भएको केन्द्रले जनाएको छ ।

कूल ४९.१५ मिलियन युएस डलर (करिब पाँच अर्ब ८९ करोड ८६ लाख बराबर रकम) को उक्त परियोजनाअन्तर्गत पाँच वर्षभित्र नेपालको तराई क्षेत्रको २२ जिल्लाका १५० स्थानीय तहमा १० लाख खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवद्र्धन गरिने लक्ष्य रहेको केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले बताउनुभयो । उहाँका अनुसार कूल लक्ष्यमध्ये पाँच लाख विद्युतीय चुलो, चार लाख ९० हजार तह–३ स्तरको सुधारिएको चुलो तथा १० हजार बायोग्यास प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ ।

कूल रकममध्ये कोषको अनुदान २१.१२ मिलियन युएस डलर (दुई अरब ५३ करोड) रहने छ भने बाँकी २८ मिलियन अमेरिकी डलरमा केन्द्र र स्थानीय तहबीच लागत साझेदारी रहने छ । केन्द्रको अनुदान २१ मिलियन डलर तथा स्थानीय तहबाट सात मिलियन डलर खर्च गरिनेछ । केन्द्रले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कोषसँगको आबद्धतापछि कोषको तर्फबाट स्वीकृत गरेकोे पहिलो प्रस्ताव हो । परियोजनाबाट ६५ लाख १३ हजार ६२९ टन बराबर कार्बन उत्सर्जन न्यूनीकरण गरी १० लाख घरधुरीमा स्वच्छ ऊर्जाको सेवा पुग्ने अपेक्षा रहेको डा अधिकारीले बताउनुभयो । केन्द्रमा आफूले सुरु गरेको दाउरा÷गुइँठा प्रतिस्थापन गर्ने तराई स्वच्छ ऊर्जा विशेष कार्यक्रमको सफलरुपमा कार्यान्वयनको लागि यो परियोजना कोसेढुङ्गा सावित हुने डा अधिकारीको भनाइ छ ।

केन्द्रले नेपाल सरकार, अर्थ मन्त्रालयको नेशनल डेजिग्नेटेड अथोरिटी (एनडिए) को रुपमा कार्य गरिरहेको र कोषको रेडिनेस कार्यक्रम सञ्चालन गर्ने साझेदार पनि भएकाले केन्द्रको यो अनुभवले हरित जलवायु कोषमा नेपालका अन्य संस्था पनि आबद्ध गर्ने र बढीभन्दा बढी कोषले आर्थिक सहयोग गर्ने अन्य परियोजना ल्याउने केन्द्रको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कोष जलवायु परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्नेसम्बन्धी क्रियाकलापको लागि लगानी गर्ने एक स्वतन्त्र निकाय हो र यसको विभिन्न फण्डिङ देशबाट प्रतिनिधित्व हुने गरी २४ सदस्यीय बोर्ड रहेको छ । दक्षिण कोरियामा प्रधान कार्यालय रहेको यस कोष जलवायु परिवर्तनबाट विश्व तापमानमा पर्ने असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको लक्ष्य कार्यान्वयनको लागि स्थापना भएको हो ।